हरिबोधिनी एकादशी र तुलसी

मेचीकाली संवाददाता

५ मंसिर २०८३, शुक्रबार
16 shares

कमल पन्थी

हिन्दू पञ्चाङ्गअनुसार चन्द्रमाको गतिमा आधारित भएर आउने प्रत्येक पक्षको एघारौँ तिथिलाई एकादशी भनिन्छ । वर्षदिनभरिमा अधिकांश छाडेर जम्मा २४ वटा एकादशी पर्छन् । निराहार रही भगवान् विष्णुको उपासना र व्रतका लागि निकै पवित्र तिथीको रुपमा एकादशीलाई लिने गरिन्छ । हिन्दू धर्मका त्रिमूर्ति (व्रम्हा, विष्णु र महेश्वर) मध्ये विष्णुलाई सारा चराचर पालन कर्ता तथा संरक्षक मानिन्छन् । यिनको निवासस्थान लोकहरुमध्येको उत्तमलोक वैकुण्ठलोक हो । जव–जव पृथ्वीमा धर्मप्रति संकट हुन्छ रक्षार्थ अवतारको रुपमा चौविस पटक जन्म लिएको र त्यसमध्ये मत्स्य (माछा), कुर्म (कछुवा), वराह (वदेल), नृसिंह (सिंह), वामन, परशुराम, राम, कृष्ण र वुद्ध गरी दश अवतारहरु महत्वपूर्ण मानिन्छन् ।

एकादशीसम्बन्धी प्रसङ्गहरु सागर जस्तै छन् तर मुख्य–मुख्य पक्षलाई समेट्दै सागरबाट गागरमा जल ल्याउने प्रयत्न मात्र मेरो हो । व्रती व्यक्तिका लागि यसबाट केही जानकारी हुने नै छ । विशेषतः हरिवोधिनी (ठुलो) एकादशीलाई धार्मिक पर्वका रुपमा मात्र नभएर मानव जीवन, प्रकृति, संस्कृतिलगायत विविध पक्षसंग जोडेर धर्मको पक्षलाई सम्मान, विज्ञानको पक्षलाई तथ्य र अध्यात्मको पक्षलाई विवेकसम्मत रुपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । अर्थ वा भावलाई महत्व दिने तथा यसको औचित्य पुष्टि गर्ने दृष्टिकोण अर्थभाव हो । कुनै अनुष्ठानको महत्व दर्शाएर व्यक्तिलाई त्यसमा प्रवृत्त गराउन प्रेरित गर्नु हो । गरिएको कर्म विधिसम्मत, शास्त्रसम्मत होस् भन्ने अर्थवाद पनि हो ।

‘एकादशी’ शब्द संस्कृतको ‘एक’ र ‘दश’ को योगबाट बनेको हो, जसको शाब्दिक अर्थ एघार हो । धार्मिक मान्यताअनुसार एकादशी भगवान् विष्णुको आराधना, उपवास, आत्मसंयम र साधनाका लागि विशेष दिन मानिन्छ । एकादशीको बाहिरी स्वरूप उपवास हो भने भित्री स्वरूप आत्मसंयम हो । चतुर्मासाः हरिशयनीदेखि हरिबोधनी एकादशीसम्मको चारमहिनाको अवधिलाई चतुर्मासा भनिन्छ । विष्णु क्षीर सागरमा सुतेको कारण यस समयमा विवाह व्रतवन्ध जस्ता माङ्गलिक कार्य गर्न शुभ मानिँदैन तर तुलसीलाई भगवान् विष्णुकी प्रियाका रुपमा पूजा गर्ने र भागवत पाठ गर्ने भने परम्परा छ । चतुर्मासा समाप्त भएर हरि बिउँझिने एकादशी हरिबोधिनि एकादशी हो ।

