विश्वको ध्यान तानेका नेपालका दुर्लभ ज्ञानखजाना

मेचीकाली संवाददाता

२ जेष्ठ २०८३, शनिबार
17 shares

–लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा पाण्डुलिपि अध्ययनबारे विशेष प्रशिक्षण
–जर्मनीबाट फर्किंदै हजार वर्ष पुराना नेपालका ऐतिहासिक र दुर्लभ सम्पदा

अमृत गिरी

बुटवल । संसारका कैयौँ देशमा लोप भइसकेका संस्कृत बौद्ध ग्रन्थहरू आज पनि नेपालका विहार, गुम्बा, पुस्तकालय र निजी संग्रहमा सुरक्षित छन् । यिनले केवल धार्मिक महत्व मात्र बोकेका छैनन्, मानव सभ्यता, इतिहास, दर्शन, कला र भाषिक विकासका जीवित दस्तावेजका रूपमा समेत विश्व समुदायको ध्यान तानिरहेका छन् ।

तर, समयको परिवर्तनसँगै यस्ता दुर्लभ सम्पदाहरू संरक्षणको गम्भीर संकटमा छन् । कतिपय पाण्डुलिपि विदेश पुगिसकेका छन्, केही निजी तहमा लुकाइएका छन् भने धेरै सामग्री चिस्यान, किराफट्याङ्ग्रा र अव्यवस्थित संरक्षणका कारण नष्ट हुने जोखिममा छन् । यही सन्दर्भमा अहिले नेपालमा प्राचीन पाण्डुलिपिको संरक्षण, अध्ययन, डिजिटलाइजेशन र पुनःस्थापनाबारे फेरि बहस तीव्र बनेको छ ।

पाण्डुलिपि अध्ययनका लागि विशेष प्रशिक्षण
लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा सहकार्यमा लुम्बिनीस्थित केन्द्रीय क्याम्पसमा ‘प्राचीन पाण्डुलिपि अध्ययन विधि’ सम्बन्धी विशेष शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । पाँच दिने कार्यक्रममा बौद्ध ग्रन्थहरूको संरक्षण, क्रिटिकल संस्करण निर्माण, डिजिटल क्युरेसन तथा वैज्ञानिक अध्ययन विधिका विषयमा विशेषज्ञहरूले प्रशिक्षण दिएका थिए ।
विश्वविद्यालयका केन्द्रीय क्याम्पस प्रमुख तथा बौद्ध दर्शनका ज्ञाता आचार्य दयानिधि गौतमका अनुसार पाली, संस्कृत, तिब्बती र नेपाली क्याननमा रहेका दुर्लभ पाण्डुलिपिको अध्ययन, संरक्षण र वैज्ञानिक व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा विज्ञहरूमार्फत प्रशिक्षण प्रदान गरिएको हो ।

‘प्राचीन बौद्ध ग्रन्थ केवल धार्मिक सामग्री होइनन्, ती हाम्रो इतिहास, दर्शन, लिपि र सभ्यताका जीवित दस्तावेज हुन्,’ आचार्य गौतमले भने, ‘यिनको संरक्षण र वैज्ञानिक व्यवस्थापन आजको सबैभन्दा ठूलो आवश्यकता हो ।’ उनका अनुसार प्रशिक्षणमा लिखित सांस्कृतिक सम्पदा तथा ग्रन्थहरूमा के लेखिएको छ, ती सन्देश आजको समाजका लागि कत्तिको सान्दर्भिक छन् र तिनलाई आधुनिक ज्ञान प्रणालीसँग कसरी जोड्न सकिन्छ ? भन्ने विषयमा विशेष छलफल गरिएको थियो ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका प्राडा.नुरपति पोखरेल, राष्ट्रिय अभिलेखालयकी रसायनविद् सुम्मी राई, भेन.डा.धर्मगुप्त वजिरा, भेन.डा.न्यामा शेर्पा, मनिता नौपाने, आनन्दकुमार महर्जन र ललिमा श्रेष्ठलगायतले सहजीकरण गरेका थिए । विश्वविद्यालयका अनुसन्धान एकाइ संयोजक मञ्जिल सुवेदीका अनुसार नयाँ पुस्तालाई पाण्डुलिपि अध्ययनको वैज्ञानिक विधिसँग परिचित गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

