बुटवल । रक्ते पोखरी समाज धुर्कोट–७ गुल्मीको आयोजनामा मंगलबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय अस्पतालहरुमा रगतको अभाव भइरहेका समाचार आइरहेका बेला रगत आबश्यक पर्ने बिरामीहरुलाई थोरै भएपनि राहत होस् र रगतको अभावमा कसैले पनि अकालमा मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष रामकृष्ण घिमिरेले बताए ।
‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा समाजका सदस्य एडेन घिमिरेले जानकारी दिए । कार्यक्रममा बोल्दै समाजका सल्लाहाकार कुन्जरमणी घिमिरे, समाजसेवी एकराज घिमिरे लगायतले मानिसको ज्यान बचाउन एक युनिट रगतले पनि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै रक्तदान अभियानमा युवाहरु सक्रिय भएर लाग्नुपर्ने बताए ।
गुल्मीको धुर्कोट गाउँपालिका–७ रक्ते पोखरी क्षेत्रबाट रुपन्देहीमा आइ अध्ययन, विभिन्न पेशा, व्यवसाय तथा कर्मथलो बनाई बसोबास गरिरहेका व्यक्तिहरुलाई एकताबद्ध गरी सुख दुःखमा साथ र सहयोग गर्ने उद्देश्यले स्थापना भएको समाजले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै बिभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । उक्त कार्यक्रममा रक्तदान गरेका रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरीएको थियो । यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा निरन्तर सक्रियता रहने समाजले जनाएको छ ।
