बुटवल । उपभोक्ता हित संरक्षण मञ्च, रूपन्देहीले पकाउने एलपी ग्यासको कृतिम अभाव र कालोबजारी नगर्न सम्बन्धित व्यवसायी तथा विक्रेतालाई आग्रह गरेको छ । मञ्चले नेपाल आयल निगमले बजारमा ग्यास सहज छ भनिरहे पनि उपभोक्तालाई सास्ती दिने तथा कृत्रिम अभाव सिर्जना गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
ग्यासको मौज्दात लुकाउने, तथा उपभोक्तालाई अनावश्यक दुःख दिने कार्य कानुनविपरीत भएकाले त्यस्ता गतिविधि तत्काल रोक्न उपभोक्ता हित संरक्षण मञ्च, रूपन्देही अध्यक्ष समुन्द्र जिसीले आग्रह गरे ।
अहिले देशभर ग्यासको कृतिम अभाव देखिएको छ । बजारमा देखिने कुनै पनि अस्वाभाविक गतिविधिमाथि सम्बन्धित सरकारी निकायले प्रभावकारी अनुगमन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न पनि मञ्चले माग गरेको छ ।
मञ्चले उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न, हल्लाको पछि नलाग्न तथा कुनै व्यवसायीले बढी मूल्य लिएमा वा कालोबजारी गरेको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न अनुरोध गरेको छ ।
उपभोक्ताको सहज आपूर्ति, उचित मूल्य र बजार अनुशासन कायम गर्नु सबै पक्षको साझा जिम्मेवारी भएको उल्लेख गर्दै मञ्चले ग्यास व्यवसायीलाई जिम्मेवार र पारदर्शी ढंगले कारोबार गर्न आग्रह गरेको छ । साथै बजारमा उपभोग्य वस्तुको सहज आपूर्ति र उपभोक्ताको अधिकार संरक्षणका लागि सरोकारवाला सबै निकायबीच समन्वय आवश्यक रहेको अध्यक्ष जिसीको भनाइ छ ।
