कति छ सङ्कटग्रस्त क्षेत्रको जनसङ्ख्या ?

भोटेकोशीको बाढीले पाँच जिल्लाका १५ पालिका विपद् सङ्कटग्रस्त क्षेत्रमा, सडक–पुलदेखि विद्यालय र जलविद्युत् आयोजनासम्म ठुलो क्षति पु¥याएको छ । हिमाली सुनामीले यी क्षेत्र मात्रै होइन, सिङ्गो मुलुक शोकमा छ । मुलुकका धेरै जिल्लाका पर्यटक, कर्मचारीहरु बाढीमा परेर मारिएका छन्, बेपत्ता भएका छन् तर यी सबैको यकिन विवरण अझै आउन बाँकी छ ।

मेचीकाली संवाददाता

१३ भाद्र २०८३, शनिबार
9 shares

अमृत गिरी

बुटवल । भोटेकोशी–ल्हेन्दे क्षेत्रमा आएको विनाशकारी बाढीले नेपालको हिमाली तथा नदी किनारको भूगोलमा ठुलो मानवीय र भौतिक सङ्कट निम्त्याएको छ । बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका नदी किनारका बस्ती, सडक, पुल, बजार, सरकारी तथा निजी संरचना र जलविद्युत् आयोजनामा क्षति पु¥याएपछि सरकारले पाँच जिल्लाका १५ स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।

सङ्कटग्रस्त स्थानीय तहमा रसुवाका उत्तरगया, गोसाइकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका छन् । नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिका समेटिएका छन् । धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ, गोरखाको गण्डकी तथा तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिका पनि सङ्कटग्रस्त क्षेत्रमा परेका छन् । बाढीको प्रभाव केवल भोटेकोशीको तत्कालीन तटीय क्षेत्रमै सीमित नभई त्रिशूली र पृथ्वी राजमार्ग करिडोर हुँदै तल्लो तटीय र मुलुकका धेरै क्षेत्रसम्म फैलिएको छ ।

कति घर भए क्षतिग्रस्त ?
बाढीबाट सङ्कटग्रस्त घोषित पालिकाहरूमा ठुलो जनसंख्या बसोबास गर्छ । करिब ७२ हजार ५ सय घरधुरी ती पालिकामा रहेका कुल घरधुरीको आधारभूत तथ्याङ्क हो । बाढीबाट क्षतिग्रस्त घरधुरीको संख्याको यकीन विवरण सार्वजनिक भएको छैन । सरकारले अझै घर, जग्गा तथा सार्वजनिक संरचनाको क्षतिको एकीकृत अन्तिम विवरण सार्वजनिक गरेको छैन ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा निजी तथा सार्वजनिक जग्गामा भएको क्षति यकिन गर्न नापी विभागलाई स्थलगत अध्ययन तथा ‘डिजास्टर म्यापिङ’ को जिम्मेवारी दिने निर्णय गरेको छ । सङ्कटग्रस्त क्षेत्रका घर तथा जग्गाको वास्तविक क्षति विवरण संकलन सुरु भएको छैन ।

सडक र पुलको क्षति भयावह
घरधुरीको क्षतिको यकिन विवरण आउन बाँकी भए पनि भौतिक पूर्वाधारमा भएको क्षतिको प्रारम्भिक तस्वीर भने निकै गम्भीर छ । सडक विभागका अनुसार रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा बाढीले २२ वटा पक्की पुल र पाँचवटा बेलिब्रिज बगाएको छ । नुवाकोटको बेत्रावतीदेखि रसुवागढी नाकासम्मको करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक विवरण छ । सरकारले बेलिब्रिज पुल निर्माणका लागि छिमेकी मुलुकहरुसँग सहयोग पनि माग गरेको छ ।
त्रिशूली, बेत्रावती, तादी खोला र गल्छीलगायतका नदी तथा खोलामाथिका पुलहरू बगेपछि यातायात र उद्धार कार्यसमेत प्रभावित भएको छ । विभिन्न स्थानमा झोलुङ्गे पुलमा पनि क्षति पुगेको विवरण छ । यसले उत्तरी सीमा नाका, पहाडी बस्ती र पृथ्वी राजमार्गसँग जोडिएको महत्वपूर्ण यातायात सञ्जाललाई एकैपटक प्रभावित बनाएको छ ।

