गाउँकै माटोमा भविष्य खोजिरहेका दीपक–मनिषा

मेचीकाली संवाददाता

२० जेष्ठ २०८३, बुधबार
17 shares

अमृत गिरी

बुटवल। बडिगाड गाउँपालिका–२ राक्से (बागलुङ)को ढोरपाटन सडकछेउको शान्त ग्रामीण बस्ती राक्सेमा एउटा प्रेरणादायी कृषि कथा बिस्तारै आकार लिँदैछ । यहीँका दीपकविक्रम वन र उनकी पत्नी मनिषा थापा वनले परम्परागत खेतीलाई मात्र होइन, समग्र ग्रामीण अर्थतन्त्रलाई नै आत्मनिर्भर बनाउने प्रयासलाई व्यवहारमा उतार्ने कासिस गरिरहेका छन् । परम्परागत कृषिका अतिरिक्त आधुनिक र व्यवसायिक कृषिलाई आत्मसात् गरेका उनीहरूको यो यात्रा केवल व्यक्तिगत उद्यम होइन, गाउँ फर्किने, गाउँमै बस्ने र गाउँमै भविष्य खोज्ने एउटा सशक्त उदाहरण पनि बनेको छ ।

विदेश होइन, आफ्नै माटो रोज्ने निर्णय
दीपकको जीवनमा एक समय विदेश जाने सपना बलियो थियो । उनले प्रयास गरे, केही वर्ष विदेश पनि बसे । तर, त्यहाँको एक्लोपन, श्रमको कठिनाइ र परिवारबाट टाढा बस्नुपर्ने बाध्यताले उनलाई निरन्तर सोच्न बाध्य बनायो–‘के आफ्नै गाउँमै केही सम्भव छैन ?’ त्यही प्रश्नको उत्तर खोज्दै उनी स्वदेश फर्किए । दाइभाइहरूको सल्लाह, परिवारको साथ र बाआमाको भरोसाले उनलाई गाउँमै उद्यम गर्न प्रेरित ग¥यो । आज उनी र मनिषा मिलेर राक्से क्षेत्रमा एक सशक्त कृषक जोडीका रूपमा परिचित छन् । मनिषा भरखर २४ वर्षकी भइन् । दीपक भने ३२ वर्षका भए ।

खेतबारीदेखि बजारसम्म आफ्नै उत्पादन
दीपक–मनिषाको कृषि अभ्यास केवल एक बाली वा एक उत्पादनमा सीमित छैन । उनीहरूले एकीकृत कृषि प्रणाली अपनाएका छन्, जसले खेत, फार्म र बजारलाई एउटै सञ्जालमा जोडेको छ । करिब ३ रोपनीमा कागती खेती, २ रोपनीमा केरा बगान, २ रोपनीमा मौसमी तरकारी उत्पादन, करिब ११ रोपनीमा धान, गहुँ र मकैजस्ता रैथाने तथा मौलिक बाली, २ रोपनी क्षेत्रफलमा माछा पोखरी बनाएका छन् ।

यस्तै एक हजारभन्दा बढी कुखुरा पाल्न मिल्ने कुखुरा फार्म, लोकल कुखुरा, हाँस र बाख्रापालन, भैँसीपालनमार्फत दुध उत्पादनमा पारिवारिक सहयोगले यो जोडीलाई उदाहरणीय बनाएको छ । यो सबै उत्पादनको मुख्य विशेषता भनेको उनीहरू आफैं उत्पादन गर्छन्, आफैं प्रशोधन गर्छन् र केही पर रहेको खर्वाङ बजारसम्म आफैं बिक्री वितरण गर्छन् । खर्बाङ बजार गुल्मीको वामीटक्सारको नजिकै रहेको एउटा जक्सन हो ।

उनीहरूको घर अहिले साधारण घर मात्र होइन, सानो स्तरको कृषि उद्यम जस्तै बनेको छ । दीपक बिहान खेतबारीमा हुन्छन् भने दिउँसो कुखुरा फार्मको व्यवस्थापनमा जुट्छन् । मनिषा भने बिहानदेखि नै खनजोतमा सघाउनेदेखि लिएर खर्वाङ बजारमा रहेको आफ्नै पसल सञ्चालनसम्म सक्रिय हुन्छिन् । पसलमा स्थानीय र रैथाने उत्पादनको माग बढेपछि दीपकले उत्पादन संकलन गरेर आफ्नै साधनमार्फत बजारसम्म पु¥याउँछन् । यसले बिचौलियाको निर्भरता घटाएको छ र उत्पादनको वास्तविक मूल्य किसानमै पुग्ने अवस्था सिर्जना गरेको छ ।

३२ लाख लगानी, ७० हजार मासिक आम्दानी
हालसम्म उनीहरूले करिब ३२ लाख रुपैयाँ बराबर लगानी गरिसकेका छन् । प्रारम्भिक चुनौती र अनिश्चितताबिच पनि उनीहरूको व्यवसाय अहिले स्थिर हुँदै गएको छ । उनीहरूको औसत मासिक खुद आम्दानी करिब ७० हजार रुपैयाँ रहेको छ, जुन ग्रामीण क्षेत्रमा एउटा सानो उद्यमका लागि उल्लेखनीय उपलब्धि मानिन्छ ।

