अमृत गिरी
बुटवल। पछिल्ला वर्षमा देशैभर कृषि–यान्त्रिकरण बढ्दै गएको छ । गोरु पाल्नेहरु हराउँदै जानु, काम गर्ने उमेर समूहका युवाहरु विदेश जानु र गाउँमा खेतारा पाउन छाड्दै गइरहेका बेला जेनतेन कृषि धानिरहेकाहरुले उपकरणको प्रयोग गरिरहेका छन् ।
पछिल्ला समयमा मेसिनले धान रोप्दै, ड्रोनले मल छर्दै र मिनी टिलरले खेत जोत्दै गरेका दृश्यहरु धेरैतिर देखिन थालेका छन् । यस वर्ष राष्ट्रिय धान दिवसका अवसरमा लुम्बिनी प्रदेशका कृषि मन्त्री तुलसीप्रसाद चौधरी र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय स्वयं आधुनिक राइस ट्रान्सप्लान्टर प्रयोग गरेर धान रोप्दै गरेको दृश्य सार्वजनिक भयो । कृषिलाई आधुनिक प्रविधितर्फ लैजानुपर्ने आवश्यकताको प्रतीकका रुपमा यसलाई अर्थाइएको छ । यद्यपि यस्ता मेसिनको प्रयोग गर्न लागेको केही वर्ष भयो तर अहिले तराई–पहाड धेरैतिर उपकरणको प्रयोग बढिरहेको छ ।
कृषि क्षेत्रमा अहिले सबैभन्दा ठुलो चुनौती श्रमिक अभाव, बढ्दो उत्पादन लागत र कम उत्पादकत्व हो । गाउँबाट युवा विदेशिएसँगै खेतमा काम गर्ने हात घटेका छन् । यही अवस्थाले कृषि यान्त्रिकीकरणलाई विकल्प होइन, आवश्यकता बनाइदिएको छ ।
बुटवल मिलनचोकस्थित उपकरणका आधिकारिक डिलर गिरीधारीलाल चौधरीले उपकरणको माग वर्षेनी बढिरहेको र अहिले अभावको अवस्था सिर्जना भएको बताउँछन् । उनले इन्धनको मूल्यवृद्धिले ढुवानीलगायतको समस्या निम्तिएको र अभाव पनि सिर्जना भइरहेको बताए । यहाँ आउने उपकरणहरु प्रायः चीनमा निर्माण भएका उपकरणहरु हुन् । अहिले केही पार्टस्हरु भारतमा पनि उत्पादन हुन थालेको तर त्यो पनि पर्याप्त नभएको डिलरहरु बताउँछन् । चौधरीलाई संघीय सरकारले नै आधिकारिक डिलरका रुपमा तोकेको छ ।
गाउँमा हराउँदै गोरु, बढ्दै मेसिन
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ टाहाटिमका अगुवा कृषक तथा टोलविकास संस्थाका अध्यक्ष खिमबहादुर क्षेत्री भन्छन्,‘अहिले गाउँमा गोरु पाल्नेहरू त लगभग शून्यकै अवस्थामा छन् । अधिकांशले मिनी टिलर र अन्य उपकरणबाटै खेती गर्छन् । कतिपयले त ठुलो ट्याक्टरले समेत खेत जोतेर खेती लगाउन थालेका छन् ।’
बाग्लुङको बडिगाड गाउँपालिकाका दीपक बन र उनकी पत्नी मनिषा थापा बन पनि वर्षौंदेखि साना कृषि उपकरणकै भरमा धेरै रोपनी जमिनमा खेती गर्दै आएका छन् । उनका अनुसार केही वर्षअघिसम्म गाउँभर गोरु पाल्ने चलन थियो । अहिले भने ती गोरु ढोरपाटन र अन्य विकट पहाडी क्षेत्रतिर बिक्री भइसकेका छन् । गाउँमा खेती गर्ने तरिका नै बदलिएको छ ।
धान रोपाइँदेखि कटानीसम्म मेसिन
धान खेती नेपाली कृषिको सबैभन्दा बढी श्रम लाग्ने खेती हो । यही कारण अहिले राइस ट्रान्सप्लान्टरको प्रयोग विस्तार भइरहेको छ । यसले छोटो समयमा धेरै क्षेत्रफलमा समान दूरीमा बिरुवा रोप्न सक्छ । यसबाट श्रम लागत घट्नुका साथै उत्पादन पनि बढ्ने विज्ञहरूको भनाइ छ ।
