एसइईमा लुम्बिनीका २७ हजार विद्यार्थी ननग्रेडेड

–दुईसय जना विद्यार्थीले ल्याए ४ जीपीए, रुपन्देहीका मात्रै ८० जना

मेचीकाली संवाददाता

३० बैशाख २०८३, बुधबार
10 shares

रमेश पराजुली

बुटवल। राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजामा लुम्बिनी प्रदेशका ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । लुम्बिनी प्रदेशका १२ जिल्लाबाट परीक्षामा सहभागी भएका कुल ७१ हजार ५२८ जना विद्यार्थीमध्ये ६१.५७ प्रतिशत अर्थात् ४४ हजार ४१ जना विद्यार्थी ग्रेडेड भएको शिक्षा तथा सामाजिक विकास निर्देशनालयका सूचना अधिकारी डोरबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार लुम्बिनीमा ननग्रेडेड (एनजी) हुने विद्यार्थीको संख्या पनि ठुलो छ । यहाँ ३८.४२ प्रतिशत अर्थात् सबैभन्दा धेरै २७ हजार ४८७ जना विद्यार्थी ननग्रेडेड श्रेणीमा परेका छन् । देशभर नन् ग्रेडेड विद्यार्थीको संख्या १ लाख ४६ हजार ५०७ जना रहेको छ । प्रदेशगत रूपमा कोशीमा २१ हजार ३६६, बागमतीमा २१ हजार ७०४ र गण्डकीमा ९ हजार ९४३, कर्णालीमा १३ हजार २४१ र सुदूरपश्चिमका २० हजार ६३५ विद्यार्थी ननग्रेडेडमा परेका छन् । २०८१ सालको एसइईमा लुम्बिनी प्रदेशमा ६२.०६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।

लुम्बिनी प्रदेशका केही सामुदायिक र संस्थागत विद्यालयले भने काठमाडौंबाहिर अग्रणी नतिजा हासिल गर्न सफल भएका छन् । रोल्पा र रुकुम पूर्वबाहेक १० जिल्लाका २०० जना विद्यार्थीले ४ जीपीए ल्याएको सूचना अधिकारी बस्नेतले बताए । ती जिल्लामध्ये रुपन्देही अरुभन्दा अघि छ । रुपन्देहीबाट मात्रै ८० जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । यस्तै दाङ र बाँकेमा २६÷२६, पाल्पा र नवलपरासी पश्चिममा १६÷१६, कपिलवस्तुमा ११, बर्दियामा १०, अर्घाखाँचीमा ७, गुल्मीमा ६ र प्युठानमा २ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । गतवर्ष लुम्बिनीका ८ जिल्लाका १४४ जना विद्यार्थीको ४ जीपीए ल्याएका थिए ।

रुपन्देहीका ८० जना विद्यार्थीको ४ जीपीए
रुपन्देहीका विभिन्न विद्यालयका ८० जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । यस वर्ष रुपन्देहीबाट कुल १७ हजार ४४३ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये ११ हजार ६५८ जना अर्थात् ६६.८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाइ, रुपन्देहीका प्रमुख विष्णु पन्थीले जानकारी दिए । यस्तै ५ हजार ७८५ जना अर्थात् ३३.२० प्रतिशत विद्यार्थी नन् ग्रेडेड भएका छन् । २०८१ सालको नतिजामा रुपन्देहीका ३२ विद्यालयका ८७ जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए ।

यसवर्ष रुपन्देहीमा जीपीए ३.६० देखि ४ सम्म २ हजार ३४ जना, जीपीए ३.२० देखि ३.६० सम्म ३ हजार ४५६ जना, जीपीए २.८० देखि ३.२० सम्म ३ हजार ७८० जना, जीपीए २.४० देखि २.८० सम्म २ हजार ६१ जना, जीपीए २.० देखि २.४० सम्म ल्याउने विद्यार्थी २४७ जना रहेका छन् ।
कालिका मानवज्ञान मावि बुटवलका ६ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका छन् । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार स्वेता लम्साल, रोशनी भट्टराई, प्रतिमा भट्टराई, लबिज खनाल, सुयोग सापकोटा र अमिश ज्ञवालीले ४ जीपीए ल्याएका छन् । यस्तै बुटवलको कान्ति माविका ४ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । असिम पुरी, युगल पन्थी, आयुष घिमिरे र अनिष गौतमले ४ जीपीए प्राप्त गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले जानकारी दिए ।

