१३ आयोजनामा ४४ अर्ब ३३ करोड स्रोत सहमति सिफारिस

–सालझण्डी–सन्धिखर्क सडक पनि प्राथमिकतामा

मेचीकाली संवाददाता

९ बैशाख २०८३, बुधबार
12 shares

बुटवल । राष्ट्रिय योजना आयोगले देशभरका प्रमुख सडक पूर्वाधार विस्तारलाई लक्षित गर्दै १३ वटा आयोजनाका लागि ४४ अर्ब ३३ करोड रुपैयाँ बराबर बहुवर्षीय स्रोत सहमति सिफारिस गरेको छ । आयोगको वैशाख ४ गते बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावअनुसार कुल ४४ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ लागतका आयोजनालाई अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।
आयोगका अनुसार ती आयोजनामध्ये सबैभन्दा प्राथमिकतामा परेको सालझण्डी–सन्धिखर्क सडक आयोजनाका लागि ८९ करोड ४९ लाख रुपैयाँ बराबर स्रोत सहमति सिफारिस गरिएको छ । लुम्बिनी र लुम्बिनी–गण्डकी प्रदेशलाई जोड्ने रणनीतिक महत्वको मानिने यो सडक खण्डलाई क्षेत्रीय यातायात सुदृढीकरण र व्यापारिक आवागमन विस्तारका दृष्टिले महत्वपूर्ण आयोजना मानिन्छ ।

यस्तै, सडक पूर्वाधारको दीर्घकालीन विस्तारलाई ध्यानमा राख्दै हुलाकी राजमार्गअन्तर्गत पुलसहित ७ वटा सडक खण्ड निर्माणका लागि सबैभन्दा ठुलो हिस्सा २९ अर्ब ७ करोड १९ लाख रुपैयाँ बराबर स्रोत सहमति सिफारिस गरिएको छ । यस परियोजनाअन्तर्गत ६९ वटा पुल, १० कल्भर्ट र करिब १५० किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिएको छ ।
आयोगका अनुसार डुम्रे–बँेशीशहर–चामे–मनाङ सडकका लागि ६८ करोड, कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक खण्डका लागि ३ अर्ब १५ करोड, तमोर कोरिडोरका लागि ५२ करोड, र मिर्चैया–कटारी–घुर्मी सडकका लागि ३ अर्ब ९४ करोड रुपैयाँ स्रोत सहमति सिफारिस गरिएको छ ।
त्यस्तै, खाँदबारी–किमाथाङ्का सडकअन्तर्गत दुई खण्डका लागि क्रमशः २ अर्ब ४३ करोड र १ अर्ब ५९ करोड रुपैयाँ, सडक डिभिजन चरिकोटका तीन आयोजनाका लागि कुल १ अर्बभन्दा बढी, तथा काठमाडौं उपत्यका मेट्रो रेलको सम्भाव्यता अध्ययनका लागि ३२ करोड ३७ लाख रुपैयाँ स्रोत सहमति सिफारिस गरिएको आयोगले जनाएको छ ।

९ महिनामा ५४८ किलोमिटर कालोपत्र
यसैबिच सडक विभागले चालू आर्थिक वर्षको नौ महिनामा देशभर ५४८ किलोमिटर नयाँ सडक कालोपत्र गरेको जनाएको छ । विभागका अनुसार यस अवधिमा दुई लेन सडक ४७४ किलोमिटर र चार लेन सडक ७४ किलोमिटर कालोपत्र गरिएको हो ।
सरकारले यस वर्ष ८०० किलोमिटर दुई लेन सडक कालोपत्र गर्ने लक्ष्य राखेकोमा हालसम्म करिब ५० प्रतिशतभन्दा बढी प्रगति भएको छ । चार लेन सडकतर्फ १०९ किलोमिटर लक्ष्यमध्ये करिब ६७ प्रतिशत प्रगति हासिल भएको विभागको तथ्याङ्क छ ।
यस अवधिमा ११८ वटा पुल निर्माण सम्पन्न भएका छन् भने ३ वटा बेलीब्रिज जडान गरिएको छ । यस वर्ष कुल १६२ वटा पुल निर्माण गर्ने लक्ष्य रहेको छ । साथै, ३७ हजार १४२ मिटर क्र्यास बेरियर जडान, ७१ किलोमिटर राजमार्ग मर्मत र ५२ किलोमिटर पुनर्निर्माण तथा स्तरोन्नति सम्पन्न भएको छ ।
सडक विभागका अनुसार चालू आर्थिक वर्षको नौ महिनामा ३ हजार ८७१ कार्यदिन बराबर रोजगारी सिर्जना भएको छ भने कुल ४४ अर्ब रुपैयाँ बराबर बजेट खर्च भएको छ । विभागले यस वर्ष १ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको जनाएको छ ।