धान रोप्ने काम मात्र होइन, अहिले धान, गहुँ र अन्य बाली काट्ने, झार्ने तथा दाना छुट्याउने काम पनि एउटै मेसिनबाट हुने गरेको छ । यसले उत्पादन क्षति घटाउनुका साथै किसानको समय र खर्च दुवै बचाइरहेको छ ।
पहाडदेखि तराईसम्म विस्तारिँदै प्रविधि
कृषिको यान्त्रिकीकरण केवल तराईमा सीमित छैन । पहाडी क्षेत्रमा मिनी टिलर, पावर टिलर र सोलार सिँचाइ प्रणाली लोकप्रिय बन्दै गएका छन् । तरकारी, फलफूल, मसला, कफी, अदुवा, बेसार तथा औषधीय जडीबुटी खेतीमा समेत आधुनिक उपकरण प्रयोग हुन थालेको छ । विश्वभर चर्चामा रहेको कृषि ड्रोन८८ पनि नेपालमा विस्तारै भित्रिएको छ । यस वर्ष असार १५ का अवसरमा ड्रोनमार्फत मल छरिएका भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भए । डिलर चौधरीले यस्ता उपकरणहरु अहिले सबैतिरबाट माग आइरहेको बताए ।
स्थानीय उत्पादनमै भविष्य
कृषि क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका देवदहका तिलोचन दाहाल स्थानीय सरकारको भूमिकालाई सबैभन्दा महत्वपूर्ण मान्छन् । उनी भन्छन्,‘प्रत्येक पालिकाले एउटा प्रमुख कृषि उपज छनोट गरेर त्यसको उत्पादन, प्रशोधन र बजारीकरणमा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने हो भने स्थानीय अर्थतन्त्र नै बलियो बन्न सक्छ ।’ उनका अनुसार कृषकलाई कृषि उपकरणमा अनुदान, प्राविधिक सेवा, बिमा, गुणस्तरीय बिउ, सिँचाइ र बजारको सुनिश्चितता दिन सके युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न सकिन्छ ।
यस्तो छ यान्त्रिकरणको तथ्याङ्क
राष्ट्रिय कृषिगणना २०७८ अनुसार नेपालमा ४१ लाख ३० हजार ७ सय ८९ कृषक परिवार रहेका छन् । यी परिवारले २२ लाख १८ हजार ४ सय ९ हेक्टर क्षेत्रफलमा कुनै न कुनै प्रकारका कृषि यन्त्र प्रयोग गरिरहेको तथ्याङ्कले देखाएको छ । यो अघिल्ला आवको तथ्याङ्क हो । यस्ता यन्त्रको प्रयोग वर्षेनी बढिरहेको छ ।
नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले प्रकाशित गरेको पुस्तिकाअनुसार ट्याक्टर, पावर टिलर, थ्रेसर, फलामे हलो, स्यालो ट्युबवेललगायतका उपकरणको प्रयोग निरन्तर बढिरहेको छ ।
केन्द्रले नेपालको भूगोल, खेती प्रणाली र किसानको क्षमताअनुसार प्रयोग गर्न सकिने दर्जनौँ कृषि उपकरण, तिनको अनुमानित मूल्य तथा देशभरका आधिकारिक वितरकहरूको सूचीसमेत सार्वजनिक गरिसकेको छ ।
साना किसानको पहिलो रोजाइ
ग्रामीण क्षेत्रमा सबैभन्दा लोकप्रिय उपकरण मिनी टिलर बनेको छ । पेट्रोलबाट चल्ने मिनी टिलरको मूल्य करिब ५० हजारदेखि १ लाख रुपैयाँ र डिजेलबाट चल्नेको ७५ हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म पर्ने डिलरहरू बताउँछन् । त्यसैगरी व्यावसायिक किसानका लागि १ लाख ७० हजारदेखि २ लाख ३० हजार रुपैयाँसम्म पर्ने पावर टिलर सिफारिस गरिएको छ । धान खेतीका लागि राइस ट्रान्सप्लान्टरको मूल्य ४ लाखदेखि ६ लाख रुपैयाँसम्म पर्छ । यसैगरी डिब्लर, मल्टीक्रप प्लान्टर, पावर विडर, कोनो विडर, न्यापस्याक स्प्रेयर, ब्याट्री स्प्रेयर, रिपर, कम्बाइन हार्भेस्टर, मल्टीक्रप थ्रेसर, राइस मिल, च्याफ कटर, ग्रेन ड्रायरलगायतका दर्जनौँ उपकरण अहिले नेपालमा प्रयोगमा रहेको कृषि विभागको तथ्याङ्कमा छ ।
