नेता कार्यकर्तालाई गोकर्णको आग्रह– ‘मन जित्ने तर्क, शिष्टता र शालिनता देखाउनु’

मेचीकाली संवाददाता

१० फाल्गुन २०८२, आईतवार
128 shares

गुल्मी । नेकपा एमालेका उपाध्यक्ष तथा गुल्मी क्षेत्र नं २ का उमेद्वार गोकर्ण बिष्टले आफ्ना नेता तथा कार्यकर्तालाई सम्यमता अपनाउन आग्रह गरेका छन् । उनले घरदैलो अभियानको क्रममा सवैको विचारको सम्मान गर्दै मतदातासंग आफ्ना अर्थपूर्ण र मन जित्ने तर्क गर्नुपर्नेमा जोड दिए । आफ्ना बिचार शिष्टपूर्ण रुपमा राख्ने र जनताको मत जित्ने लोकतन्त्रको सुन्दर पक्ष भएकाले भावना र उत्तेजनामा नआई सुर्य चिन्हको पक्षमा मत माग्न नेता कार्यकर्तालाई बिष्टले निर्देशन दिए ।

अराजकताले कसैलाई पनि गन्तव्यमा नपुराउने भएकाले स्वच्छ प्रतिस्प्रर्धानै उत्तम विकल्प भएको बिष्टले बताए । उनले पटक–पटक संसद र सरकारमा आम मतदाता तथा पार्टीको मायाले पुगेको स्मरण गर्दै प्राप्त अवसरलाई मतदाताकै हितमा लगाएको दावी गरे । उनले धेरै पटक उमेद्वार बन्ने बिषयमा जनतामो माया र विश्वास भएको तर्क गर्दै पार्टी र देशै नेतृत्वमा पुग्ने बिषयले निर्वाचन क्षेत्रका नागरिकलाई बेफाइदा नहुने बताए । ‘म अहिले जुन अवस्थामा छु त्यो आम नेता कार्यकर्ताको माया र सद्भावले हो,’ उनले भने, ‘भोली मेरो भूमिका अझै बृद्धि हुँदै जाँदा पक्कै निर्वाचन क्षेत्रका नागरिकलाई बेफाइदा हुँदैन् ।’