अमृत गिरी
बुटवल । रुपन्देहीको दक्षिणी भेग मर्चवारसहित तराई–मधेशका कैयन् गाउँ आज पनि सामाजिक परिवर्तनको कठिन यात्रामा छन् । यहाँ बालविवाह, छोरीलाई कम प्राथमिकता दिने सोच, गरिबी, अशिक्षा र लैङ्गिक विभेदका चुनौतीहरू पूर्ण रूपमा हटिसकेका छैनन् यद्यपि कोसिस जारी छन् । तराईको अन्नभण्डारमा रुपमा रहेको सीमावर्ती यो क्षेत्रमा सिंचाइ, मल, बिउ र उत्पादित कृषि उपजको उचित मूल्यसहितको सहज बजारिकरणका समस्या उस्तै छन् । केही वर्षअघिदेखि मात्रै फराकिला सडक सञ्जालले जोड्ने कोसिस भइरहेको छ भने त्यस्ता कोसिस अझै अधुरा रहेका छन् ।

धेरै परिवारमा छोरीको भविष्य विद्यालयभन्दा विवाहसँग जोडिन्छ । मर्चवारमा रहेर विगत दुई दशकदेखि पत्रकारिता र समाजसेवा गर्दै आएका मर्यादपुरका नागरिक अगुवा राजकुमार धवल भन्छन्,‘समाज रुपान्तरणको कठिन यात्रामा छ मर्चवार, धेरै काम बाँकी नै छन् ।’ यही परिवेशमा एउटी ११ वर्षीया बालिकाले आफ्नो जीवनको दिशा आफैं बदल्ने साहस गरिन् । त्यो साहसले केवल उनको बालविवाह रोकिएन, हजारौं किशोरीको भविष्य पनि बदल्ने अभियानको जग बस्यो । त्यो नाम हो–सुनिता हरिजन ।
तर, सुनिताको सफलताको कथा केवल एउटी किशोरीको विद्रोहको कथा होइन । यो एउटा शिक्षिकाको विश्वास, केही सामाजिक संस्थाको दीर्घकालीन लगानी, समुदायमा गरिएको निरन्तर संवाद र सामाजिक रूपान्तरणको सामूहिक यात्राको कथा पनि हो । सुनिताजस्ता किशोरीहरुलाई यस्तो अभियानमा जोड्ने मर्चवारकी एक अगुवा महिला दुलारमतिको साहशले अहिले सार्थकता पाउँदैछ ।
११ वर्षमै रातो साडीले दिएको पीडा
लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहानाकी सुनिता हरिजन पाँच कक्षामा पढ्दै थिइन् । उमेर केवल ११ वर्ष पुगेको थियो तर परिवारले उनको विवाह तय गरिसकेको थियो । घरमा बेहुलीका लागि रातो साडी किनियो । विवाहको तयारी सुरु भयो । आज पनि रातो साडी देख्दा सुनिताको मन झस्किन्छ । ‘अरूका लागि रातो साडी खुसीको प्रतीक होला, मेरो लागि त्यो मेरो सपना खोसिन लागेको दिनको सम्झना हो ।’ उनी पढ्न चाहन्थिन् । आठ सन्तानमध्येकी एक छोरी सुनिताले त्यो नियति स्वीकारिनन् ।
सुनिताको जीवन बदल्ने पहिलो महिलाः दुलारमति यादव
हरेक सफल व्यक्तिको यात्रामा कुनै न कुनै मार्गदर्शक हुन्छ । सुनिताको जीवनमा त्यो भूमिका निभाइन् दुलारमति यादवले । विद्यालय छोडेर घरमै बसेकी सुनितालाई उनले पहिलोपटक भेटिन् । उनको आँखामा पढ्ने चाहना देखिन् । त्यसपछि सुरु भयो एउटा असाधारण प्रयास । सुनिताका बुवाआमा सुरुमा भेट्नै तयार भएनन् । दुलारमतिले पटकपटक घर पुगिन्, सम्झाइन् । छलफल गरिन् । अन्ततः एउटा बैठक बस्यो । त्यही बैठकमा सुनिताले पहिलोपटक आफ्नो आवाज उठाइन्,‘म बिहे गर्दिनँ, म पढ्न चाहन्छु ।’ बुवाआमाले तुरुन्त मानेनन् । लामो छलफलपछि एउटा सम्झौता भयो–एक वर्ष विवाह रोकिने तर सर्त थियो–घरको सम्पूर्ण काम, खेतको काम, गाईगोठ, मजदुरी सबै गरेर मात्रै पढ्न पाइने । सुनिताले त्यो पनि स्वीकारिन् । आज दुलारमति भन्छिन्,‘सुनिताको बुवाआमा पढ्नुभएको थिएन । धेरै सम्झाएर विद्यालय पठाएका हौं । सानैमा विवाह रोक्यौं । आज उनी हजारौं किशोरीको नेता बनेकी छन् । त्यो देख्दा निकै गर्व लाग्छ ।’