परिवार नै उत्पादनको शक्ति
दीपक र मनिषाको सफलता व्यक्तिगत प्रयास मात्र होइन, पारिवारिक सहकार्यको परिणाम पनि हो । सेवा निवृत्त शिक्षक रहेका बुबा र गृहिणी आमाले दुध उत्पादनदेखि पशुपालनसम्म सघाइरहेका छन् । सिंगो परिवार नै उत्पादन चक्रमा जोडिएको छ, जसले उनीहरूको कृषि व्यवसायलाई अझ दिगो बनाएको छ । दाइ–भाउजूहरू कोही विदेश (युरोप) त कोही तराई झरे पनि दीपक र मनिषाले भने गाउँमै बसेर ‘फर्किने होइन, यहीँ बस्ने’ बाटो रोजेका छन् ।

ग्रामीण युवाका लागि प्रेरणादायी मोडेल
बडिगाड क्षेत्रको यो जोडी अहिले अन्य युवाका लागि प्रेरणाको स्रोत बनेको छ । वैदेशिक रोजगारीको विकल्प केवल विकल्प होइन, सम्भावना पनि हुन सक्छ भन्ने सन्देश उनीहरूको कामले दिएको छ । उनीहरूले माटो छोडेर होइन, माटोलाई आधुनिक बनाएर पनि भविष्य बनाउन सकिन्छ भन्ने उदाहरण देखाएका छन् ।

चुनौतीहरू पनि उस्तै छन्
यद्यपि सफलता सहज छैन । बजार व्यवस्थापन, उत्पादनको मूल्य स्थिरता, पशुपालनमा रोगको जोखिम र श्रम व्यवस्थापनजस्ता चुनौतीहरू उनीहरूले निरन्तर सामना गरिरहेका छन् । सरकारी अनुदानहरु घोषणामा सीमित हुने, पहुँच र भनसुनमा आधारित हुने विडम्बना अहिले पनि छ । दीपक–मनिषाले अहिलेसम्म ३२ लाखजतिको लगानी गरिसक्दा सरकारीस्तरबाट अनुदान भने मुस्किलले ६० हजार जतिका केही सामान्य उपकरणहरु पाएका छन् । आफ्नै बलबुताले जुटाएको प्रविधिको प्रयोग, स्थानीय बजारसँग प्रत्यक्ष सम्पर्क र परिवारको सक्रिय सहभागिताले यी चुनौतीहरूलाई धेरै हदसम्म सन्तुलनमा राखेको छ ।

कृषि पर्यटनको सपना
दीपक र मनिषाको योजना उत्पादनलाई अझ व्यवस्थित गर्दै अर्गानिक ब्रान्ड स्थापना गर्ने, स्थानीय युवालाई रोजगारीमा जोड्ने र राक्से क्षेत्रलाई कृषि पर्यटनसँग जोड्ने रहेको छ । यो गाउँ ढोरपाटन नगरपालिकासँग जोडिएको नदी किनारको सम्भावनायुक्त ठाउँ हो ।

‘उनीहरूको सपना केवल आम्दानी बढाउने मात्र होइन, गाउँमै बस्न योग्य अर्थतन्त्र निर्माण गर्ने रहेको छ,’ स्थानीय युवा सहजकर्ता विष्णु वनको भनाइ छ । उनी भन्छन्,‘गाउँमा धेरै युवायुवती अवसरको खोजीमा बाहिरिँदै गर्दा यो दम्पती भने आफ्नै माटोसँग भविष्य जोडिरहेका छन् । उनीहरूका लागि खेत केवल अन्न फलाउने ठाउँ होइन, सपना रोप्ने र भविष्य फलाउने थलो हो ।’

हाते ट्याक्टरको ह्याण्डल समातेर सम्भावनाको बाटो कोर्दै मनिषा
बागलुङ, बडिगाड गाउँपालिका–२, राक्सेकी मनिषा थापा वन खेतमा हाते ट्याक्टरले जोत्दै । गाउँमै सम्भावना खोज्दै संघर्ष र सफलताको नयाँ कथा लेखिरहेकी छन् उनले । बडिगाडको राक्से गाउँमा माटो पल्टाउँदै अघि बढिरहेकी मनिषाले वास्तवमा केवल खेत जोतिरहेकी छैनन्, उनी गाउँमै सम्भावनाको नयाँ बाटो पनि कोर्दै छिन् । अझै पनि धेरै ग्रामीण क्षेत्रमा खेत जोत्नेदेखि भारी कामहरू पुरुषको जिम्मेवारी मानिन्छ तर मनिषाले त्यो सोचलाई व्यवहारमै चुनौती दिएकी छन् । पति दीपक थापासँग काँधमा काँध मिलाएर उनी खेत जोत्नेदेखि खनजोत गर्ने, बाली लगाउने, कुखुरा फार्म सञ्चालन गर्ने र फ्रेस हाउस व्यवस्थापन गर्ने सबै काममा उत्तिकै सक्रिय छिन् ।