बुटवल। बिमा रकम खाने लोभमा बुटवलमा भएको सुनचाँदी पसल लुटपाट सञ्चालक आफैँले गरेको खुलेको छ । दश दिन अघि (जेठ १७ गते) राति बुटवल उपमहानगरपालिका वडा नम्बर–४ अमरपथस्थित तिनाउ सुनचाँदी पसलबाट ठुलो परिणाममा सुनचाँदी चोरी भएको थियो । पसलका सञ्चालक दीपक विक र कर्मचारी नवीन विक आफैँले पसल खोली गरगहना र सुनचाँदी चोरी गरेको प्रहरीको अनुसन्धानले पत्ता लगाएको हो ।
नाटकीय रूपमा ‘मास्टर की’ बनाएर सञ्चालक बुटवल–५ बस्ने दीपक पसलका गहना उठाएर पोखरा घुम्न गएको नाटक मञ्चन गरेको पुष्टी रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाहीले बताए । ‘पसलको बीमा दावी गर्न, अन्य ग्राहकहरुले पसलमा धितोमा राख्न दिएको सुन, पैसा फिर्ता गर्न नपर्ने सोच र योजनाबद्ध रूपमा चोरीको नाटक गरेको देखिन्छ,’ एसपी जनक शाहीले भने, ‘दीपक र नवीन राति साढे ११ बजे पसलमा पसेर साढे दुई बजे पसलबाट सुनचाँदी उठाएर सिद्धबाबामा राखेको गाडी चलाएर पोखरातर्फ गएको विभिन्न सिसिटिभी फुटेजबाट देखिन्छ ।’
पसलबाट १ करोड ४६ लाख ९४ हजार ७०० रूपैयाँको सुनचाँदीका गहना चोरी भएको घटनाको सम्बन्धमा प्रहरीले विभिन्न आयामबाट अनुसन्धान गरेको थियो । १९ गते बिहान स्थानीयले पसल खुला देखेपछि प्रहरी त्यहाँ पुग्दा ५०÷६० वटा नक्कली चाँपीका झोपा फेला पारेका थिए । त्यस्तै दुईवटा लकरमध्ये एउटा फोडेर त्यहाँ रहेका सबै गहना लगेका थिए । घटनाको खोजी गर्न प्रहरीले विभिन्न स्थानका १५० वटा सिसिटिभी फुटेजहरू अध्ययन गरेपछि पुष्टी भएको हो ।
‘पसलबाट लगेको सुन पनि हिनामिना गर्ने उद्देश्य देखिन्छ । हामीले विभिन्न आयामबाट अनुसन्धान गर्दा उहाँहरु नैं हो भन्ने पत्ता लागेपछि उहाँहरूलाई सार्वजनिक गरिएको हो,’ एसपी शाहीले थपे, ‘यो घटनामा योभन्दा बढी परिणामको सुनचाँदी पनि हुनसक्छ भन्ने हाम्रो अनुमान छ । त्यो विस्तारै खुल्दै गएपछि सार्वजनिक गर्ने छौं ।’ विलाश मोहन वझानथाछेको घरमा सटर भाडामा लिएर तिनाउ सुनचाँदी पसल चार दशकदेखि सञ्चालनमा रहँदै आएको थियो ।
प्हिला दीपकका बाबा तुलबहादुरले सञ्चालन गर्दै आएको पसल पछि दीपकले सञ्चालन गर्दै आएका थिए । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी निशान्त श्रीवास्तवले ठुलो गहिरो अनुसन्धान र सिटिटिभी क्यामेराका विभिन्न स्थानका रेकर्डबाट पुष्टी गर्न सजिलो बनाएको बताए । पसलबाट चोरी भएका केही गहना दीपकको घर बुटवल–५ बाट प्रहरीले फेला पारेको छ ।
त्यस्तै जेठ १९ गते देव सुनचाँदी पसलमा चोरी गर्न ताला काट्दै गरेको अवस्थामा प्रहरीले ७ जनालाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । घटनमा भारतको उत्तर प्रदेश घर भएकाहरु रहेका छन् । घटनमा भारतको उत्तर प्रदेश घर भएकाहरु रहेका छन् । पक्राउ पर्नेहरुमा भारतको उत्तर प्रदेश, सन्तकवितारका २६ वर्षीय आकाश बर्मा, सोही ठाउँका २७ वर्षीय अब्दुल सलमा, १९ वर्षीय नसिर अली, वर्ष २३ वर्षीय मोहम्मद सुलेमान, २८ वर्षीय शहिद मोहम्मद सेख, २१ वर्षीय कर्ण शर्मा र २३ वर्षीय मोहम्मद पारिस रहेका छन् ।
त्यस्तै जेठ ४ गते बुटवल उपमहानगरपालिका वडा नम्बर–८ सुख्खानगरस्थित राजेशकुमार गुप्ताको घरको सुनचाँदी चोरी गर्ने कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर २ का २७ वर्षीय शिवओम थारुलाई पक्राउ गरेको छ । घरबाट चोरी गरेको सुनका बाला २ वटा, लकेटसहित सिक्री १ थान, सुनका चार वटा झुम्का, आँैठी ३ वटालगायतका गहना प्रहरीले बरामद गरेको छ । केही वर्ष अघि पनि अमरपथको एक सुनचाँदी पसलमा ठुलो चोरी भए पनि प्रहरी चोरीमा संलग्नलाई पक्राउ गर्न सकेको थिएन । पछिल्ला वर्षहरूमा सुरक्षा प्रविधिमा सुधार भएपनि अपराधीहरूले नयाँनयाँ तरिका अपनाउन थालेका देखिन्छ ।