बुटवलकै अक्सफोर्ड सेकेन्डरी स्कुलका ११ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । विद्यालयका प्राचार्य दिनेश भुसालका अनुसार ४ जीपीए ल्याउने विद्यार्थीहरूमा गरिमा अधिकारी, कृष्टिना पौडेल, नियोन बन्जाडे, ओजस्वी पौडेल, प्राञ्जल भण्डारी, प्रतिज्ञा कोइराला, सक्षम श्रेष्ठ, सालिस केसी, सायन भट्टाचार्य, शिशिर बेलबासे र शिवम खड्का रहेका छन् । बुटवलकै दीप बोर्डिङ हाइ स्कुलका ७ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन् । विद्यालयका प्राचार्य टीकाराम न्यौपानेका अनुसार ४ जीपीए ल्याउने विद्यार्थीहरूमा आशिका पाण्डे, बृशिका थापा क्षेत्री, डिम्पी केसरी, साहिल मन्डल, समर्पण केसी, सोमिन पियाँ र रिजन पोखरेल रहेका छन् । १३४ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको प्राचार्य न्यौपानेले बताए । मणिमुकुन्द सेकेण्डरी स्कुल बुटवलका ४ जना विद्यार्थीले जीपीए ४ ल्याएका छन् । सृजन आचार्य, सुशान्त अर्याल, निहार पौडेल र अनन्त भण्डारीले ४ जीपीए ल्याएका हुन् । न्यू होराइजन अङ्ग्रेजी आवासीय माविका ४ जना अन्वेषा भुसाल, अपेक्षा गौतम, दीक्षा पाण्डे र संकल्प ज्ञवालीले ४ जीपीए ल्याएका छन् ।

यस्तै तिलोत्तमाको प्यारामाउण्ट बोर्डिङ हाई स्कुलका ६ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । अंकित न्यौपाने, आयुष्मा पाण्डे, इशान पाण्डे, आयुषा भुसाल, अर्जित पन्थी र अदिति पाण्डेले ४ जीपीए ल्याएको विद्यालयले जनाएको छ । तिलोत्तमाकै न्यू लाइट मावि सार्वजनिक शैक्षिक गुठीबाट २ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका छन् । सुप्रिम खनाल र सुभेक्षा बरालले ४ जीपीए ल्याएको विद्यालयका प्रधानाध्यापक रमेश ज्ञवालीले बताए ।

लुम्बिनी बोर्डिङ स्कुल बुटवलका २ जना निर्भीक ज्ञवाली र आर्जना पाण्डे, नवीन औद्योगिक कदरबहादुर रीता मावि बुटवलकी अञ्जना ज्ञवाली, नयाँगाउँ मावि, बुटवलका शिशिर आचार्य, तिलोत्तमाको न्यू इन्भाइरोमेन्ट इङ्लिस सेकेन्डरी स्कुलका बिनिसा बगाले र बुटवलको गार्गी एकेडेमीकी अमिशा पौडेलले पनि ४ जीपीए ल्याएकी छन् । यस्तै सैनामैना पर्रोहा परमेश्वर माविका २ जना अंकित घिमिरे र सुशान्त खरेलले ४ जीपीए ल्याएको विद्यालयले जनाएको छ । यस्तै सैनामैनाकै प्रभात इङ्लिस बोर्डिङ स्कुलका ३ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । कुसुम कार्की, सिम्रन चौधरी र प्रकृति न्यौपानेले ४ जीपीए ल्याएका हुन् । कञ्चनको प्रगती माविका प्रशान्त पौडेलले पनि ४ जीपीए ल्याएका छन् ।