जलविद्युत् क्षेत्रमा पनि ठुलो धक्का, सुरुङमा फसेकाहरु उद्धारको पर्खाइमा
भोटेकोशी बाढीले सडक र पुलमा मात्र होइन, जलविद्युत् क्षेत्रमा समेत ठुलो क्षति पु¥याएको छ । प्रारम्भिक विवरणअनुसार ४३१.१ मेगावाट क्षमताका १२ जलविद्युत् आयोजना बन्द भएका थिए । दर्जनौँ आयोजना, प्रसारणलाइन तथा त्यहाँ कार्यरत कर्मचारीसमेत प्रभावित भएका छन् ।
हिमाली नदी प्रणालीमा जलविद्युत् आयोजना, सडक र बस्ती एकै करिडोरमा विकास भइरहेका कारण एउटा ठूलो प्राकृतिक घटनाले एकैपटक ऊर्जा, यातायात, व्यापार र स्थानीय अर्थतन्त्रमा असर पार्ने जोखिम यस घटनाले उजागर गरेको छ । त्रिशुली नदीका विभिन्न ठाउँमा जलविद्युत केन्द्र सञ्चालनमा छन् । यीमध्ये अधिकांश क्षतिग्रस्त भएका छन् । त्रिशूली–३ ‘ए’ को सुरुङभित्र कैयौं मजदुरहरु फसिरहेको र उद्धारको पर्खाइमा रहेको बताइएको छ ।

विद्यालय र सञ्चार संरचना पनि प्रभावित
बाढीबाट शिक्षा र सञ्चार पूर्वाधार पनि अछुतो रहेनन् । प्रारम्भिक विवरणअनुसार रसुवा, नुवाकोट र धादिङमा २० विद्यालयमा क्षति पुगेको विवरण सार्वजनिक भएको छ । त्यस्तै सञ्चार संरचनामा समेत क्षति पुगेको छ । प्रारम्भिक विवरणमा रसुवा र नुवाकोटका सातवटा नेपाल टेलिकम टावरमा क्षति पुगेको उल्लेख छ । सञ्चार अवरुद्ध हुँदा उद्धार, खोजी र परिवारसँग सम्पर्क स्थापनाको काम झन् कठिन बनेको थियो । यसले विपद्का बेला सडक र विद्युत् मात्र होइन, सञ्चार पूर्वाधार पनि जीवनरक्षाको आधारभूत संरचना भएको देखाएको छ ।

सरकारी कार्यालयमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी
सङ्कटग्रस्त १५ पालिकामा मुख्य गाउँ/नगर कार्यपालिका कार्यालय र ११४ वडा कार्यालय रहेका छन् । यी मध्ये केकति क्षतिग्रस्त भए भन्ने तथ्यांक सार्वजनिक भएको छैन । १५ पालिकाभरिका सरकारी कार्यालयमध्ये कति पूर्ण क्षति, कति आंशिक क्षति र कति सुरक्षित छन् भन्ने एकीकृत सरकारी विवरण सार्वजनिक भइसकेको छैन । रसुवामा भने स्थानीय तहका प्रशासनिक भवन, प्रहरी कार्यालय, सीमा क्षेत्रका सुरक्षा संरचना तथा भन्सार क्षेत्र प्रभावित भएको विवरण सार्वजनिक भएका छन् ।

