अमृत गिरी
बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६, खिल्जी दूरवाङका किसान यतिबेला चैतेधान रोपाइँमा व्यस्त छन् । दूरवाङ, खङलङ, खँडारे र पिपली फाँटमा वर्षौंदेखि निरन्तर हुँदै आएको यो खेती यहाँका किसानको जीवनशैलीसँग गाँसिएको छ । स्थानीय अगुवा किसान पुनाराम गैरेका अनुसार झिम्रुक नदीको सिँचाइ व्यवस्थाका कारण यो खेती सम्भव भएको हो । ‘सिँचाइको कुलोलाई थप व्यवस्थित गर्नुपर्छ, उपकरण सहज हुनुपर्छ, मौलिक बिउ संरक्षण र जैविक मलमा पनि ध्यान दिन जरुरी छ,’ उनले भने ।
तर पछिल्ला वर्षहरूमा युवाहरु गाउँमा नहुनु, खेती स्याहार्ने बेलामा मौसम प्रतिकुल बन्नु, मल अभाव र खेताला नपाइने समस्या गम्भीर बन्दै गएको अगुवा किसान गैरेको अनुभव छ । यो खेती अर्घाखाँचीका यी गाउँमा मात्रै सीमित छैन । त्यसो त लुम्बिनी प्रदेशका रुकुमपूर्व र रोल्पाबाहेक अरु १० वटै जिल्लाका विभिन्न ठाउँमा चैते धानको खेती हुँदै आएको छ । तर, त्यो पनि क्षेत्रफल भने निरन्तर घटिरहेको अवस्था छ ।
अर्घाखाँचीको सीमावर्ती ऐरावती गाउँपालिकाका बैरेनी, दमार र कुमाल गाउँका फाँटमा पनि झिम्रूक नदीकै पानीको भरमा चैते धान लगाइँदै आएको छ । यहाँ भने खेती लगाउने क्षेत्रफल अघिल्ला वर्षको तुलनामा बढेको छ । सिँचाइ पहुँच भएका क्षेत्रमा चैते धानको सम्भावना उच्च रहेको अगुवा कृषकहरु बताउँछन् ।

यस्तो छ लुम्बिनी प्रदेशमा धानको तथ्याङ्क
लुम्बिनी प्रदेशमा उत्पादकत्वमा सुधार भएको छ । तर, क्षेत्रफल विस्तार भने सुस्त देखिएको छ । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष ०८१/०८२ मा धान उत्पादन १३ लाख ५० हजार ८ सय ८० मेट्रिक टन पुगेको छ । प्रदेशभर कुल २ लाख ९८ हजार ६२२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा औसत उत्पादकत्व ४.५२ टन प्रतिहेक्टर रहेको तथ्यांकले देखाएको छ । यसमध्ये वर्षे धानको हिस्सा अत्यधिक छ भने चैते धानको योगदान अझै सीमित देखिन्छ ।
वर्षे धानको वर्चस्व
प्रदेशको कुल उत्पादनमध्ये वर्षे धानबाट मात्र १३ लाख ४३ हजार ३६२ टन उत्पादन भएको छ, जुन कुल उत्पादनको करिब ९९ प्रतिशत हो । वर्षे धानको खेती २ लाख ९७ हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ र यसको औसत उत्पादकत्व ४.५२ टन प्रतिहेक्टर रहेको छ । यसले लुम्बिनीमा अझै पनि वर्षा–आधारित कृषि प्रणाली हाबी रहेको संकेत गर्छ ।
चैते धान सीमित तर उत्पादकत्व राम्रो
चैते धान केवल १,६०५ हेक्टर क्षेत्रफलमा मात्र खेती गरिएको छ तर यसको उत्पादकत्व ४.६८ टन प्रतिहेक्टर छ, जुन वर्षे धानभन्दा केही बढी हो । कुल उत्पादन ७,५१७ टन मात्रै रहेको छ ।
चैते धानमा लुम्बिनीका केही जिल्लामा सामान्य वृद्धि देखिएको छ । प्युठान जिल्लामा गत बर्ष ११५ हेक्टरबाट यस वर्ष झण्डै ४ सय हेक्टर, नवलपरासी जिल्लामा ५ बाट ७ हेक्टर, दाङ जिल्लामा १९८ बाट २०० हेक्टर र बाँके जिल्लामा ३५ बाट ३६ हेक्टर पुगेको छ । प्यूठान जिल्लामा यस गत वर्ष ११५ हेक्टर क्षेत्रफलमा चैते धान खेती लगाइएको थियो । जसमा झण्डै ४३७ मेट्रिक टनभन्दा बढी उत्पादन भएको तथ्याङ्क रहेको छ । यस वर्ष चैते धानको खेती गत वर्षभन्दा दोब्बर बढी ४ सय हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको जिल्ला एकिकृत कृषि तथा पशु सेवा कार्यालयका प्रमुख बिनोद शर्माले जानकारी दिए । जिल्लामा चैते धान खेतीलाई नै केन्द्रीत गरेर संघीय सरकारअन्तर्गत परियोजना लागू भएकाले पनि किसानहरु लाई उक्त परियोजनाको प्रोत्साहनका कारण चैते धानमा आकर्षण बढेको उनको भनाइ छ ।

यस्तो छ लुम्बिनी प्रदेशका १२ जिल्लाको अवस्था
