लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा

मेचीकाली संवाददाता

६ चैत्र २०८२, शुक्रबार
47 shares

अमृत गिरी

बुटवल । लुम्बिनी प्रदेशको प्रमुख शहरी केन्द्र बुटवल स्वास्थ्य सेवाको ‘हब’ का रूपमा उभिँदै गएको छ । विशेषगरी लुम्बिनी प्रादेशिक अस्पतालले सेवा विस्तार, दक्ष जनशक्ति र आधुनिक प्रविधिको सुदृढीकरणमार्फत प्रदेशकै बहुविषयक उपचार केन्द्रका रूपमा स्थापित भइरहेको छ ।

करिब ९ सय चिकित्सक, स्वास्थ्यकर्मी, स्टाफनर्स र कर्मचारी कार्यरत रहेको यस अस्पतालमा वार्षिक साढे ३ लाखभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिने गरेका छन् । दैनिक करिब ३ हजार बिरामी आउने यस अस्पतालमा सामान्य अवस्थामा पनि ८० प्रतिशतभन्दा बढी शैया भरिने गरेको छ ।

अस्पतालमा बालरोग, स्त्री तथा प्रसूति, अस्थिरोग, मुटु, न्युरो, शल्यक्रिया, रेडियोलोजी, आँखा, कान–घाँटी–नाक, छाला र दन्तलगायतका प्रमुख सेवाहरू उपलब्ध छन् । मेसु डा.इन्द्र ढकालका अनुसार सेवा प्रवाहलाई सहज बनाउन स्पष्ट मापदण्डसहित सहुलियत व्यवस्था लागू गरिएको छ ।
बालरोग विभागमा नवजातदेखि किशोरसम्मका बिरामीका लागि विशेष सेवा उपलब्ध छ भने स्त्री तथा प्रसूति सेवाअन्तर्गत उच्च जोखिमयुक्त गर्भावस्था र सुरक्षित सुत्केरी सेवा प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ । अस्थिरोगतर्फ जटिल हाडजोर्नी शल्यक्रियासमेत सहज रूपमा हुँदै आएका छन् ।

मुटु तथा न्युरो सेवाले पनि प्रदेशमै विशेषज्ञ उपचारको विकल्प दिएको मुटुरोग विशेषज्ञ डा.अनिल श्रेष्ठ बताउँछन् । नसर्ने रोगको बढ्दो जोखिमका बिच मुटु रोग प्रमुख समस्याका रूपमा देखिएको उनले उल्लेख गरे । न्यूरो सेवामा डा.राजीव भण्डारीसहितका विशेषज्ञ टोली सक्रिय छन् ।
रेडियोलोजी सेवाअन्तर्गत एमआरआई, सिटी–स्क्यान र अल्ट्रासाउन्डजस्ता परीक्षणहरू उपलब्ध छन् भने अत्याधुनिक उपकरणसहित शल्यक्रिया कक्ष सञ्चालनमा छ । आन्तरिक चिकित्सा विभागमा मधुमेह, कलेजो तथा पाचनसम्बन्धी रोगको उपचारमा पनि प्रगति भएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको दाबी छ ।

यद्यपि सेवा विस्तारसँगै चुनौतीहरू पनि कायम छन् । सहज र छरितो सेवा नपाएको भन्दै बिरामीका गुनासा अझै कम भएका छैनन् । अस्पताल विकास समितिका अध्यक्ष श्रेष्ठका अनुसार गुनासा सम्बोधन गर्न स्पेशल टास्क फोर्स गठन गरी नियमित निगरानी र प्रगति मूल्यांकन भइरहेको छ ।
यसैबिच लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले ‘निरोगी प्रदेश’ अवधारणा लागू गर्न रोकथाममुखी स्वास्थ्य प्रणाली आवश्यक रहेको बताएका छन् । उनका अनुसार डेंगी र स्क्रब टाइफसजस्ता संक्रामक रोग दोहोरिरहँदा रोकथाम प्रणाली कमजोर देखिएको छ भने मुटु, मधुमेह, क्यान्सर र मिर्गौला जस्ता नसर्ने रोग तीव्र रूपमा बढिरहेका छन् ।

स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता, जनशक्ति अभाव, उपकरण व्यवस्थापन र निजी अस्पतालको नियमन अझै चुनौतीपूर्ण रहेको उनको स्वीकारोक्ति छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष तेजकुमार पाठकले रोकथाममुखी नीति, प्रभावकारी बिमा कार्यान्वयन, औषधी आपूर्ति पारदर्शिता र निजी क्षेत्र नियमनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

१२ सय शैयाको अत्याधुनिक भवन निर्माण हुँदै
अस्पतालको सेवा विस्तारलाई थप सुदृढ बनाउन ६ अर्ब रुपैयाँ लागतमा १२ सय शैयाको १२ तले नयाँ भवन निर्माण भइरहेको छ । प्रदेश पुर्वाधार विकास प्राधिकरणमार्फत निर्माण भइरहेको भवनको काम हाल करिब ३९ प्रतिशत प्रगतिमा पुगेको छ । भूमिगतसहित पाँच तलाको संरचना तयार भइसकेको छ ।
२०८० पुस २६ गते भारतीय र नेपाली निर्माण कम्पनीसँग सम्झौता भएको उक्त परियोजना २०८५ पुससम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बजेट व्यवस्थापन नियमित भए तोकिएकै समयमै निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ ।

११६ वर्षको इतिहास बोकेको अस्पताल
वि.सं.१९६७ फागुन १५ गते ६ शैयाबाट सुरु भएको यो अस्पताल लुम्बिनी क्षेत्रकै सबैभन्दा पुरानो स्वास्थ्य संस्था हो । राणाकालीन प्रधानमन्त्री चन्द्र शमशेरको पालामा बुटवल फूलबारीमा दुई भारतीय चिकित्सकबाट सेवा सुरु गरिएको अस्पतालले विभिन्न चरण पार गर्दै विस्तार पाएको हो ।

२०२४ सालमा ५० शैया पुगेपछि लुम्बिनी अञ्चल अस्पतालका रूपमा विकास भएको यो संस्था २०५० सालमा १ सय शैयामा विस्तार भयो । २०७५ सालमा प्रदेश सरकार मातहत आएपछि लुम्बिनी प्रादेशिक अस्पताल बनेको यो अस्पताल अहिले ५२० शैयामा सञ्चालनमा रहेको छ र निकट भविष्यमा १२०० शैयामा विस्तार हुने तयारीमा छ । सेवा विस्तार र पुर्वाधार विकाससँगै बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशकै प्रमुख स्वास्थ्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । तर, गुणस्तरीय, सुलभ र छरितो सेवा सुनिश्चित गर्नु अबको मुख्य चुनौती बनेको छ ।