नालन्दा र विक्रमशिला ध्वस्त हुँदा नेपाल पुगेका ज्ञानका खजाना
इतिहासकारहरूका अनुसार भारतका नालन्दा र विक्रमशिला विश्वविद्यालय प्राचीन विश्वकै सबैभन्दा समृद्ध शैक्षिक केन्द्र थिए । नालन्दा विश्वविद्यालयमा हजारौँ विद्यार्थी र भिक्षु अध्ययनरत थिए भने त्यहाँ रहेको धर्मगञ्ज नामक विशाल पुस्तकालयमा असंख्य दुर्लभ ग्रन्थ संग्रहित थिए ।

तर सन् ११९३ तिर मुस्लिम सेनापति बख्तियार खिलजीले नालन्दामाथि आक्रमण गरी विश्वविद्यालय ध्वस्त पारे । हजारौँ निःशस्त्र भिक्षु र विद्यार्थी मारिए । इतिहासकारहरूका अनुसार नौतले पुस्तकालयमा रहेका पाण्डुलिपिहरू यति धेरै थिए कि आगलागीपछि ती लगातार तीन महिनासम्म जलिरहेका थिए ।

त्यसको केही वर्षपछि, सन् १२०० तिर खिलजीकै सेनाले विहारको भागलपुरमा रहेको वज्रयान बौद्ध शिक्षाको प्रमुख केन्द्र मानिने विक्रमशिला विक्रमशिला विश्वविद्यालयमाथि पनि आक्रमण ग¥यो । सयौँ भिक्षुहरूको हत्या गरियो र विश्वविद्यालय नष्ट पारियो । ती आक्रमणबाट बचेका केही बौद्ध विद्वान् र भिक्षुहरूले महत्वपूर्ण संस्कृत बौद्ध पाण्डुलिपिहरू बोकेर नेपाल र तिब्बततर्फ शरण लिएका थिए ।
यसरी नेपालमा प्रवेश गरेका अमूल्य ग्रन्थहरू पछि यहाँका विहार र गुम्बाहरूमा सुरक्षित भए । नेवार समुदायले तिनलाई रञ्जना, भुजिमोल, नेपाल लिपि, कुटिला तथा देवनागरी लिपिमा पुनर्लेखन गरेर संरक्षण गरेको इतिहास पाइन्छ । विशेषगरी रञ्जना लिपिमा सुनको अक्षरले लेखिएका पाण्डुलिपिहरू कलात्मक दृष्टिले विश्वमै उत्कृष्ट मानिन्छन् । ललितपुरस्थित हिरण्यवर्ण महाविहारमा करिब आठ सय वर्ष पुरानो सुनौलो अक्षरमा लेखिएको ‘प्रज्ञापारमिता’ पाण्डुलिपि अझै सुरक्षित रहेको र दैनिक पाठ हुने गरेको बताइन्छ ।

नेपालीले उपेक्षा गर्दा विदेशीले चिनाए विश्वलाई
इतिहासकारहरूका अनुसार विसं १९०३ को कोतपर्वपछि सत्ता कब्जा गरेका जंगबहादुर राणाले आफ्ना राजनीतिक विरोधीहरूको इतिहास मेटाउने नीति अपनाएका थिए । त्यसक्रममा हनुमानढोका दरबार क्षेत्रका मल्लकालीन र शाहकालीन अभिलेख, ठ्यासफु, लालमोहर तथा बौद्ध–हिन्दू पाण्डुलिपिहरू नष्ट गरिएका थिए । कतिपयलाई काम नलाग्ने कागज भन्दै फालिएको उल्लेख पाइन्छ ।
तर नेपालभित्र उपेक्षित रहेका यस्ता बौद्ध पाण्डुलिपिहरूको अन्तर्राष्ट्रिय महत्व भने नेपालका लागि बेलायती कूटनीतिज्ञ ब्रायन हगटन हजसनले पहिलोपटक उजागर गरेका थिए । सन् १८२४ तिर उनले नेपालमा रहेका ठूलो संख्याका संस्कृत बौद्ध पाण्डुलिपि संकलन गरी युरोप र भारतका पुस्तकालयहरूमा पठाएका थिए । त्यसपछि मात्र विश्व समुदायले संस्कृत बौद्ध साहित्यको विशाल परम्पराबारे व्यवस्थित जानकारी पाएको थियो ।