दाङ सबैभन्दा ठुलो उत्पादक जिल्ला बनेको छ । यहाँ २ लाख ३१ हजार टन उत्पादन भएको छ । यस्तै कपिलवस्तुमा २ लाख ९८ हजार टन नजिक र रूपन्देहीमा २ लाख ७९ हजार टन पनि अग्रस्थानमा छन् । पहाडी जिल्ला जस्तै रोल्पा र रुकुममा उत्पादन कम छ, विशेषगरी चैते धान नगण्य छ । जिल्लागत रूपमा उत्पादकत्वमा फरक देखिन्छ । पाल्पामा चैते धानको उत्पादकत्व ५.०९ टन प्रतिहेक्टर पुगेको छ भने रोल्पामा वर्षे धानको उत्पादकत्व ३.०३ टन मात्र छ ।
धान र संस्कृति
समुद्री सतहदेखि ६० मिटर उचाइमा अवस्थित झापाको केचनाकलदेखि ३ हजार ५० मिटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म धान खेती गरिँदै आइएको छ । कुल धानबाली लगाइने क्षेत्रफलको २१ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा उपलव्ध छ । नेपालको हरेकजसो चाडपर्वसँग धान–चामल जोडिएको हुन्छ । दशैं, लक्ष्मीपूजा, गौ–दान, तीज, पञ्चमी, छैठी, न्वारान, पास्नी, छेवर, व्रतवन्ध, विवाह र अन्तिमसंस्कार जस्ता संस्कारमा धान र चामलको अत्यधिक प्रयोग हुन्छ ।
धेरै धान उत्पादन गर्ने मुलुक
विश्वकै सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन हो । चीनमा वार्षिक करिब २०८ मिलियन टनसम्म धान उत्पादन हुने गर्छ । चीन र भारतको उत्पादनले विश्वमा हुने कुल धान उत्पादनको करिब ५२ प्रतिशत हिस्सा ओगटेको छ । धान उत्पादन गर्ने दोस्रो ठुलो देश भारत हो । भारतमा वार्षिक करिब २०७ मिलियन टनसम्म धान उत्पादन हुन्छ । विश्वको धान उत्पादन हुने देशमा बंगलादेशको स्थान तेस्रोमा छ । बंगलादेशले वार्षिक करिब ५९ मिलियन टन धान उत्पादन गर्छ ।
धान उत्पादनको आधारमा इन्डोनेशिया चौथो मुलुक हो । यहाँ वार्षिक करिब ५४ मिलियन टन धान उत्पादन हुन्छ । यस्तै भियतनाममा वार्षिक ४४ मिलियन टनसम्म धान उत्पादन हुँदै आएको छ । धान उत्पादनको हिसाबले भियतनाम पाँचौं स्थानमा छ । यसैगरी थाइल्याण्डमा वार्षिक ३३ मिलियन टन, म्यानमारमा २६ मिलियन टन, फिलिपिन्समा २० मिलियन टन, पाकिस्तानमा १५ मिलियन टन तथा कम्बोडियामा १३ मिलियन टन धान उत्पादन हुँदै आएको छ ।
यस्तो छ नेपालमा धानको अर्थशास्त्र
नेपालको धान उत्पादन र व्यापारको इतिहास हेर्दा एक समय देश खाद्यान्न निर्यातकर्ता थियो । सन् १९६० को दशकमा भारत र बंगलादेश जस्ता देशहरूले ठूलो परिमाणमा धान चामल आयात गरिरहेका बेला नेपालले सन् १९६१ मा २ लाख ८९ हजार मेट्रिक टन चामल (झन्डै ४ करोड ३० लाख अमेरिकी डलर बराबर) निर्यात गरेको थियो । यो निर्यात सन् १९८५ सम्म घट्दो क्रममा कायम रह्यो, जहाँ ५९ हजार मेट्रिक टन (१ करोड ३० लाख डलर बराबर) मा सीमित भयो ।
धानको ऐतिहासिक र जैविक विविधताका हिसाबले पनि नेपाल महत्वपूर्ण मानिन्छ । अजिगरा ताल र बुलबुले ताललगायत स्थानमा जंगली धानका पुराना जात पाइन्छन् । धान (वैज्ञानिक नाम ‘Oryza sativa’) विश्वको आधा जनसंख्याको मुख्य आहार हो, जसको ९० प्रतिशत उत्पादन एसियामै केन्द्रित छ ।
हालको अवस्थाले भने उल्टो तस्वीर देखाउँछ । आर्थिक वर्ष २०८१/८२ मा नेपालमा १४ लाख २० हजार ६ सय ३६ हेक्टरमा धान खेती भई ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन उत्पादन (औसत ४.१९ टन/हेक्टर) भएको भए पनि सोही अवधिमा ७ लाख ५३ हजार मेट्रिक टन धान–चामल आयात गर्नुपरेको छ । भन्सार विभागका अनुसार भारतबाट मात्रै २० अर्ब रुपैयाँभन्दा बढीको चामल आयात भएको छ, यो बढ्दो क्रममा छ । कुल खेतीयोग्य क्षेत्रमध्ये करिब २१ प्रतिशतमा मात्र सिँचाइ सुविधा उपलब्ध छ भने बाँकी मनसुनमा निर्भर छ, जसका कारण उत्पादकत्व न्यून रहँदै आएको छ । उत्पादनका हिसाबले कोसी प्रदेश (२५.०८ प्रतिशत) पहिलो स्थानमा छ भने त्यसपछि मधेस (२३.३७ प्रतिशत) र लुम्बिनी (२२.९ प्रतिशत) पर्छन् । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको नौ महिनामा मात्रै ३२ अर्ब ५१ करोड रुपैयाँभन्दा बढीको धान, चामल तथा बिउ आयात भएको छ ।
