रेडक्रस सोसाइटी बुटवल उपशाखाको नवनिर्मित भवन उद्घाटन

मेचीकाली संवाददाता

७ असार २०८३, आईतवार
22 shares

बुटवल । नेपाल रेडक्रस सोसाइटी बुटवल उपशाखाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर–५ हाटबजारस्थित भवनको आइतबार बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेयले उद्घाटन गरे ।

सो अवसरमा सोसाइटीले प्रकाशित गरेको स्मारिकाको पनि बिमोचन गरिएको थियो । सो अवसरमा बोल्दै मेयर पाण्डेयले रेडक्रस सोसाइटीका सामाजिक कार्य उत्कृष्ट र प्रशंसायोग्य रहेको चर्चा गरे । सार्वजनिक संस्थाका लागि राज्यले जग्गामा प्रयोग गर उपयोग गर्न दिनुपर्ने बताए । संस्थालाई आवश्यक सहयोगका लागि बुटवल उपमहानगरपालिका तयार रहेको समेत पाण्डेयको भनाइ छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बुटवल उपशाखाका सभापति बेनबहादुर पौडेल क्षेत्रीले १ करोड ३० लाख रुपैयाँको लागतमा संस्थाको भवन निर्माण गरिएको बताए । तीन तले भवन निर्माणको लागि दाताबाट सहयोग स्वरुप ४६ लाख ५० हजार रुपैयाँ उठेको कोषाध्यक्ष डिलबहादुर थापा क्षेत्रीले बताए । सोसाइटीले आर्थिक अनुसासनलाई उच्च प्राथामिकता दिएको बताए ।

सो अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा नगर प्रमुख पुनाराम पोखरेल, स्वयसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्री, स्मारिका प्रकाशन समितिका हिरण्यलाल ज्ञवाली, । नेपाल रेडक्रस सोसाइटीका उपसभापति अप्सरा उपाध्याय, उपसचिव भूवनेश्वर भण्डारी लगायतले बोलेका थिए ।