ताडपत्रदेखि डिजिटलाइजेशनसम्म
धेरैजसो प्राचीन पाण्डुलिपिहरू ताडपत्र र भोजपत्रमा लेखिएका कारण समयसँगै झुरो हुने, चिस्यानले टाँसिने तथा किरा लाग्ने जोखिममा छन् । अझै पनि कतिपय सामग्री निजी घर, गुम्बा र विहारहरूमा पर्याप्त संरक्षणबिना राखिएका छन् ।
नेपालमा आधुनिक संरक्षण प्रयास भने सन् १९७० पछि सुरु भएको मानिन्छ । नेपाल–जर्मन पाण्डुलिपि संरक्षण परियोजनाअन्तर्गत राष्ट्रिय अभिलेखालयमा पहिलो फोटोग्राफिक युनिट स्थापना गरिएको थियो । सन् १९७० देखि २००२ सम्म चलेको उक्त परियोजनाले देशभरका बिहार, मन्दिर र निजी संग्रहबाट करिब १ लाख ८० हजार दुर्लभ पाण्डुलिपि माइक्रोफिल्ममा सुरक्षित गरेको थियो । ती सामग्रीमा ५० लाखभन्दा बढी पाना समेटिएका थिए । ११ औँ शताब्दीको सबैभन्दा पुरानो वैदिक पाठ, सबैभन्दा पुरानो पाली पाण्डुलिपि तथा ८१० ईस्वीको सम्भावित सबैभन्दा पुरानो मिति भएको नेपाली पाण्डुलिपि ‘स्कन्द पुराण’ समेत फेला परेका छन् । संस्कृत, तिब्बती, नेवारी, नेपाली, हिन्दी र अवधी भाषाका दुर्लभ तान्त्रिक, दार्शनिक तथा बौद्ध धर्मसम्बन्धी ग्रन्थहरूको संरक्षणले नेपालको सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउने महत्वपूर्ण आधार तयार गरेको छ ।

माइक्रोफिल्मिङमार्फत जीर्ण अवस्थामा रहेका हजार वर्ष पुराना पाण्डुलिपिहरू सुरक्षित राख्नुका साथै अनुसन्धान, पाठ सम्पादन, इतिहास, दर्शन, कला, चिकित्सा, वास्तुकला र सामाजिक अध्ययनलाई नयाँ दिशा मिलेको छ । राष्ट्रिय अभिलेखालयमा सुरक्षित गरिएको यो संग्रह आज दक्षिण एसियाकै सबैभन्दा ठूलो माइक्रोफिल्म अभिलेख मानिन्छ । सन् १९८९ मा खुम्बुको प्रसिद्ध तेङबोचे गुम्बामा आगलागी हुँदा तिब्बतबाट ल्याइएका दुर्लभ पाण्डुलिपिहरू नष्ट भए पनि, आगलागी हुनुभन्दा केही महिनाअघि नेपाल–जर्मन परियोजनाले तिनको माइक्रोफिल्म तयार गरिसकेको कारण १८५ पाठ र १५ हजार ७ सय ६६ फोलियो भविष्यका पुस्ताका लागि सुरक्षित रहन सफल भएका थिए ।

सन् २००२ पछि डिजिटलाइजेशनको नयाँ चरण सुरु भएको थियो । डिजिटल क्यामरा र कम्प्युटर प्रविधिको प्रयोग गरी पाण्डुलिपिहरूलाई पीडीएफ तथा उच्च गुणस्तरका डिजिटल फाइलमा रूपान्तरण गर्न थालियो । आशा अर्काइभ्सले मात्र ७ हजारभन्दा बढी ऐतिहासिक पाण्डुलिपिलाई डिजिटल स्वरूपमा रूपान्तरण गरिसकेको बताइन्छ । अहिले युनेस्को र आर्काइभ नेपालजस्ता संस्थाहरूले कृत्रिम बुद्धिमत्ता (एआइ) को प्रयोग गरेर रञ्जना तथा भुजिमोल लिपिका पाण्डुलिपिहरूको डिजिटल अनुवाद र संरक्षणमा काम गरिरहेका छन् ।

