हामी कता जाँदै छौँ ?

मेचीकाली संवाददाता

४ बैशाख २०८३, शुक्रबार
11 shares

कमल सिलवाल

समाचारका पानाहरू कहिल्यै यति धेरै गरुङ्गा लागेका थिएनन् । आज भोलिका केही समाचारहरुमा शब्दहरू मात्र छरिएका भेटिँदैनन्, बरु मानवताको करुण क्रन्दन टप्पटप्प झरिरहेका हुन्छन् । झापामा एक ७९ वर्षीया आमालाई आफ्नै सन्तानले कुटेको दृश्य, कास्कीमा सम्पत्तिको विवादमा आफ्नै भतिजा (भन्जा ?) ले योजनाबद्ध हत्या गरेको घटना, ललितपुरको पाटन दरबार स्क्वायरमा सानो विवादले दुई दाजुभाइको ज्यान गएको पीडा, अनि रूपन्देहीमा छोराले आफ्नै आमाको हत्या गरेको निर्दयी खबर, यी सबै केवल घटना होइनन्, यी त हाम्रो समाजको आत्मा चिरिएको, चिसिएको संकेत हुन् । यस्तै र यिनै समाचारहरुले सोच्न बाध्य बनायो,‘हामी कता जाँदै छौँ ?’

कहिल्यै आमाको काखलाई स्वर्गसँग तुलना गरिन्थ्यो । आज त्यही काख असुरक्षित भएको छ । कहिल्यै दाजुभाइको सम्बन्धलाई जीवनको आधार मानिन्थ्यो, आज त्यही सम्बन्ध सानो अहंकारले रगतमा डुबेको छ । सम्पत्तिको लोभले रगतको नाता नै विस्थापित गरिदिएको छ । हामी प्रविधिमा त निकै अगाडि बढ्यौँ तर हाम्रो हृदय किन यति पछाडि प¥यो ? के कुराले मानिसलाई मानिस हुनबाट स्खलित गरायो ?

बुद्धले भन्नुभएको छ,‘लोभो, दोसो, मोहो, एते अकुसला मूलानि’ अर्थात् लोभ, क्रोध र मोह, यी सबै दुःखका जरा हुन् । (अकुशलमूल सुत्त)
उल्लिखित घटनाहरूलाई नियाल्दा
–आमामाथि हात उठाउनुः क्रोध
– सम्पत्तिका लागि हत्या गर्नुः लोभ
– सानो विवादलाई जीवन–मरणको प्रश्न बनाउनुः मोह

यी तीन विषले हाम्रो समाजलाई भित्रैदेखि खाइरहेका छन् । बाहिरी आवरणमा सभ्य र उन्नत देखिएको समाज भौतिक सम्पन्नतामा रमाइरहेका हामी, अन्ततः विकराल मानसिक अवस्थासँग जुध्दै छौँ ।
झापाको एक घर, जहाँ कुनै समय आमाको माया र आशीर्वादको सुगन्ध बस्थ्यो, त्यही घरभित्र एक ७९ वर्षीया आमामाथि आफ्नै सन्तानले हात उठायो । त्यो घटना केवल हिंसा थिएन, त्यो त आमाको ममता, वात्सल्यता र स्नेह माथिको प्रहार थियो । राक्षसी पनको पराकाष्ठा । कास्कीमा, जहाँ पारिवारिक सम्बन्धहरू विश्वासको धागोले बाँधिएका हुनुपथ्र्यो, त्यहीँ सम्पत्तिको लोभले आफ्नै भतिजालाई हत्यारामा परिणत ग¥यो ।