–निर्जला एकादशीः जेष्ठ शुक्ल एकादशीमा जल समेत नपिई कठिन र पवित्र ब्रत बस्ने भएकाले यसलाई निर्जला भनिएको हो।यसै दिन तुलसीको विउँ मठमा छर्ने गरिन्छ ।
–हरिशयनी एकादशीः निर्जला एकादशीको दिन छरेको तुलसीको बिउबाट उम्रेको तुलसीको बिरुवा यसैदिन रोप्ने गरिन्छ । आषाढ शुक्ल पक्षमा पर्ने यो एकादशीबाट भगवान् विष्णु चार महिनाका लागि क्षीरसागमा शयन गर्ने विश्वास गरिन्छ ।
हरिपरिवर्तनी एकादशीः यस दिन भगवान् विष्णुले कोल्टो फेर्ने विश्वास गरिन्छ ।

हरिवोधिनी/ठुलो एकादशी
आजभन्दा चार महिना अगाडि आषाढशुक्ल हरिशयनी एकादशीमा शयन गरेका भगवान् विष्णु आजको दिन चीर योग निद्रावाट व्यूझने र बैकुण्ठलोकतिर प्रस्थान गर्ने धार्मिक मान्यता छ । तसर्थ आज दिउँसो व्रत–उपवास बसी साँझमा भगवान विष्णुको प्रतीककोरुपमा तुलसीको षोडसोपचार विधिले विशेष पूजा गरिन्छ । कुनै देवताको पूजा गर्ने सोह्र अङ्ग वा रितीलाई षोडसोपचार विधि भनिन्छ । आवाहन गर्ने, आसन गराउने, अध्र्यदिने, आचमन गर्ने, मधुपर्क (घिउँ, मह, चिनीको मिश्रण) स्नान, वस्त्राभरण, यज्ञोपवीत,चन्दन, पुष्प, धूप, दीप, नैवेद्य, ताम्वुल, परिक्रमा र अन्त्यमा प्रणाम गर्ने विधि पर्छन् ।

व्रत–उपवासः सामान्यतया व्रत र उपवासलाई पर्यायवाची शब्दकोरुपमा लिने गरिन्छ तर यी शब्दले उस्तै अर्थ दिने भएतापनि गरिने कर्ममा केही भिन्नता छ । उपवासको अर्थ नजिक बस्नु हो । अध्यात्मका अनुयायी श्रद्धालुहरु भगवानको नजिक बस्नु हो । दिनभर वा अहोरात्र भोजन नगर्ने अवस्था हो । अर्थात् केही पनि नखाई व्रत बस्ने काम हो । निराहार रहनु हो । कुनै खाद्यवस्तु तथा पेय वस्तु ग्रहण गर्न वर्जित गरिएको छ । तर व्रतमा पवित्र, सात्विक भोजन (हविष्यान्न) र फलफुल ग्रहण गरिन्छ । तसर्थ व्रतभन्दा उपवास कठिन मानिन्छ ।

इच्छा गरिएको अभिलाषा राखिएको कर्ममा प्रवृत्त हुने संकल्प व्रत हो । जन्मजात भनौ वा परमात्मावाट प्राप्त शरीर, वचन र मनद्वारा हुने कामलाई प्रवृत्ति (आनीबानी÷चालचलन) भनिन्छ । कायिक, वाचिक र मानसिक गरी व्रतलाई तीन भागमा विभाजन गरेको पाइन्छ । शारीरिक रुपमा हिंसा जस्ता कुरा नगर्नु कायिक, बोली वचनको व्यवहार वाचिक र शान्तभाव, आत्म संयमलाई मानसिक व्रत भनिएको छ । शरीरको वाह्य र आन्तरिक शुद्दिको साथसाथै ईश्वरको उपासना मार्गमा आफुलाई अग्रसर गराउनु व्रत हो । कुनै कामना पूर्तिका लागि गरिने व्रत काम्य व्रत हो भने निष्काम भावले गरिने व्रतलाई नित्यव्रत भनिन्छ । एकादशीमा गरिने व्रत नित्यव्रतमा पर्छ । यसको धार्मिक पक्षले आस्था जगाउँछ, आध्यात्मिक पक्षले आत्मचिन्तन गराउँछ र वैज्ञानिक पक्षले खानपान तथा स्वास्थ्यप्रति सचेत बनाउँछ । शरीर, मन र चेतनालाई अनुशासित बनाउने जीवनपद्धतिका रूपमा बुझ्नु आवश्यक छ ।

