मुलुकको रुपान्तरण गर्ने गरी बजेट आएन: पूर्वअर्थमन्त्री पाण्डे

मेचीकाली संवाददाता

२० जेष्ठ २०८३, बुधबार
97 shares

बुटवल । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याएको बजेटमा कुनै नयाँपन नभएको बताएका छन् । बजेटको आकार २५ प्रतिशतले बढे पनि राज्यको चरित्र परिवर्तन गर्ने कुनै योजना समावेश नभएको दावी गरे । रूपन्देही व्यापार संघले बुधबार बुटवलमा आयोजना गरेको आर्थिक बहसमा बोल्दै नेता पाण्डेले बजेट कार्यान्वन पनि चुनौतीपूर्ण रहेको बताए ।

‘जनताले ठुलो आशा र चासो रहेको बजेट अघिल्लै योजनाको निरन्तरता मात्र छ,’ नेता पाण्डेले भने,‘बजेटले पुराना कार्यक्रम मात्र बोकेको छ, नयाँ शब्दमात्र हालेको छ । तात्विक रुपान्तरण हुने नयाँ घोषणा केही छैनन् ।’ राज्य सञ्चालनका लागि राजश्व महत्वपूर्ण हुने उल्लेख गर्दै उनले बजेटको आकार बढाएर मात्रै मुलुक समृद्ध हुन नसक्ने दावी गरे । ‘आवश्यक तयारीबिना बजेटको आकार २५ प्रतिशतले बढाइएको छ । जसरी पैसा छुट्याइएको छ, जसरी कर नीति ल्याइएको छ, त्यसको आधारमा राज्य वा अर्थतन्त्रको स्वरूपै बदल्ने खालको कुनै नयाँ नक्सा कोरिएको छैन ।’ उनले भने ।
भाषाको हिसाबमा मिठो सुनिए पनि वैचारिक स्पष्टताबिनाको बजेटले मुलुकलाई कुनै प्रतिफल नदिने बताए । नेता पाण्डेले भने, ‘वास्तवमा हुनुपर्ने स्रोतको आँकलन गरेर खर्च तय हो तर हाम्रो अभ्यास उल्टो छ । हरेक अर्थमन्त्रीलाई बजेटको आकार अलिकति ठूलो बनाऔँ र केही नयाँ कार्यक्रम घोषणा गरौँ भन्ने रहर हुन्छ । उहाँले पनि त्यही गर्नुभएको छ ।’

सरकारले बजेटमा उधारो ऐन ल्याउने विषय समावेश गर्नु सकारात्मक रहेको उनले बताए । ‘नेपालका लागि उधारो ऐन जरूरी थियो, धेरै व्यवसायीले उधारो रकम उठाउन नसक्दा टाट पल्टिएको अवस्था छ । यसले उधारो कारोबार गरेको रकम उठाउन सहज हुनेछ ।’ नेता पाण्डेले थपे,‘म अर्थमन्त्री हुँदा पनि यो ऐन बनाउनुपर्छ भन्ने कुरा चलेको थियो ।’

बजेटले मध्ययम वर्गलाई केन्द्रमा राखे पनि निजी क्षेत्रलाई लगानी गर्ने उत्साह जगाउन नसकेको नेता पाण्डेको भनाइ छ । बजेटमा घोषणा गरेर मात्रै मुलुक समृद्ध हुन नसक्ने भन्दै उनले त्यसका लागि सरकारले व्यपसायीक वातावरण तयार गर्नुपर्ने धारणा राखे । ‘बैंकको ब्याजदर कम हुँदा पनि उद्योगी व्यवसायीहरुले ठुलो लगानी गर्न चाहेका छैनन् । अहिलेको अवस्थामा बाह्य लगानी भित्रिने अवस्था पनि छैन ।’ उनले भने,‘व्यवसायीमा कन्फिडेन्स नहुँदासम्म विदेशी लगानी भित्रिँदैन । त्यसैले पनि अहिलेको अवस्थामा उद्योगी व्यवसायीहरुलाई प्रोत्साहन गर्न जरुरी छ ।’ व्यवसाय र उद्यमशिलताबिना देशमा समृद्धि आउन नसक्ने नेता पाण्डेले बताए । ‘नेपालमा केही भएन भन्दै विदेशीएर देशको विकास हुन सक्दैन, त्यसका लागि युवा शक्तिले स्वदेशमै उद्यम गर्नुपर्छ । सरकरले लगानीको वातावरण बनाइदिनुपर्छ ।’ उनले भने ।
चालू आर्थिक वर्षमा पूँजीगत बजेट खर्च २५ भन्दा बढी हुन नसक्ने उनले बताए । नेता पाण्डेले २१ सय अर्बको बजेटमा पूँजीगत खर्च डेढ खर्ब मात्र हुँदा देश कसरी अघि बढ्छ भन्दै प्रश्न गरे । सरकारले चालू आवमा १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखेपनि सवा १० खर्ब मात्रै राजश्व उठेको बताउँदै उनले लक्ष्य पूरा गर्न नसक्ने बताए ।

यस्तै रूपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले बजेटले व्यवसायीहरुलाई कस्तो असर पारेको छ, राज्यको कर असुली विधि, करका दर र सिद्धान्त तथा बजेटका विविध विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा सिनियर चार्टर्ड एकाउन्टेन्ट सगुन खनालले आगामी आर्थिक वर्षको बजेट तथा आर्थिक विधेयक २०८३ का विभिन्न प्राविधिक विषयवस्तु सँगै कर छुट सुविधा, आयकरमा भएका परिवर्तनहरुबारे जानकारी गराएका थिए । यस्तै व्यवसायीहरुले विभिन्न विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव प्रकाशराज पौडेलले गरेका थिए ।