सविता बनिन् रोट्रयाक्ट युथ आइकन

मेचीकाली संवाददाता

१ असार २०८३, सोमबार
26 shares

बुटवल । रोट्रयाक्ट युथ आइकन–२०८३ को उपाधि सविता पोखरेलले जितेकी छन् । शनिबार बुटवलमा सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा पोखरेलले अन्य चार जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन् । उपाधिसँगै उनले नगद २० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गरिन् ।

त्यसैगरी प्रतियोगितामा लक्ष्मी गैरे द्वितीय र आकाश वली तृतीय भएका छन् । द्वितीय हुनेले नगद १५ हजार रुपैयाँ तथा तृतीय हुनेले नगद १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
युवाहरूको नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा वक्तृत्वकलाको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष आविष्कार खनालले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको पहिलो चरणको अडिसनमा २७ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये उत्कृष्ट १५ जनालाई दोस्रो चरणका लागि छनोट गरिएको थियो भने दोस्रो चरणबाट उत्कृष्ट पाँच जना अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।

फाइनल प्रतिस्पर्धामा सहभागीहरूले ‘भोलिको नेपाल, पुर्खाको इतिहास र वर्तमानका हामी’ विषयमा ६ मिनेटभित्र आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको निर्णायक मण्डलमा अमर खत्री, डा. आविष्कार पराजुली र माधव बेलवासे रहेका थिए । प्रमुख निर्णायक खत्रीका अनुसार विषयवस्तु तथा सन्देशलाई ३० अंक, प्रस्तुतीकरणलाई २५ अंक, भाषा तथा उच्चारणलाई २० अंक, मौलिकता तथा सिर्जनशीलतालाई १५ अंक तथा समय व्यवस्थापनलाई १० अंक छुट्याई कुल १०० पूर्णाङ्कका आधारमा मूल्याङ्कन गरिएको थियो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले युवाहरूलाई अनुशासित, आत्मविश्वासी तथा नेतृत्व गर्न सक्षम बनाउन यस्ता प्रतियोगिताहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
प्रतियोगिताका सहभागी सानिया पठान र आइस्का ढकालले प्रतियोगितामा सहभागी हुँदा प्राप्त अनुभव, सिकाइ तथा आत्मविश्वास वृद्धिका विषयमा आफ्ना अनुभूति सुनाएका थिए । उनीहरूले यस्ता कार्यक्रमले युवाहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै नेतृत्व र व्यक्तित्व विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने बताएका थिए ।

कार्यक्रममा रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनका पूर्वअध्यक्ष जीवनप्रसाद अधिकारी, रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका आइपिडीआरआर विक्रम क्षेत्री, डीआरआर नोमिनी गौरव सुवेदी, मुख्य प्रशिक्षक रमेश अर्याल, रोटरी क्लब अफ बुटवल डाउनटाउनका प्रेसिडेन्ट नोमिनी तथा बीबीसी ग्लोबल एजुकेशनका सञ्चालक डीबी रायमाझीलगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण क्लबका सचिव केशव पौडेलले गरेका थिए ।

यस्तैगरी फाइनल प्रतिस्पर्धा अघि ‘फ्रम प्यासन टु आइकन’ विषयमा प्यानल डिस्कसन सत्र आयोजना गरिएको थियो । उक्त सत्रमा युवा उद्यमी मोहन ठाकुर, कमलजंग कुँवर तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका चिफ एचआर एन्ड स्ट्राटेजी प्रमुख प्रवास राय प्यानलिस्टका रूपमा सहभागी रहेका थिए । उक्त कार्यक्रमको सहजीकरण रोटार्याक्टर समीक्षा पाण्डेयले गरेकी थिइन। प्यानलिस्टहरूले आफ्नो संघर्ष, अनुभव, नेतृत्व विकास र सफलताका यात्राबारे विचार राख्दै युवाहरूलाई आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहन प्रेरित गरेका थिए ।