सुस्तामा भारतीय हस्तक्षेप

मेचीकाली संवाददाता

१८ जेष्ठ २०८३, सोमबार
20 shares
नारायणी नदीमा भइरहेको तटबन्धन कार्य । तस्बिरः हरि शर्मा

हरि शर्मा

परासी । नवलपरासीको सुस्तामा भारतीय पक्षले अवरोध सृजना गर्दै हस्तक्षेप गरेको छ । नारायणी नदीको कटान र डुबान नियन्त्रणका लागि सुस्ता क्षेत्रमा भइरहेको तटबन्धन कार्यमा आइतबारदेखि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले हस्तक्षेप गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा ‘भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछिको केही समयमा यो अवरोध भएको स्थानीयको भनाई छ । यसलाई संयोग मात्र भन्न नसकिने भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिले भारतीय पक्षलाई थप बल मिलेको र सुस्तामा पुनः भारतीय पक्षको हस्तक्षेप बढ्न थालेको स्थानीयको बुझाई छ ।

सुस्ता क्षेत्रलाई नदी कटान र डुबानबाट जोगाउन गत चैतदेखि नारायणी नदी किनारको एक किलोमिटर क्षेत्रमा तटबन्धन निर्माण कार्य भइरहेको छ । तर उक्त संरचनाले मात्र सुस्ता क्षेत्रलाई जोगाउन नसक्ने भएपछि अहिले निर्माण भएको अन्तिम ठाउँदेखि पूर्वतर्फ दोस्रो चरणको थप १३२ मिटर क्षेत्रमा तटबन्धन कार्य सुरु गरिएको थियो । यही विस्तारको कामलाई भारतीय पक्षले विवादित भन्दै अवरोध गरेको हो ।

नारायणी नदी पारीको सुस्ता गाउँपालिका वडा नम्बर ५ स्थित सुस्ता गाउँमा करिब ४ सय घरपरिवारको बसोबास छ । गाउँलाई नदीको जोखिमबाट जोगाउन सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना चितवनले साढे ११ करोडको लागतमा तटबन्धन कार्य गरिरहेको छ । दोस्रो चरणअन्तर्गत थप १ करोड ४६ लाखको लागतमा निर्माण सुरु गरिएको १३२ मिटर तटबन्धनको काम भारतीय अवरोधका कारण रोकिएको आयोजनाका इन्जिनियर बेलप्रसाद विश्वकर्माले जानकारी दिए ।

सुस्तामा सीमा छुट्टाउनका लागि स्थायी पिलर नभएकाले भारत र नेपालका जिल्लास्तरीय सुरक्षा अधिकारीहरुको सहमतिमा ‘सिमल’को रुखलाई अस्थायी सीमा संकेतका रुपमा मान्दै आइएको छ । अहिले दोस्रो चरणको तटबन्धन निर्माण उक्त रुखभन्दा झण्डैं डेढ सय मिटर वरसम्म पुग्ने भएपनि भारतीय पक्षले विवादित भनेर अवरोध गरेका हुन् ।

पटक पटक भारतीय पक्षले सुस्तामा हस्तक्षेप गर्दै आएको सुस्ता बचाउँ अभियानका प्रवक्ता रविन्द्र जयसवालले बताए । पछिल्लो समय हस्तक्षेप रोकिएपनि आइतबारदेखि कामलाई अवरोध गरेको उनले बताए । नेपालीले उपयोग गर्दै आएको जग्गा काटेर ड्याम बनाइएको र त्यहीबाट तटबन्धन गर्ने कार्य गर्दा पनि भारतीयले अवरोध गरेको जयसवालको भनाई छ । दोस्रो चरणको काम सुरु नभए सुस्ता क्षेत्रको डुबान समस्या यथावत रहने उनले बताए । अहिले सीमलको रुख नजिक भारतीय एसएसबीले २४ सैं घण्टा निगरानी गरिरहेको छ । दुई चार दिनमा भारतले अवरोध नहटाए स्थानीयवासी स्वयंले तटबन्धन निर्माण कार्य अघि बढाउने जयसवालले चेतावनी दिए ।

यता प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले पुरानो तटबन्धन कार्यमा अवरोध नगरेपनि अहिले दोस्रो चरणको काम भारतीय पक्षका कारण केही समयका लागि रोकिएको बताए । रोकेको कामलाई सुरु गराउनका लागि भारत बिहार प्रदेश पश्चिम चम्पारनका समकक्षी डीएम(सीडीओ) सँग कुराकानी भइरहेको प्रमुख जिल्ला अधिकारी नेपालको भनाई छ । ‘पश्चिम चम्पारनका डिएमले माथिल्लो तहमा परामर्श गरेर सहमतिमा काम अघि बढाउनका लागि पत्र माग गरेकाले प्रशासन कार्यालयबाट औपचारिक पत्र पठाएको छ । ’प्रमुख जिल्ला अधिकारी नेपालले भने । दुवै जिल्लाका सुरक्षा अधिकारीहरु बसेर केही दिनमा सहमतिको प्रयास गरिने उनको भनाई छ ।

सुस्ताको कुल क्षेत्रफल ४० हजार ९८० हेक्टर रहेको छ । भारतीयको अतिक्रमणका कारण हाल सुस्ताबासीले ७ हजार हेक्टर भूमि मात्र उपयोग गर्दै आएका छन् । १४ हजार ५ सय हेक्टर भूमि भारतले अतिक्रमण गरिसकेको र १९ हजार ४८० हेक्टर क्षेलाई विवादित भन्दै प्रयोग गर्न दिइएको छैन । विवादपछि उक्त भूमिमा दुई देशका जिल्लास्थित सुरक्षा प्रमुखहरुको बैठकले उक्त क्षेत्र कसैले पनि उपयोग नगर्ने सहमति गरिएको छ ।