यस्तैगरी भैरहवाको साइ ग्लोबल एकेडेमीका प्रशान्त पाण्डे र शिवांश मिश्राले ४ जीपीए ल्याएका छन् । एभरग्रीन पब्लिक स्कुल मोतीपुरका २ जना, तिलोत्तमाको शान्ति नमुना माविका १ जना, तिलोत्तमाकै लुम्बिनी वल्र्ड स्कुलका १ जना, एभरेष्ट मावि बुटवलका १ जना, देवदहको नमुना इङलिस बोर्डिङ स्कुलका १ जना विद्यार्थीले पनि ४ जीपीए ल्याएका ती विद्यालयहरुले जानकारी दिएका छन् । रुपन्देहीमा अन्य विद्यालयको नतिजा पनि उत्कृष्ट रहेको विद्यालयले जनाएका छन् । गत वर्ष रुपन्देहीका ३२ विद्यालयका ८७ जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए ।

दाङमा २६ जना विद्यार्थीले ल्याए ४ जीपीए
दाङमा ६१.८३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यहाँ २६ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाइ दाङले जनाएको छ । परीक्षामा सहभागी भएका कुल ११ हजार ७४९ जना विद्यार्थीमध्ये ७ हजार २६४ जना अर्थात् ६१.८२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने ४ हजार ४८५ जना विद्यार्थी नन ग्रेडेड भएका छन् ।

दाङमा ३.६ देखि ४ जीपीए ल्याउने १ हजार २८९ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने २ हजार ५७४ जना, २ देखि ३.२ जीपीए ल्याउने २ हजार २२० जना, २.४ देखि २.८ जीपीए ल्याउने १ हजार ११४ जना तथा २ देखि २.४ जीपीए ल्याउने ६७ जना विद्यार्थी रहेका छन् । गत वर्ष पनि दाङका २६ जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए ।

कपिलवस्तुका ११ जनाले ल्याए ४ जीपीए
कपिलवस्तुबाट एसइइमा ११ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । ४ जीपीए प्राप्त गर्नेमा महेन्द्र माध्यमिक विद्यालयबाट ३ जना, कपिलवस्तु ज्ञानज्योति शिक्षा सदनबाट ३ जना, सनलाइट बोर्डिङ स्कुलबाट १ जना, लक्ष्मणघाट माध्यमिक विद्यालयबाट १ जना, हथौसा लिटिल स्टारबाट १ जना, सनलाइट बोर्डिङ स्कुल बगदीबाट १ जना तथा बुद्ध पद्म मावि तौलिहवाबाट १ जना विद्यार्थी रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका निमित्त प्रमुख चोपलाल बेलवासेका अनुसार परीक्षामा सहभागी भएका कुल ८ हजार २२५ जना विद्यार्थीमध्ये ४ हजार १८८ जना अर्थात् ५०.९१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने ४ हजार ३७ जना विद्यार्थी नन ग्रेडेड भएका छन् । गत वर्ष कपिलवस्तुका १६ जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए ।

गुल्मीका ६ जनाले ल्याए ४ जीपीए
गुल्मीमा ५ वटा विद्यालयका ६ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । तीमध्ये पाँच जना छात्रा रहेका छन् । रेसुङ्गा नगरपालिकाको महेन्द्र माविकी अस्मिता पाण्डे र रेसुङ्गा माविकी दीक्षा पोखरेलले ४ जीपीए प्राप्त गरेका छन् । रुरुक्षेत्र गाउँपालिकाबाट तीन जनाले ४ जीपीए ल्याएका छन् । रिडी माविबाट मर्यादा पौडेल, रेन्बो इङ्लिस बोर्डिङ स्कुलबाट आरुषा श्रेष्ठ, खोमराज पन्थ र चन्द्रकोट गाउँपालिकाको शारदा मावि, दिव्रुङबाट रितिका गौतमले ४ जीपीए प्राप्त गरेको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख थानेश्वर घिमिरेले जानकारी दिए ।

