रुपन्देही व्यापार संघद्वारा विभिन्न संस्थाहरुलाई सम्मान

मेचीकाली संवाददाता

२ असार २०८३, मंगलवार
119 shares

बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा विभिन्न संघसंस्थाका पदाधिकारीलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार संघको सचिवालयमा आयोजित उक्त कार्यक्रममा उच्च अदालत बार एशोसिएन बुटवल लगायतका संस्थाहरुलाई सम्मान गरिएको हो ।

संघका अध्यक्ष प्रकाश ढकालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उच्च अदालत वार एशोसिएनको हालै सम्पन्न २१औं अधिवेशनबाट निर्वाचित अध्यक्ष अधिवक्ता माधवप्रसाद घिमिरे, उपाध्यक्ष अधिवक्ता ओमप्रसाद पंगेनी, सचिव अधिवक्ता लोकप्रसाद खरेल, कोषाध्यक्ष अधिवक्ता मिना महत जि.सी., सह सचिब अधिवक्ता निशा कुमारी खरेल एवं सदस्यहरुअधिवक्ता मनोज श्रेष्ठ, अधिवक्ता रामप्रसाद भुसाल, अधिवक्ता चर्तुभुज पन्त, अधिवक्ता दामोदर घिमिरे, अधिवक्ता मुन्नी न्यौपाने, अधिवक्ता बाबुराम न्यौपाने, अधिवक्ता संजिता पौडेल र अधिवक्ता कृष्णा रोकालाई सम्मान गरिएको हो ।

यस्तै सोही कार्यक्रममा भारतीय आर्दश व्यापार मण्डलका नेपाल राष्ट्र अध्यक्षमा नियुक्त भएका संघका संस्थापक महासचिव गोपालप्रसाद अधिकारी तथा नेपाल आयुर्वेद औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशको हालै सम्पन्न तेस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित संघका साधारण सदस्य बाबुराम खनाललाई पनि सम्पन्न गरिएको थियो । यस्तै हालै चितवनमा सम्पन्न फेन्सी व्यावसायीहरुको राष्ट्रिय भेलाबाट उपाध्यक्षमा निर्वाचित संघका कार्यसमिति सदस्य विजय ज्ञवाली र सदस्यमा निर्वाचित संघ अन्तर्गतको फेन्सी वस्तुगत उपसमितिका कोषाध्यक्ष वेगप्रसाद पाण्डेलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसन बुटवलका नवनिर्वाचित अध्यक्ष घिमिरेले व्यापार व्यवसायसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा संघलाई निःशुल्क कानुनी परामर्श तथा बहस–पैरवी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । व्यापार तथा वाणिज्य क्षेत्रसँग सम्बन्धित ऐन–कानुनहरूको अध्ययन गरी आवश्यक संशोधन वा खारेजीका लागि पहल गर्ने उनले बताए ।

यस्तै रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले सम्मानित व्यक्तित्वहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै व्यापार तथा उद्यम क्षेत्रको विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताए । संघका कोषाध्यक्ष अर्जुनप्रसाद भट्टराईले धन्यवाद ज्ञापन तथा महासचिव प्रकाशराज पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।