विपद्ले सिकाएको पाठ: विकासको मोडल नै परिवर्तन गर्नुपर्छ

मेचीकाली संवाददाता

१६ भाद्र २०८३, मंगलवार
44 shares

देवीराम बन्जाडे

अब नेपालमा विपद् असामान्य घटना मात्र रहेन । हरेक वर्षजसो बाढी आउँछ । पहिरो जान्छ । डुबान हुन्छ । आगलागी हुन्छ । हिमाली क्षेत्रमा हिमपहिरो र हिमताल विस्फोटको जोखिम छ । भूकम्पको जोखिम त सधैँ छँदैछ । पछिल्ला वर्षमा अत्यधिक वर्षा, खडेरी र गर्मीको असर पनि बढिरहेको छ । यसले एउटा गम्भीर प्रश्न उठाएको छ । के नेपालले विकासको पुरानै ढाँचा निरन्तरता दिन सकिन्छ ?

यो प्रश्न विपद् व्यवस्थापनको मात्र प्रश्न होइन । यो नेपालको विकास नीतिसँग जोडिएको प्रश्न हो । सडक कहाँ बनाउने ? बस्ती कहाँ बसाल्ने ? सहर कसरी विस्तार गर्ने रु पहाडमा बाटो कसरी खोल्ने ? पुल कस्तो बनाउने ? घर कस्ता बनाउने ? खेती प्रणाली कस्तो हुने ? यस्ता सबै प्रश्नलाई अब विपद्को जोखिमसँग जोडेर हेर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
नेपालमा विपद् आउँदा प्रायः हामी त्यसलाई प्राकृतिक घटना भन्ठान्छौँ । ठूलो पानी पर्योे । पहिरो गयो । नदीमा बाढी आयो । घर बगायो । बाटो भत्कियो । अनि हामी भन्छौँ, ‘प्रकृतिको प्रकोप हो ।’ प्राकृतिक जोखिम आफैँमा विपद् होइन । जोखिम भएको ठाउँमा मानिस, घर, सडक, पुल, विद्यालय, बजार र अन्य संरचना पुगेपछि जोखिम अव ठूलो क्षतिमा बदलिन्छ । कमजोर संरचना थपिएपछि क्षति अझ बढ्छ । त्यसैले विपद्को एउटा ठूलो हिस्सा हाम्रो विकासको ढाँचासँग पनि जोडिएको छ ।

विश्व बैंकका अध्ययनहरूले नेपाललाई भूकम्प, बाढी, पहिरो, खडेरीलगायत धेरै प्रकारका जोखिम एकैपटक रहेको देशका रूपमा चित्रण गरेका छन् । नेपालको भौगोलिक बनावटका कारण एउटै क्षेत्रमा पनि विभिन्न जोखिम एकअर्कासँग जोडिन सक्छन् । त्यसैले अबको प्रश्न ‘विपद् आयो भने के गर्ने ?’ मात्र हुनु हुँदैन । प्रश्न ‘विपद् आउँदा पनि नढल्ने विकास कसरी गर्ने ?’ भन्ने हुनुपर्छ ।
नेपालको भूगोल नै विकासको पहिलो आधार हो । नेपाललाई सानो देश भनेर मात्र बुझ्नु पर्याप्त हुँदैन । यसको भौगोलिक विविधता अत्यन्त ठूलो छ । तराईमा समथर भूभाग छ । चुरे क्षेत्रमा कमजोर भौगर्भिक संरचना छ । पहाडमा भिरालो जमिन छ । हिमाली क्षेत्रमा अत्यधिक उचाइ र कठोर मौसम छ । केही किलोमिटरको दूरीमै भूगोल र हावापानी ठूलो रूपमा परिवर्तन हुन्छ ।

नेपालका ठूला नदी प्रणालीहरू हिमाल र पहाड हुँदै तराईतर्फ झर्छन् । नेपालमा मनसुनको ठूलो हिस्सा केही महिना (साउन र भदौ) मा केन्द्रित हुन्छ । यही कारण पानी नेपालका लागि स्रोत पनि हो । जोखिम पनि हो । यसलाई बुझेर विकास योजना बनाउनु आवश्यक भएको छ ।
आजपनि हामीले व्यवहारमा धेरैपटक भूगोललाई चुनौतीका रूपमा मात्र हेरेका छौँ । पहाड छ भने काटेर सडक बनाउने, नदी छ भने पुल हाल्ने, खोला छ भने साँघुरो बनाउने र समथर ठाउँ भेटिएपछि बस्ती विस्तार गरिहाल्ने । यही व्यवहारका कारण त्यस ठाउँको प्राकृतिक प्रणालीलाई कति असर पर्छ भन्ने कुराको हेक्का नै नरहने गरेको छ ।

नेपालको विकासमा सडकको भूमिका ठूलो छ । सडक नहुँदा गाउँ बजारसँग जोडिँदैन । बिरामी अस्पताल पुग्न सक्दैन । किसानले उत्पादन बजार सम्म पुर्यानउन सक्दैन । विद्यार्थीलाई विद्यालय पुग्न कठिन हुन्छ । त्यसैले सडक आवश्यक छ । तर सडक बनाउने तरिका अझ महत्वपूर्ण छ । पहाडमा डोजर लगाएर बाटो खोल्नु मात्र सडक विकास होइन । पहाडको भौगोलिक अवस्था नबुझी काटिएको सडकले वर्षायाममा पहिरो निम्त्याएको छ । पहिरोले पानीको प्राकृतिक बहाव रोक्किन गई तल्लो तटीय बस्तीमा थप जोखिम सिर्जना भएको छ । यसको अर्थ सडक नबनाउने भन्ने होइन । सडक बनाउँदा पहाडको प्रकृति बुझेर बनाउनुपर्छ । भूगर्भीय अध्ययन हुनुपर्छ । पानीको निकासको व्यवस्था हुनुपर्छ ।