साधारण धारतर्फ कुल तीन हजार ३३९ विद्यार्थी सहभागी भएकोमा ६८.६८ प्रतिशत अर्थात् दुई हजार २९३ जना उत्तीर्ण भएका छन् । साधारण धारमा २२१ जनाले ३.६ देखि ४ जीपीएबिच अंक ल्याएका छन् भने ८६४ जनाले २.८ देखि ३.२ जीपीए प्राप्त गरेका छन् । त्यस्तै प्राविधिक धारतर्फ नतिजा उत्साहजनक देखिएको छ । प्राविधिकतर्फ ७०.२८ प्रतिशत विद्यार्थी सफल भएका छन् । सहभागी २५९ विद्यार्थीमध्ये १८२ जनाले परीक्षा उत्तीर्ण गरेका छन् । जसमा २६ जनाले ३.६ देखि ४ जीपीए र ७१ जनाले ३.२ देखि ३.६ जीपीए प्राप्त गरेका छन् । जिल्लाभर साधारणतर्फ एक हजार ४६ जना र प्राविधिकतर्फ ७६ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । गत वर्ष गुल्मीका ३ जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए ।

अर्घाखाँचीमा ७ जनाले ल्याए ४ जीपीए
अर्घाखाँचीबाट ६ वटा विद्यालयका ७ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ, अर्घाखाँचीका अनुसार सन्धीखर्क नगरपालिकाको गौरीशंकर इङ्लिस बोर्डिङ स्कुलबाट २ जना तथा सन्धीखर्ककै ज्ञानप्रकाश मावि, ग्रीन इङ्लिस बोर्डिङ स्कुल, अर्घाखाँची आवासीय मावि, जनज्योति मावि र छत्रदेवको हिमालय इङ्लिस बोर्डिङ स्कुलका एक÷एक जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।

अर्घाखाँचीमा ३.६० देखि ४ भन्दा कम जीपीए प्राप्त गर्ने १०९ जना विद्यार्थी छन् । यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने २२७ जना, २.८० देखि ३.२० जीपीए ल्याउने विद्यार्थीको संख्या सबैभन्दा धेरै अर्थात् ४७१ रहेको छ । २.४० देखि २.८० जीपीए ल्याउने ३४९ जना तथा २ देखि २.४० जीपीए ल्याउने ३३ जना विद्यार्थी रहेका छन् । परीक्षामा सहभागी भएका कुल २ हजार ३४७ जना विद्यार्थीमध्ये १ हजार १८९ जना अर्थात् ५०.६६ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने १ हजार १५८ जना विद्यार्थी नन ग्रेडेड भएका छन् । गत वर्ष अर्घाखाँचीका २ जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए ।

पाल्पामा १६ जनाले ल्याए ४ जीपीए
पाल्पामा १६ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । परीक्षामा सहभागी भएका कुल ३ हजार ५६३ जना विद्यार्थीमध्ये ५१.८६ प्रतिशत अर्थात् १ हजार ८४८ जना विद्यार्थी ग्रेडेड भएका छन् भने ४८.१३ प्रतिशत अर्थात् १ हजार ७१५ जना विद्यार्थी नन ग्रेडेड भएका छन् । गत वर्ष पाल्पाका ६ जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए ।

नवलपरासी पश्चिमका १६ जनाले ल्याए ४ जीपीए
नवलपरासी पश्चिमका १६ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका छन् । परीक्षामा सहभागी भएका कुल ४ हजार ५०५ जना विद्यार्थीमध्ये ५७.०४ प्रतिशत अर्थात् २ हजार ५७० जना विद्यार्थी ग्रेडेड भएका छन् भने ४२.९५ प्रतिशत अर्थात् १ हजार ९३५ जना विद्यार्थी नन ग्रेडेड भएका छन् । गत वर्ष नवलपरासी पश्चिमका ३ जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए ।

