बुटवल । चलचित्र पत्रकार संघ रुपन्देहीको सातौँ साधारणसभा तथा चौथो अधिवेशन मंगलबार बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले कृष्ण भण्डारीको अध्यक्षतामा आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कल्पना डुम्रे, सचिवमा प्रकाश पाण्डे, सहसचिवमा राजिव भुसाल र कोषाध्यक्षमा मनोज क्षत्री चयन भएका छन् । यसैगरी सदस्यहरुमा रमेश पराजुली, हरिलाल बश्याल, यमुना जिसी, कल्पना घिमिरे, सारदा शाही, सुदीप गौतम, निर्मल थापा र सागर भण्डारी निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक विश्वास ढकालले जानकारी दिए ।
अधिवेशनको उद्घाटन गर्दै चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीले चलचित्र पत्रकार संघ अन्य विधागत संघभन्दा धेरै शाखाहरु भएको संगठन भएकोले यसले गर्ने गतिविधिहरु अरुभन्दा फरक र रचनात्मक हुनुपर्ने बताए । उनले चलचित्रसँगै मनोरन्जन, कला साहित्य, नाटक रंगमञ्चलगायतलाई समेटेर यस क्षेत्रमा कलम चलाउनुपर्नेमा जोड दिए । समग्रमा मनोरञ्जन विधामा कलम चलाउने पत्रकारहरुको छाता संस्थाको रुपमा स्थापित चलचित्र पत्रकार संघले यसमा आबद्ध पत्रकारहरुको विधागत क्षमता विकासका लागि तालिमलगायतका कार्यक्रम गर्ने बताउँदै जिल्ला शाखाहरुको आवश्यकताका आधारमा केन्द्रबाट हुनसक्ने सबै प्रकारका सहयोग रहने पनि बताए । लुम्बिनीको विजनेश हवको रुपमा विकास भएको बुटवलमा ५ वटा चलचित्र हलमा ९ वटा पर्दा रहेको सन्दर्भमा दर्शकलाई हलसम्म पुर्याउनेगरी कलम चलाउन आग्रह गर्दै त्यसले चलचित्र उद्योग मात्रै नभएर अन्य आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका कार्यबाहक अध्यक्ष विश्वास ढकालले समाजलाई दिशानिर्देश गर्ने महत्वपूर्ण माध्यम चलचित्र भएको उल्लेख गर्दै त्यसलाई सही दिशा दिने काम चलचित्र पत्रकारिताले गनुपर्ने बताए । संघका सल्लाहकार मनिष पन्थले प्राकृतिक तथा सांस्कृतिक सम्पदाको विकासका लागि चलचित्र क्षेत्र महत्वपूर्ण माध्यम बन्न सक्ने बताए । उनले कलाकारिता क्षेत्रमा योगदान दिएका विशिष्ट व्यक्तित्वहरूको खोजी र दस्तावेजीकरणमा पनि जोड दिनुपर्ने धारणा व्यक्त गरे ।
संघका संस्थापक अध्यक्ष सुमन श्रेष्ठले चलचित्र बिटमा काम गर्ने पत्रकारको लेखनको स्तर अझ फराकिलो बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले रुपन्देहीमा फिल्म निर्माण र छायांकनलाई प्रोत्साहन गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै सबैको सहकार्य जरुरी रहेको बताए । प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाललगायतले बोल्दै मनोरञ्जन क्षेत्र समाजका लागि महत्वपूर्ण भएको बताउँदै जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याए ।
यस्तै कार्यक्रममा निवर्तमान अध्यक्ष मोहन न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो कार्यकालमा सम्पन्न भएका विभिन्न कार्यक्रमहरुबारे जानकारी गराए । कोषाध्यक्ष राजिव भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय अध्यक्ष बलामीले सपथ ग्रहण गराई प्रमाणपत्र प्रदान गरिएको थियो ।
उपाध्यक्ष दिनेश श्रेष्ठको स्वागत तथा सहसचिव कल्पना डुम्रेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । नवनिर्वाचित अध्यक्ष भण्डारीले संघलाई थप क्रियाशील र आर्थिक रुपमा सबल बनाएर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