भौतिक विनाशसँगै मानसिक सङ्कट
बाढीको क्षति घर, सडक, पुल र बजारमा मात्र सीमित हुँदैन । आफन्त गुमाएका, सम्पत्ति गुमाएका र आफ्नै आँखाअगाडि बस्ती विनाश भएको देखेका मानिसमा लामो समयसम्म मानसिक आघात रहन सक्छ । अचानक आएको बाढीले सुरक्षित ठाउँ खोज्न नपाएका मानिसमा डर, बेचैनी, निद्रामा समस्या, दुःस्वप्न तथा घटनाको स्मृति बारम्बार आउने समस्या देखिन सक्छ । कतिपयमा पोस्ट–ट्राउमाटिक स्ट्रेस डिसअर्डर (पिटिएसडी) समेत विकसित हुन सक्छ । त्यसैले विपद्पछिको पुनःस्थापना भनेको राहत सामग्री बाँडेर सकिने विषय होइन । सुरक्षित आवास, स्वास्थ्य सेवा, खानेपानी र खाद्यान्नसँगै मनोसामाजिक सहयोग, बालबालिकाको शिक्षामा पुनःस्थापना र परिवारको सामाजिक पुनःएकीकरणलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने मनोविद् ओम बानियाँको सुझाव छ ।

पाँच जिल्लाका १५ पालिकामा करिब ३ लाख जनसंख्या
रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका त्रिशूली–भोटेकोशी तथा पृथ्वी राजमार्ग करिडोरसँग जोडिएका १५ पालिकामा कुल २ लाख ९९ हजार ७३६ जनसंख्या र ७२ हजार ५३५ घरधुरी रहेका छन् । यी पालिकामा ११४ वटा वडा छन् । यो जनसंख्या विसं.२०७८ को जनगणनाको हो । यो क्षेत्र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण भएकाले हजारौंको संख्यामा पर्यटकहरु गएको अनुमान छ । यहाँ पर्यटकलाई लक्षित गरेर सयौं होटलहरु सञ्चालनमा छन् । जनैपूर्णिमालाई लक्षित गरेर गोसाइँकुण्ड जाने मुख्य बाटो र मानसरोवार जाने एक प्रमुख मार्ग पनि यहीँ रहेकाले अहिले हजारौंको संख्यामा पर्यटकहरु यता गएको अनुमान छ ।

०७८को तथ्यांकअनुसार नुवाकोटको विदुर नगरपालिका सबैभन्दा बढी जनसंख्या भएको पालिका हो, जहाँ ५४ हजार ३५० जनसंख्या र १४ हजार २०० घरधुरी छन् । त्यसपछि बेलकोटगढीमा ३६ हजार ७४४ जनसंख्या र ९ हजार ५०० घरधुरी, धादिङको बेनीघाट रोराङमा ३३ हजार ८५४ जनसंख्या र ७ हजार ९०० घरधुरी, गजुरीमा २८ हजार ६३४ जनसंख्या र ६ हजार ८०० घरधुरी तथा गल्छीमा २३ हजार ७३३ जनसंख्या र ५ हजार ९७५ घरधुरी रहेका छन् ।

त्यस्तै सिद्धलेकमा २१ हजार ३७०, गण्डकी गाउँपालिकामा २० हजार ७९८, आँबुखैरेनीमा २२ हजार २६४, तारेश्वरमा १४ हजार ७३२, देवघाटमा १४ हजार १८६, कालिकामा १० हजार ११५, उत्तरगयामा ८ हजार ५५५, गोसाइकुण्डमा ७ हजार ७८८ र आमाछोदिङमोमा ६ हजार ६७३ जनसंख्या रहेको छ । यी पालिकाका प्रमुख बस्तीहरू विदुर, त्रिशूली बजार, देवीघाट, कुमरी, छहरे, गल्छी बजार, बैरेनी, गजुरी बजार, मलेखु, विशालटार, चरौंदी, जोगिमारा, घ्याल्चोक, देवघाट धाम र आँबुखैरेनी बजारलगायत हुन् ।