प्युठानमा ५० प्रतिशत विद्यार्थी उत्तीर्ण
एसइइमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी कुल ३ हजार ६२ विद्यार्थी मध्ये १ हजार ५३३ जना उत्तीर्ण भएका हुन् । यहाँ १ हजार ५२९ जना विद्यार्थी नन ग्रेडेड भएका छन् । यस वर्ष प्युठानबाट दुई छात्राले ४ जीपीए ल्याएका छन् । लोक चेतना एकेडेमीकी सुमित्रा केसी र कालिका आवासीय माध्यमिक विद्यालय बिजुवारकी करुणा पाण्डेले ४ जीपीए प्राप्त गरेका हुन् । यस्तैगरी जीपीए ३.६० देखि ४ सम्म ९३ जना, ३.२० देखि ३.६० सम्म २७५ जना, २.८० देखि ३.२० सम्म ५५४ जना तथा २.४० देखि २.८० सम्म ५८६ जना, २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थी २५ जना छन् ।

रोल्पामा ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण
रोल्पामा ४९.३८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका कुल ३ हजार ५० जना विद्यार्थीमध्ये १ हजार ५०६ जना विद्यार्थी मात्रै ग्रेडेड भएको शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले जनाएको छ । यस्तै यहाँ १ हजार ५४४ जना विद्यार्थी नन ग्रेडेड भएका छन् ।

रोल्पामा ३.६ देखि ४ जीपीए ल्याउने २८९ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने ५५ जना, २ देखि ३.२ जीपीए ल्याउने ४४१ जना, २.४ देखि २.८ जीपीए ल्याउने ६६४ तथा २ देखि २.४ जीपीए ल्याउने ५७ जना विद्यार्थी रहेका छन् ।

बाँकेमा २६ जनाले ल्याए ४ जीपीए
बाँकेमा २६ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका छन् । परीक्षामा सहभागी भएका कुल ७ हजार ९८२ जना विद्यार्थीमध्ये ७५.९९ प्रतिशत अर्थात् ६ हजार ६६ जना विद्यार्थी ग्रेडेड भएका छन् । भने २४.०४ प्रतिशत अर्थात् १ हजार ९१६ जना विद्यार्थी नन ग्रेडेड भएका छन् । गत वर्ष बाँकेका एक जना विद्यार्थीले मात्र ४ जीपीए ल्याएका थिए ।

बर्दियामा १० जनाले ल्याए ४ जीपीए
बर्दियामा १० जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । परीक्षामा सहभागी भएका कुल ५ हजार २६० जना विद्यार्थीमध्ये ६३.१७ प्रतिशत अर्थात् ३ हजार ३२३ जना विद्यार्थी ग्रेडेड भएका छन् भने ३७.८२ प्रतिशत अर्थात् १ हजार ९३७ जना विद्यार्थी नन ग्रेडेड भएका छन् ।

रुकुम पूर्वमा ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण
रुकुम पूर्वमा ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका कुल ७४४ जना विद्यार्थीमध्ये ४२१ जना विद्यार्थी ग्रेडेड भएका छन् भने ४३.४१ प्रतिशत अर्थात् ३२३ जना विद्यार्थी नन ग्रेडेड भएका छन् ।

सोमबार सार्वजनिक भएको एसइइको नतिजामा देशभरबाट कुल विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएको बोर्डले जनाएको छ । समग्रमा गत वर्षभन्दा यसवर्ष ४.१७ प्रतिशतले एसइइको नतिजामा सुधार भएको पाइएको छ । विसं २०७३ मा भएको शिक्षा ऐनको आठौँ संशोधनले विद्यालयको संरचना बदलेर कक्षा १२ लाई विद्यालय तहको अन्तिम कक्षा हुने व्यवस्था गरेको छ ।

संविधानमा तीन तहको सरकारको अधिकार क्षेत्र बाँडफाँड गर्दा कक्षा १० को परीक्षा प्रदेशअन्गर्तत राखिएको छ । नयाँ विद्यालय शिक्षा विधेयक संसद्मा पेस हुने चरणमा छ । सरकारले आगामी वर्षदेखि एसइई परीक्षा प्रदेशस्तरमा सञ्चालन गर्ने तयारी पनि गरेको छ ।