अनुदानको प्रभावकारिता पनि परीक्षण हुँदै
सरकारले आर्थिक वर्ष २०७२/७३ यता वितरण भएका कृषि तथा पशुपन्छी अनुदानको प्रभावकारिता, पारदर्शिता तथा सम्भावित दुरुपयोगको अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव बद्रीप्रसाद दाहाल संयोजक रहेको कार्यदलमा उपसचिव डा.हरिप्रसाद पण्डित, शिवकुमार शर्मा, वरिष्ठ कृषि अर्थविज्ञ डा.रामकृष्ण श्रेष्ठ तथा शाखा अधिकृत नारायणप्रसाद अधिकारी सदस्य–सचिव रहेका छन् । कार्यदलले वास्तविक लाभग्राही, दोहोरो अनुदान, अनियमितता तथा अनुदान प्रणालीको प्रभावकारिता अध्ययन गरी छ महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ ।
लुम्बिनीमा असार १५ सम्म २१ प्रतिशत मात्रै रोपाइँ
धानको प्रमुख उत्पादन क्षेत्र मानिने लुम्बिनी प्रदेशमा यस वर्ष मनसुन ढिलो सक्रिय हुँदा असार १५ गतेसम्म जम्मा २१ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । अरु समयमा यतिबेला ४० प्रतिशतभन्दा धेरै हुन्थ्यो । कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरेका अनुसार शुक्रबार रातिदेखि वर्षा सुरु भएपछि रोपाइँले गति लिएको छ, यद्यपि कतिपय क्षेत्रमा अझै पर्याप्त पानी पुगेको छैन । निर्देशनालयको तथ्यांकअनुसार १२ जिल्लामध्ये नवलपरासी (पश्चिम) मा सबैभन्दा बढी ५० प्रतिशत रोपाइँ भएको छ, जहाँ २० हजार ८८७ हेक्टरमध्ये १० हजार ४४३ हेक्टरमा धान रोपिएको छ । रूपन्देहीमा ६३ हजार ५५० हेक्टरमध्ये ४३ प्रतिशत (२७ हजार ३२६ हेक्टर) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ भने बाँकेमा ३३ हजार ८७० हेक्टरमध्ये केवल १६८.९ हेक्टर (०.५ प्रतिशत) मा मात्रै रोपाइँ भएको छ ।
कपिलवस्तुमा ६६ हजार २२५ हेक्टरमध्ये १.५८ प्रतिशत, दाङमा १५ प्रतिशत र बर्दियामा १९.३१ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ । पहाडी जिल्लामध्ये प्युठानमा सिँचाइ सुविधा प्रभावकारी भएकाले ८८ प्रतिशत (६ हजार ५२५ हेक्टरमध्ये ५ हजार ७४२ हेक्टर) रोपाइँ सकिएको छ भने पाल्पामा सबैभन्दा कम ४ प्रतिशत, गुल्मीमा ७ प्रतिशत, अर्घाखाँचीमा ११.२ प्रतिशत, रोल्पामा ४० प्रतिशत र रुकुम पूर्वमा २५ प्रतिशत रोपाइँ भएको निर्देशनालयले जनाएको छ । कृषि विकास निर्देशनालयका निमित्त निर्देशक रामप्रसाद पाण्डेले हाल वर्षा सुरु भएकाले विशेषगरी तराईका जिल्लामा अब रोपाइँ तीव्र हुने विश्वास व्यक्त गरेका छन् । प्रदेशमा आर्थिक वर्ष २०८१÷८२ मा १३ लाख ५० हजार ८८० मेट्रिक टन धान उत्पादन भएको तथा औसत उत्पादकत्व प्रतिहेक्टर ४.५२ टन रहेको तथ्यांक छ ।
