शवका तस्बिरमा आफन्तको अनुहार खोजिरहेका परिवार

मेचीकाली संवाददाता

१६ भाद्र २०८३, मंगलवार
2 shares

प्रकाश आचार्य

बुटवल । मनभरि पीडा, थकानले गलेका खुट्टा र काँपेको शरीर लिएर प्यूठानको गौमुखी गाउँपालिका–३ खराकी खिमा बुढा भाइको खोजीमा बुटवलसम्म आइपुगेकी छन् । खिमाका भाइ बोमबहादुर बुढा रसुवागढी हाइड्रोपावरमा हेल्परको रूपमा कार्यरत थिए । भदौ १० गते बुधबार बिहान घर जाने भनेर बोमबहादुर त्यहाँबाट हिँडेका थिए । त्यसपछि भोटेकोशीमा एक्कासि आएको विनाशकारी बाढीपछि बोम अहिलेसम्म परिवारको सम्पर्कमा छैनन् । बाबुआमाको सहारा एक्लो भाइ सम्पर्कविहीन भएपछि खिमाका आँसु रोकिएका छैनन् ।

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा बाढीमा परी मृत्यु भएका मृतकको शव पहिचान कक्षमा रहेका तस्विरहरु नियालिन् उनले तर भाइको फोटो देखिनन् । भाइ अझै जिउँदो छ कि भन्ने झिनो आशा खिमाले पालेकी छन् । रसुवा तथा भोटेकोशी नदीमा आएका बाढीका कारण सम्पर्कविहीन बोमबहादुरको खोजी र पहिचानका लागि बुटवल आइपुगेकी खिमा दर्दनाक र पीडादायी तवरले अस्पतालमा राखिएको शवको फोटो नियालिन् तर भाइको शव देखिनन् । उनी केहीबेर निशब्द भइन् । ‘परिवारको सहारा भाइ बेपत्ता भएपछि अहिले खोजीको लागि हिँडेकी छु । अझैसम्म कतै केही पत्ता लागेको छैन । भाइको कि सास कि लास भए पनि चाहियो,’ उनले भनिन् । २६ वर्षका बोमबहादुर दुई वर्षअघि मात्रै विवाह गरेका थिए । श्रीमती बुटवल बसेर पढ्दै आएकी छन् ।

रूपन्देहीको शुद्धोधन गाउँपालिका–३ का निराजन पंगेनी नेपाल विद्युत् प्राधिकरण रसुवाको चिलिमे त्रिशुली २२० ‘केभिए’ प्रसारण लाइनमा इन्जिनियरको रूपमा कार्यरत थिए । ३६ वर्षका निराजन रसुवामा बुधबार बाढी आएपछि सम्पर्कविहीन छन् । उनका दाजु गोविन्द दैनिक रूपमा बुटवलको प्रादेशिक अस्पतालमा आएर शव हेरिरहन्छन् । उनले चितवन, पोखरा, दमौली र काठमाडौंसम्म पुगेर पनि खोजे तर कतै केही पत्तो पाएनन् । ‘अस्पतालमा शव आउँछन्, दैनिक हेरिरहेको छु, आएका शव पनि चिन्न गाह्रो रहेछन्,’ गोविन्द भन्छन्,‘बुटवल आएका शवमध्ये भाइको जस्तो लाग्दैन । सास कि लास भए पनि देख्न पाए हुन्थ्यो,’ उनी भन्छन् । निराजन ९ वर्षदेखि चिलिमेमा कार्यरत थिए ।

बाँकेको महेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.लालमणि आचार्य मानसरोवार (मानसरोवर) कैलाश यात्रामा निस्केका बेला बेपत्ता भएका आफ्ना भतिज र बुहारी डा. विमल आचार्य र सुस्माको खोजी गर्दै बुटवल आइपुगेका छन् । प्यूठानको माण्डवी गाउँपालिका वडा नम्बर ४ का ५९ वर्षका विमलको परिवार हाल काठमाडौं चाबहिल बस्दै आएका थिए । भदौ ९ गते विमल र सुस्मा मानसरोवरको यात्रामा निस्केका थिए र १० गते बिहान रसुवागढी नाकासम्म पुगेका थिए । त्यसपछि विमल र सुस्मा सम्पर्कविहीन छन् ।

बाढीमा परेर भाइबुहारी बेपत्ता भएका छन् । जिउँदो–मर्दो अझै थाहा छैन । उनी पनि कि लास चाहियो कि सास चाहियो भन्दै कपिलवस्तु, भैरहवा हुँदै शव राखिएका अस्पतालमा धाइरहेका छन् । कतै पत्ता लागेको छैन । गोरखाको पालुङटार नगरपालिका–५ का सुनील क्षेत्री पनि परिवार र गाउँलेको शव खोज्दै बुटवल आइपुगेका छन् । उनको गाउँबाट भदौ १० गते गोसाइँकुण्ड जाने क्रममा बाढीमा परेर ३६ जना सवार ग २ ख ११५२ नम्बरको बस बेपत्ता भएको थियो । उनीहरू काठमाडौंदेखि यहाँसम्म आइपुगेका हुन् । ‘सबै ठाउँमा गए पनि शव पहिचान हुन सकेका छैनन् । अधिकांश शवहरू गलेकाले पहिचान हुन गाह्रो भएको छ । आफन्त भेट्टाउन सकिएन,’ क्षेत्री भन्छन् । सरकारले कम्तीमा बस ढलेको ठाउँमा खोजी गरिदिए हुन्थ्यो । तर, त्यहाँ गहिरो खोच भएकाले खोज्न सम्भव छैन भन्ने कुरा भएको छ,’ उनले भने । माथिका केही प्रतिनिधि पात्र मात्र हुन् ।

रसुवागढी बाढीमा परेर बेपत्ता भएकाहरूका आफन्त दैनिक बुटवल आइरहेका छन् । प्रादेशिक अस्पतालको पोस्टमार्टम विभाग परिसरमा यतिबेला कारुणिक दृश्य देखिन्छ । भोटेकोशीको बाढीमा हराइरहेका आफन्तको खोजी र शव पहिचानका लागि बुटवल आइपुगेका परिवारका सदस्य र आफन्तहरू अस्पतालमा शवका फोटाहरू नियाल्दै भक्कानिन्छन् । पोस्टमार्टम ब्लक बाहिर राखिएका फोटाहरू धेरै चिन्नै नसकिने अवस्थाका छन् । बाढी र लेदोका कारण अधिकांश शव क्षतविक्षत भएकाले अनुहारबाट पहिचान गर्न असम्भवप्रायः बनेको त्यहाँ कार्यरत कर्मचारी बताउँछन् । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले २५ वटा शव राखिएको छ । त्यसमध्ये एउटा शवको पहिचान गरी आफन्तलाई बुझाइएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) निशान्त श्रीवास्तवले जानकारी दिए ।

पहिचान हुनेमा गोर्खाको पालुङटार नगरपालिकाकी २८ वर्षीया शमी कुमाल रहेकी छिन् । उनको शव पश्चिम नवलपरासीको त्रिवेणीबाट फेला परेको थियो । बुटवलमा अहिले दैनिक आफन्तको शव खोजीमा आउनेहरू धेरै छन् । नारायणी नदीको नवलपरासीको सुस्ता र देवचुली क्षेत्रमा भेटिएका शवहरू अहिले बुटवलको प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताल र कपिलवस्तुका जिल्ला अस्पतालमा पनि राखिएका छन् । प्रादेशिक अस्पतालले शव धेरै आएपछि मर्चरी निर्माण कार्य बढाएको छ ।