ललितपुरको पाटन दरबार स्क्वायर, जहाँ इतिहासले सभ्यता, संस्कृति र सहअस्तित्वका कथा बोकेको छ, त्यहीँ एउटा सानो विवादले दुई दाजुभाइको ज्यान लियो । यी घटनाहरू फरक स्थान र परिवेशमा घटेका होलान तर सबैले एउटै कथा र ब्यथा बोलेका छन्, मानवता हराउँदै गएको कथा ।
घर, जहाँ हामी सुरक्षित महसुस गर्छौँ, जहाँ थाकाईहरुले विश्राम लिन्छन्, जहाँ सम्बन्धहरू विश्वास र आत्मियताको न्यानोपनले कसिएर बाँधिन्छन् तर त्यहीँ आज हिँसाले जरो गाड्दै छ । जसका औँला समाएर हिँड्न सिकाइयो उहीसँग विश्वास र स्नेहको खडेरी पर्दै छ । घर हिंसाको केन्द्रको रुपमा विकसित हुँदै छ । आमा, जसले नौ महिना गर्भमा राखिन्, जसले आफ्ना इच्छाहरू त्यागेर सन्तानको भविष्य बनाइन्, आज त्यही आमा आफ्नै सन्तानबाट पीडित छिन् । यो केवल कानुनी अपराध होइन, यो नैतिक पतन हो, सभ्यता कोमामा जाँदै गरेको संकेत हो ।

सिगलोवाद सुत्तमा भगवान बुद्ध भन्नुहुन्छ, सन्तानको कर्तव्य आमा बुबाको सेवा सम्मान र सुरक्षा । अब प्रश्न गराँैः के हामी साँच्चै शिक्षित हुँदै छौँ ? के हामी साँच्चै सभ्य हुँदै छौँ ? के हामी साँच्चै मानवीय श्रेष्ठता प्रमाणित गर्दैछौँ ? विद्यालयीय उपाधिहरुले के हामीलाई मान्छे बनाउँदैछ ?
कास्कीको घटनाले हामीलाई एउटा तितो यथार्थसँग सात्क्षत्कार गरायोः ‘सम्पत्ति अब सम्बन्धभन्दा ठूलो भएको छ ।’ हो, सामाजिक र व्यवहारिक जीवन चलाउनका लागि पैसा कमाउनु पर्छ, सम्पन्न हुनुपर्छ तर जब त्यही सम्पत्ति नै सम्बन्ध र सामाजिक मूल्यहरुको नाशको कारण बन्छ, तब त्यो सम्पन्नता होइन, सर्वनाशको बिउ बन्छ ।

बुद्ध भन्नुभएको छ,‘लोभो अग्गि’ अर्थात् लोभ आगो हो (अदित्त सुत्त) । यो आगोले केवल बाहिरी चिज जलाउँदैन, यसले त मान्छे भित्रको मानवता, दया, र नैतिकता सबै भस्म पार्छ । अब आफैँलाई सोध्ने बेला भएको छः ‘हामी सम्पत्ति कमाइरहेका छौँ वा सम्पत्तिले हामीलाई नियन्त्रण गरिरहेको छ ?’
ललितपुरको पाटन दरबार स्क्वायरमा भएको घटना झनै पीडादायक छ । एउटा फोन कल, सामान्य गल्ती र त्यसपछि भेटघाट । तर त्यो भेटघाट संवादको लागि होइन, विनाशमा परिणत भयो । यो घटना केवल एउटा झगडा होइन, यो हाम्रो असहिष्णुताको चरम रूप हो । किन यस्तो हुन्छ ?

भगवान् बुद्ध भन्नुहुन्छ ? ‘नहि वेरेन वेरानि सम्मन्तिध कुदाचनं; अवेरेन च सम्मन्ति एस धम्मो सनन्तनो ।’ अर्थात् घृणाले घृणा कहिल्यै समाप्त हुँदैन, केवल प्रेमले मात्र समाप्त हुन्छ, यही नै सनातन धर्म हो । (धम्मपद, ५)
अब सोचौँ हामी आज के गर्दैछौँ ? हामी सानो कुरामा रिसाउँछौँ, सानो विवादमा चेतना गुमाउँछौँ र अन्ततः निर्णय हिंसाबाट गर्छौँ । हरेक ठूला दुर्घटनाहरुको हेर्दा कारण सामान्य पाइन्छ । हामीले संवाद, सहकार्य र सहअस्तित्व बिर्सिएकै हो त ? आफूजस्तै अरुको पनि ‘आफूलाई सुनियोस् र बुझियोस्’ भन्ने भाव हुन्छ भन्ने कुरा बिर्सिएकै हौँ त ?
करुणा शून्यता आजको सबैभन्दा ठूलो संकट हो । सामाजिक सञ्जालमा हिंसाका भिडियोहरू केवल भाइरल हुनका लागि सार्वजनिक गरिन्छन् । त्यहाँ भएका विचार र विचारमाथि प्रकट भएका तर्कहरु अपशब्द युक्त गालिगलौजले भरिएका हुन्छन् । हामीहरु तिनै कुराहरु हेर्न, कमेन्ट गर्न र सेयर गर्न हतारिन्छौँ । एक पटक पनि सोच्दैनौँ मेरो यो गतिविधिले म अरुलाई के सिकाइ रहेको छु ?

भगावन् बुद्ध भुन्नुहुन्छ, ‘सब्बे सत्ताः सुखी होन्तु ।’ अर्थात् सबै प्राणी सुखी होऊन् । (करणीय मेत्ता सुत्त) । कुनै पनि प्राणीप्रति द्वेष नराख्ने, सबैको कल्याणको कामना गर्ने, आफू जस्तै अरूलाई पनि प्रेम गर्ने र असीम मैत्रीभाव फैलाउने यो सुत्त केवल कामना मात्र होइन, यो त जीवनशैली को आधार हो । जहाँ हामी सोचमा, बोलीमा र व्यवहारमा सबै प्रति शुभभाव राख्न सफल हुन्छौँ । मान्छेबाट दर्शक बन्दै गरेका हामीलाई रित्तो ह्रदयमा प्रेम भरी फेरि मान्छे बनाउने शिक्षा हो ।
यो अवस्थाबाट उठेर यदि हामी साँच्चै स्वयम् र समाज परिवर्तन गर्न चाहन्छौँ भने, हामीले कुनै कानुन कडा बनाउनुपर्दैन, मात्रै आफ्नो मानसिकता परिवर्तन गर्नुपर्छ । बुद्धका अष्टाङ्गिक मार्गको अनुशरण नै आजको लागि गतिलो औजार हो जसले खिया परेको हाम्रो प्रेम र स्नेहको धारोलाई फेरि कलकल बग्ने बनाउन सक्छ ।

टुक्रिँदै गरेको परिवार, टाढिँदै गएको समाज र रुँदै गरेकी आमा, यी सबैलाई मलमपट्टि र औषधीको आवश्यकता छ । भगवान् बुद्धका शिक्षाको अनुशरण र अभ्यास नै त्यो ओखति हो जसले सबैलाई समयमा नै स्वस्थ बनाउने क्षमता राख्दछ । अझै ढिलो भएको छैन । घर भत्किसकेको छैन । कमजोर मात्र भएको हो । तर अब पनि सही मार्ग र अभ्यासमा ढिलाई भयो भने घर नभत्केला भन्न सकिन्न ।
बुद्धले कहिल्यै पनि निराशा सिकाउनुभएन । उहाँले त सँधै आशा, करुणा र परिवर्तनको मार्ग निर्देश गर्नु भयो । बुद्ध भन्नुहुन्छ, “अत्ताही अत्तनो नाथो कोहि नाथो परो सिया ।” अर्थात् मानिस आफैँ आफ्नो उद्धारकर्ता स्वामी हो । (धम्मपद १६०) हामी नै परिवर्तन हौँ, हामी नै समाधान हौँ ।

हामी कता जाँदै छौँ भन्ने प्रश्नको जवाफ डरलाग्दो हुन सक्छ तर हरेक रात पछि सूर्य उदाएकै हुन्छ नि । करुणा र अहिँसालाई रोज्यौँ भने त्यो सूर्य उदाउन कतिबेर पनि लाग्दैन । अनि त्यो उज्यालोमा हामी सहजै मानवता पुनर्जीवित पार्न सक्छौँ । निर्णय हाम्रो हातमा छ । ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर चिच्याउने मात्र कि बुद्धका बाटामा पाइला पनि चाल्ने त ? (लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय, प्रायोगिक बौद्ध अध्ययनतर्फ अध्ययनरत विद्यार्थी हुन् ।)