बुटवलमा बृहत् रक्तदान कार्यक्रम, २२२ यूनिट रगत संकलन

मेचीकाली संवाददाता

२२ असार २०८३, सोमबार
56 shares

बुटवल । मानव जीवन बचाउने उद्देश्यका साथ बुटवलमा आयोजित बृहत् रक्तदान कार्यक्रममा २२२ यूनिट रगत संकलन भएको छ । एमआरआर समूह बुटवलको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी, युवा, स्वयंसेवक तथा सर्वसाधारण नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक प्रतीक खनालले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, सुझाव र सहभागिता जनाउने सबैको योगदानकै कारण २२२ पिन्ट रगत संकलन गर्न सम्भव भएको बताए । उनले सबै रक्तदाता, सहयोगी संस्था, स्वयंसेवक, सञ्चारकर्मी तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरे । कोभिड–१९ महामारीपछिको अवधिमा यो उल्लेखनीय रक्त संकलनमध्ये एक भएको उनले दाबी गरे । अस्पतालहरूमा रगतको अभाव भइरहने अवस्थामा यस्ता अभियानले बिरामीको जीवन बचाउन महत्वपूर्ण योगदान पु¥याउने आयोजकको विश्वास छ ।

रक्तदान कार्यक्रम बुटवलको अमरपथ र तिलोत्तमाको शंकरनगरमा एकसाथ सञ्चालन गरिएको रक्तदान कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालबाट भरत जंग क्षेत्री नेतृत्वको टोली तथा रक्त सञ्चार केन्द्रबाट आशेष सिलवाल नेतृत्वको टोलीको प्राविधिक सहयोग रहेको थियो ।
कार्यक्रममा कमल सापकोटा, युवराज पाण्डे, सन्तोष न्यौपाने, ईश्वर भट्टराई, सन्तोष भण्डारी, अभिनाश अर्याल, सन्दीप भण्डारीलगायतले सहजीकरण गरेका थिए । रक्तदानले कुनै धर्म, जात वा वर्ग हेर्दैन । एउटा सानो निर्णयले कसैको जीवन बचाउन सक्छ । त्यसैले ‘रक्तदान गरौं, जीवन बचाऔं’ भन्ने अभियानलाई निरन्तरता दिनु आजको आवश्यकता हो ।