व्रत–उपवास पूर्वीय धर्म, संस्कृतिका सशक्त खम्बा हुन ता पनि मुस्लिम जैनहरु पनि कडाभन्दा कडा व्रतमा विश्वास गर्छन् । व्रत उपवासमा पुरानो पुरस्ताको मान्यतामा अहिलेको पुस्ताको व्यवहारमा निकै फरकपन आईरहेको छ । व्रत–उपवासले शारिरीक, मानसिक शुद्धि र सिद्धि प्रत्यक्ष वा परोक्ष दुवै प्रकारका लाभ मिल्नेकुरामा त विज्ञान पनि असहमत जाहेर गर्दैन ।

‘हरि’को अर्थ दयाको भाव हो । दुःख हर्नेवालाहो । हरि हुन अरुको दुःख कष्ट हर्न सक्नु पर्छ । मनमा हरि नभएको मान्छे भन्नाले अरुको दुःखमा साथ नदिने, अविवेकी भन्ने बुझिन्छ । उचित अनुचित, ठिक बेठिक, न्याय अन्याय, गुण अवगुण, छुट्याउने क्षमता नै विवेक वा हरि हो । वोधिनीको अर्थ जागा रहने हुन्छ । हाम्रो जीवनमा पनि सुषुप्त र जागा अवस्था हुन्छ । पुण्य मात्र नभएर मानवीय सेवामा समर्पित हुन सिकाउने उत्प्रेरित गर्ने त्यस्तो परोपकारी भाव जागा हुने वा ब्यूझने शुभ मुहूर्त भएरै यो दिनलाई ‘हरिबोधिनी’ एकादशी भनेर पुकारिएको हो ।

धार्मिक तथा पौराणिक पक्ष
प्राचीन कालमा जालन्धर नाम गरेको दैत्यको पत्नी वृन्दा उच्च कोटीको पतीव्रता नारी थिइन् । पतीव्रता पत्नीको कारण जालन्धरको वध गर्न असम्भव थियो । पत्नीको सतित्व हरणगरेपछि मात्र मार्न संभव थियो । भगवान् विष्णुले पती जालन्धरको रुप धारण गरी पत्नी वृन्दाको सतित्व हरण गरे । अनिमात्र जालन्धरको वध गरियो । यसघटनावाट क्रुद्द र खीन्न भएकी वृन्दाले विष्णुलाई घाँस, रुख, ढुंगा र झार हुनु पर्ने श्राप दिइन् । सो श्रापअनुसार विष्णु क्रमशःकुश, पीपल, शालग्राम र तुलसीको रुपमा पृथ्वीमा उत्पती भएको हिन्दू धर्मशास्त्रमा उल्लेख गरिएको छ । अहिले पनि हामीहरु तुलसी, पिपल, शालग्राम र कुशलाई भगवान् विष्णुको रुप मानी सम्मान गर्छौँ, पूजा गर्छौँ ।

अध्यात्मको आँखामा तुलसी
तुलसी संस्कृत शब्द हो । तुलसीको अर्थ जसको तुलना गर्न सकिँदैन भन्ने हुन्छ । ‘तुलसी त्वं जगत् माता तुलसी त्वं जगत् पिता’’यसरी तुलसीलाई संसारकै आमा र बा भनेर सम्मान बर्साइएको पाउँछौं । तुलसीको मठ हुने घरलाई तीर्थसमान वा देवालय समान मानिएको छ । कार्तिक महिनाभरि सबै देवदेवीले तुलसीमा निवास गर्ने विश्वास गरिन्छ । तुलसीको मठलाई दाहिने पारेर यात्रा गर्दा यात्रा शुभ हुन्छ भनिन्छ । तुलसीको वोटले धेरै अक्सिजन दिने हुनाले मानिस मृत्युको समिप पुगेपछि तुलसीको मठ÷वोटसंगै राख्नाले प्राणान्त हुने बेलामा दुःखकष्ट नहुने र मृत्युपश्चात मोक्षप्राप्त भई उत्तम गति प्राप्त हुने हुने शास्त्रमा वर्णन गरिएको छ । तुलसीले चारसय मीटरसम्म सुगन्ध फैलाउने विश्वास गरिन्छ । नेपाली हिन्दू परम्परामा जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारमा तुलसीको पात र जलको प्रयोग अनिवार्य मानिन्छ । धार्मिक दृष्टिले मात्र होइन ऐतिहासिक र सांस्कृतिक रुपमा पनि तुलसीलाई जीवनदायिनी जडिबुटीको रुपमा लिईन्छ ।