अहिले कहाँ सुरक्षित छन् यस्ता ग्रन्थ ?
नेपालका दुर्लभ बौद्ध पाण्डुलिपिहरू अहिले वीर पुस्तकालय, राष्ट्रिय अभिलेखालय, आशा सफु कुथि, केशर पुस्तकालय, राष्ट्रिय पुस्तकालय, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय तथा विभिन्न निजी संग्रहहरूमा सुरक्षित रहेका छन् ।

जर्मनीबाट फर्किंदै ८०० दुर्लभ पाण्डुलिपि
बुटवल । नेपालबाट विभिन्न समयमा हराएका वा विदेश पुगेका दुर्लभ ऐतिहासिक पाण्डुलिपिमध्ये ८०० भन्दा बढी सामग्री अब जर्मनीबाट नेपाल फर्किने भएका छन् । हालै जर्मनीको हाइडेलबर्ग विश्वविद्यालयमा आयोजित विशेष समारोहमा बर्लिनस्थित नेपाली दूतावास र विश्वविद्यालयबीच दुर्लभ पाण्डुलिपि नेपाल फिर्ता गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो । नेपाली दूतावासका चार्ज डिअफेयर्स एआई सागरप्रसाद फुयाल र विश्वविद्यालयका प्राध्यापक डा.एक्सेल माइकल्सले उक्त सम्झौतामा हस्ताक्षर गरेको नेपालस्थित परराष्ट्र मन्त्रालयले हालै प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

सम्झौताअनुसार १३ औँदेखि २० औँ शताब्दीसम्मका ८०० भन्दा बढी दुर्लभ सामग्री नेपाल फर्काइनेछ । ‘वाल्टर रिन्डफ्लिस्च संग्रह’ नामले परिचित उक्त सामग्रीमा ४६० अति संवेदनशील ताडपत्र पाण्डुलिपि, संस्कृत तथा नेपाल भाषामा भुजिमोल लिपिमा लेखिएका ग्रन्थ, शाही कागजात, अदालतका अभिलेख, तान्त्रिक ग्रन्थ, आयुर्वेदिक पाठ, यात्रा डायरी तथा ऐतिहासिक पत्राचार समावेश छन् । यी सामग्री एक निजी जर्मन संकलकले नेपाल फिर्ता गर्ने उद्देश्यले विश्वविद्यालयलाई हस्तान्तरण गरेका थिए । स्वदेश फिर्ता गर्नुअघि तिनको संरक्षण, डिजिटलाइजेशन तथा वैज्ञानिक सूचीकरण सम्पन्न गरिएको थियो । समारोहमा प्राध्यापक डा.माइकल्सले यो सम्भवतः नेपाल बाहिर रहेको नेपाली ताडपत्र पाण्डुलिपिको सबैभन्दा ठूलो संग्रह भएको उल्लेख गर्दै डिजिटलाइजेशनले विश्वभरका अनुसन्धानकर्तालाई पहुँच सहज बनाउने बताए ।

कार्यक्रममा विश्वविद्यालयका उपरेक्टर प्रा.डा. मार्क–फिलिप वेलर, दक्षिण एसियाली संस्थानका प्रमुख प्रा.डा.हान्स हार्डर, प्रा.डा.क्रिस्टियन ब्रोसियस, सहअनुसन्धानकर्ता डा.माणिक बज्राचार्य र डा.राजन खतिवोडालगायतले सांस्कृतिक सम्पदा संरक्षण तथा नेपाल–जर्मनी शैक्षिक सहकार्यको महत्वमाथि जोड दिएका थिए । दूतावासका अनुसार पाण्डुलिपिहरू नेपाल ल्याइएपछि संरक्षण, अनुसन्धान र सार्वजनिक पहुँचका लागि सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ ।