रामराज्य माविको हीरक उत्सव: मिडिल स्कुलदेखि आजसम्म…

मेचीकाली संवाददाता

१३ बैशाख २०८३, आईतवार
22 shares

टोपलाल अर्याल

गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीको रामराज्य मावि ६० बर्षमा प्रवेश गरेसंगै हीरक उत्सवको तयारीमा जुटेकोे छ । हीरक महोत्सव मुल आयोजक समितिका संयोजक चन्द्र बहादुर महतको अध्यक्षतामा बसेको दोस्रो सचिवालय समितिको वैठकले हीरक लोगो पारित गरेको छ । त्यस्तै अर्थ सङ्कलन कार्य अगाडी बढाउन अर्थ समिति परिचालन गर्ने, प्रचार सामग्री निर्माण गर्ने निर्णय गरेको छ ।

साथै जेठ ११ देखि १५ गतेसम्म सञ्चालन हुने कार्यक्रमहरु समेत वैठकले निर्धारण गरेको बिद्यालयमा सहायक प्रध्यानाध्यापक जगत बस्नेतले जानकारी दिनुभयो । हीरक दर्पणका लागि आवश्यक लेख रचना र सामग्रीहरु सङ्कलन गर्ने र महोत्सव अवधीमा गाउँपालिकाभित्रका स्थानीय समुदाय अनुसारका साँस्कृतिक प्रस्तुतीहरुका लागि समन्वय र आव्हान गर्ने लगायतका बिषयमा पनि वैठकमा छलफल भएको छ । साथै सचिवालयले हीरक महोत्सव मुल नारा “ज्ञानको ६० बर्ष, प्रगतीको नयाँ अध्याय” भन्ने तय गरेको छ ।

बिद्यालय व्यावस्थापन समिति अध्यक्ष चन्द्र बहादुर महतले बिद्यालय स्थापना भएको ६० बर्ष पुराको अवसरमा आयोजना गरिएको हीरक महोत्सव बिद्यालय र समग्र इस्मालीको लागि गौरवको बिषय भएकाले सवै तहबाट आर्थिक, भौतिक तथा नैतिक सहयोगको आव्हान गर्नुभयो ।

महोत्सवलाई सफल बनाउन महतको संयोजकत्वमा १६१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । त्यस्तै महतकै संयोजकत्वमा १७ सदस्यीय सचिवालय गठन गरिएको छ । त्यस्तै हीरक महोत्सव मुल आयोजक समितिको बैठकले डम्बर बहादुर बिष्टको संयोजकत्वमा आर्थिक संकलन उपसमिति र कृष्ण प्रसाद रिजालको संयोजकत्वमा भौतिक व्यावस्थापनसहित १३ भन्दा बढि उपसमिति गठन गरेको छ । महोत्सवको अवसरमा सम्मान, विविध साँस्कृतिक कार्यक्रम तथा बौद्धिक स्तरका खेलहरु सञ्चालन हुनेछन् ।

यो बिद्यालय रामराज्य मिडिल स्कुलको रुपमा २०२२ सालमा स्थापना भएको थियो । बिद्यालयले २०३१ सालमा स्थायी स्वीकृति प्राप्त गरेको थियो । त्यसपछि २०४४ सालबाट माद्यामिक तहको अध्यापक सुरु गरेर २०५२ सालदेखि माद्यामिक तहको स्थायी स्वीकृति प्राप्त गरेको प्रध्यानाध्यापक खड्काले बताउनुभयो । यसैगरी यस बिद्यालयले २०६५ साल असार १६ गतेबाट उच्च मावि तहको अस्थायी सम्बन्धन प्राप्त गरेको थियो । अहिले रामराज्य माविमा कक्षा बालविकासदेखि कक्षा १२ सम्म कुल ५१४ जना बिद्यार्थीले अध्ययन गरिरहेका छन् ।