विज्ञानको आँखामा तुलसी
पवित्र तुलसी वनस्पती विज्ञानमा प्रयोग हुने मसिना वा साना फूल भएको भन्ने अर्थ दिने ल्याटिन शब्द Ocimum tenuiflorum हो । यो पुदिना परिवारअन्तर्गत पर्ने अत्यन्तै महत्वपूर्ण र पवित्र वनस्पती हो । हरियो पात भएको राम तुलसी र कालो वा गाढा वैजनी रंगको पात भएको श्याम÷कृष्ण तुलसी गरी दुई प्रकारका तुलसी हुन्छन् । कालो तुलसीलाई औषधीय दृष्टिले बढी प्रभावकारी मानिन्छ । वन तुलसी र कपुर तुलसी लगायत अन्य प्रजाती पनि पाइन्छन् तर घरघरमा रोपिने प्रजातिमा राम र श्याम÷कृष्ण तुलसी नै मुख्य छन् ।

–वन तुलसी वा बावरीः यो सामान्य तुलसीभन्दा अलि ठुलो जङ्गली वा प्राकृतिक रुपमा उम्रने र कडा सुगन्ध भएको प्रजाति हो । यसका पातहरु अलि ठुला, खस्रा, गाढा हरियो रङ्गका हुन्छन् । घरको आँगनमा, मठमा रोपिने सामान्य तुलसीजस्तै वन तुलसी पनि गाउँघरका पाखापखेरा, बारीका कान्ला, जङ्गलको छेउछाउमा प्रसस्त पाइन्छ । ऐतिहासिक रुपमा हाम्रा पूर्वजहरुले यसलाई केवल धार्मिक कार्यमा मात्र नभै पाचन सम्बन्धी, श्वास प्रश्वास र सङ्क्रमण रोगको उपचारमा अचुक जडीबुटीको रुपमा प्रयोग गर्दै आएको पाइन्छ । बावरीको कडा सुगन्धले लामखुट्टे र अन्य हानिकारक किरालाई भगाउन मद्दत गर्छ ।

–आयुर्वेदको आँखामा तुलसीः आयुर्वेदमा तुलसीलाई जडीबुटीको रानी र जीवनको अमृत मानिएको छ । तुलसीका सुगन्धित पातहरुको चिया (हर्वल टी) बनाउन घरेलु उपचारमा प्रयोग गरिन्छ । दैनिक यस्ता प्रकारका चिया पिउँनाले मानसिक थकान हट्छ । हावा शुद्द गर्ने नकारात्मक ऊर्जा हटाउने घरको वातावरण स्वस्थ्य राख्ने वनस्पतिको रुपमा चिनिन्छ ।

एकादशी शरीरलाई भोकै राख्ने दिन मात्र होइन, मन, वचन र कर्मलाई शुद्ध बनाउन सुरु गर्ने प्रस्थानविन्दु पनि हो । तुलसीको मठमा विहान बेलुका जल चढाउने, दीप प्रज्वलन र पूजा गर्ने र वर्षमा एकपटक विवाह गरिदिने धार्मिक प्रचलन केवल धार्मिक आस्थाको प्रतीक होइन, प्रकृति प्रतिको सम्मान मानव चेतनाको जागरण बनोस । ‘ॐ तुलस्यै नम !
(सन्दर्भ सामग्रीः अथर्ववेदाचार्य नारायण घिमिरेको वेदमा विज्ञान, The Nepali Kitchen: our ultimate Dispensary र चेतोनाथ शर्मा आचार्यको हाम्रा धार्मिक चाडपर्व, धार्मिक ग्रन्थ र प्रकाशित लेखहरु ।)