तराईका लागि फरक विकास सोच आवश्यक भएको छ । तराईलाई लामो समयसम्म विकासका लागि सहज भूभागका रूपमा हेरियो । समथर जमिन छ । सडक बनाउन सजिलो छ । बस्ती विस्तार गर्न सजिलो छ । उद्योग स्थापना गर्न पनि सजिलो छ । तर तराईको आफ्नै जोखिम छ । बाढी,डुबान, नदी कटान, भूमिगत पानीको समस्या, गर्मीको बढ्दो असर, अनियन्त्रित सहरीकरण जस्ता विषयलाई विकाससँगै जोडेर हेर्नुपर्ने अवस्था सिर्जना भएको छ । नदीको प्राकृतिक बहाव साँघुरो पारेर बस्ती विस्तार गर्नु दीर्घकालीन समाधान होइन । खोलानाला अतिक्रमण गरेर सडक वा भवन बनाउनु विकास होइन । पानी जम्ने ठाउँमा पर्याप्त अध्ययन नगरी बस्ती बसाल्नु भविष्यको जोखिम बढाउनु हो ।
तराईका सहरमा अब ‘कति घर बनेरु’ भन्ने प्रश्न मात्र पर्याप्त हुँदैन । ‘पानी कहाँ जान्छरु’ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुनुपर्छ । सहरमा खुला क्षेत्र चाहिन्छ । पानी सोस्ने जमिन चाहिन्छ । पर्याप्त नाला चाहिन्छ । नदी र खोलाको प्राकृतिक क्षेत्र सुरक्षित गर्नुपर्छ । बाढीको सम्भावित क्षेत्र पहिचान गरेर भवन निर्माणको नियम लागू गर्नुपर्छ ।

पहाडी क्षेत्रमा अर्को समस्या छ । मानिसहरू जोखिमयुक्त भिरालो ठाउँमा बस्न बाध्य छन् । कतिपय ठाउँमा पुराना बस्ती छन् । कतिपय ठाउँमा सडक पुगेपछि नयाँ बस्ती विकास भएका छन् । बस्ती विकास गर्दा जमिनको स्थायित्व हेर्नुपर्छ । पहिरोको इतिहास हेर्नुपर्छ । पानीको बहाव हेर्नुपर्छ । भूकम्पीय जोखिम हेर्नुपर्छ । सडक पुगेपछि जहाँ खाली जमिन भेटियो त्यहाँ घर बनाउने प्रवृत्तिले भविष्यमा ठूलो समस्या निम्त्याउन सक्छ ।

अब स्थानीय तहहरूले बस्ती विकासलाई योजनाबद्ध बनाउनुपर्छ । जोखिमयुक्त ठाउँमा नयाँ बस्ती विस्तार रोक्नुपर्छ । सम्भव भएसम्म सुरक्षित स्थानमा बस्ती केन्द्रित गर्नुपर्छ । विद्यालय, स्वास्थ्य संस्था र सरकारी भवन अझ सुरक्षित ठाउँमा बनाउनुपर्छ । एकीकृत बस्ती विकासको नीतिमा काम गर्नुपर्छ । हिमाली क्षेत्रलाई पनि तराई वा पहाडकै विकास मापदण्डले हेर्न मिल्दैन । हिमाली क्षेत्रमा सडक निर्माण गर्दा भौगोलिक जोखिम धेरै हुन्छ । हिमतालको जोखिम, हिमपहिरोको जोखिम हिमाली क्षेत्रमा छ । मौसममा तीव्र परिवर्तन हुने कारण पनि वातावरणीय संवेदनशीलता उच्च हुन्छ । त्यसैले हिमाली विकासको अर्थ ठूलो भवन र फराकिलो सडक मात्र होइन । स्थानीय आवश्यकता अनुसारको पूर्वाधार चाहिन्छ । सुरक्षित पदमार्ग चाहिन्छ । साना तर भरपर्दा पुल चाहिन्छ । सञ्चार र आपतकालीन उद्धार प्रणाली बलियो हुनुपर्छ ।

नेपालमा सहर बढिरहेका छन् । तर सहर योजनाबद्ध रूपमा बढिरहेका छैनन् । खाली जमिन देख्यो की घर बन्यो । खेत मासेर घर बनायो । खोला साँघुरियो । सडक विस्तार भयो । त्यसपछि मात्र नाला बनाउने । यो क्रम उल्टो हुनुपर्छ । पहिले जोखिमको अध्ययन हुनुपर्छ । त्यसपछि भू–उपयोग योजना बन्नुपर्छ । त्यसपछि सडक, खानेपानी, ढल, खुला क्षेत्र र सार्वजनिक सेवा योजना बन्नुपर्छ । अनि मात्र व्यवस्थित आवास विकास हुनुपर्छ । सहरमा विकासको मापदण्ड घरको संख्या होइन । सुरक्षित जीवनको गुणस्तर हुनुपर्छ । आज बनाएको सडक भोलि पहिरोले नबगाओस् । आज बनाएको सहर भोलि बाढीमा नडुबोस् । आज बनाएको घर भोलि भूकम्पमा नढलोस् । आज बनाएको आयोजना भोलिको बदलिँदो मौसमसँग पनि टिक्न सकोस् । यही नै अब नेपालको विकासको नयाँ आधार बन्नुपर्छ ।