‘उडान’ जसले दियो नयाँ जीवन
एक वर्षपछि सुनिता ‘उडान’ कार्यक्रममा जोडिइन् । यो कार्यक्रम केयर नेपाल र ओरेक नेपाललगायतका गैरसरकारी संस्थाहरूको सहकार्यमा सञ्चालन भएको थियो । उडानले उनलाई अक्षर मात्रै सिकाएन, त्यहाँ उनले बालविवाह, विभेद र हिंसा कानुनी अपराध हो भन्ने पनि सुनिन, जानिन् र त्यस्तो भोग्नेलाई उद्धार गर्नुपर्छ भनेर अठोट गरिन् । किशोरीका पनि अधिकार हुन्छन् । छोरी र छोरा बराबर हुन् । जन्मदर्ता, शिक्षा र आत्मनिर्णयको अधिकार के हो भन्ने बारेमा सुनिता जानकार बनिन् ।
विद्रोहको निर्णायक क्षण
एक वर्ष बित्यो । परिवारले फेरि विवाहको तयारी ग¥यो तर यसपटक सुनिता पहिलेजस्ती थिइनन् । उनी कानुन बुझिसकेकी थिइन् । उनले परिवारलाई स्पष्ट भनिन्,‘जबर्जस्ती बिहे गर्नुभयो भने म प्रहरीमा उजुरी हाल्छु, तपाइँहरु सबै थुनिनुपर्छ ।’ यही एउटा वाक्यले उनको जीवन बदलिदियो । परिवार पछि हट्यो । बिस्तारै बुवाआमा पनि उनको पक्षमा उभिए । बाबा ५२ वर्षीय बेकारु हरिजन (चमार), आमा ४५ वर्षीया निर्मला हरिजनसहित दिदी र दाइहरु सुनिताको कुरामा सामेल भएका छन् ।
पीडालाई अभियानमा बदल्ने निर्णय र ३,५०० किशोरीको अभिभावक
२०७४ सालदेखि उनी किशोरी अधिकार मञ्चमा सक्रिय भइन् । २०७५ सालमा संस्था दर्ता भयो । उनी उपाध्यक्ष बनिन् । पछि अध्यक्षको जिम्मेवारी सम्हालिन् । आज रुपन्देही र कपिलवस्तुमा ३,५०० भन्दा बढी किशोरी विभिन्न सञ्जालमा आबद्ध छन् । मर्चवार क्षेत्रमा मात्रै करिब ७०० किशोरी प्रत्यक्ष रूपमा संगठित छन् । दर्जनौं बालविवाह रोकिएका छन् । विद्यालय छोडेका धेरै किशोरी पुनः पढाइमा फर्किएका छन् । मायादेवी र सम्मरमाइ गाउँपालिकामा विशेष अभियान सञ्चालनमा छ । तराई मधेशमा मात्रै करिब पाँच लाख किशोरीहरु यस्तो अभियानमा सामेल भएको केयर नेपालका सहजकर्ता नवराज शर्माको भनाइ छ ।
शिक्षा मात्रै पर्याप्त हुँदैन भन्ने बुझेर सुनिताले किशोरीलाई आर्थिक रूपमा सक्षम बनाउने अभियान पनि अघि बढाइन् । दिदीबहिनी परियोजनासँग सहकार्य गरेर सीपमूलक तालिम, नेतृत्व विकास, आत्मनिर्भरता, आत्मविश्वास र आर्थिक सशक्तीकरण जस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् ।
घरबाटै सुरु भएको परिवर्तन र अबको यात्रा
कुनै बेला छोरी बिग्रिई भन्ने दाजुहरू, आज उनलाई मोटरसाइकलमा कार्यक्रम पु¥याउँछन् । कुनै बेला विरोध गर्ने बाबुआमा, आज उनको सबैभन्दा ठुलो शक्ति बनेका छन् । कुनै बेला आलोचना गर्ने समाज, आज आफ्ना छोरीलाई भन्छ–‘सुनिता जस्तै बन्नू ।’ यति ठूलो उपलब्धिका बाबजुद सुनिता भन्छिन्,‘बालविवाह सकिएको छैन । धेरै किशोरी अझै विद्यालय बाहिर छन् । घरभित्र हिंसा छ । गरिबी छ । विभेद छ ।’ हरेक पालिकामा बलियो किशोरी सञ्जाल गर्ने उनको योजना छ ।
