बौद्ध दर्शन नै वातावरण संरक्षणको आधारशीला हो

मेचीकाली संवाददाता

१६ भाद्र २०८३, मंगलवार
1 shares

बलबहादुर आचार्य

१. वातावरण के हो ?
वातावरण भन्नाले मानिस, जनावर, वनस्पति तथा सबै जीवित प्राणीलाई वरिपरिबाट प्रभाव पार्ने हावा, पानी, माटो, वन–जंगल, नदी–समुद्र, जलवायु, जीवजन्तु, वनस्पति र सामाजिक–भौतिक परिवेशको समग्र अवस्था हो । सरल भाषामा भन्नु पर्दा हामी र हाम्रो वरिपरिको अवस्था हो । सबै जीवहरू बाँच्ने प्राकृतिक घर नै वातावरण हो ।

वातावरणको के महत्व छ ?
वातावरण बिना कुनै पनि जीवन सम्भव हुँदैन । हाम्रो वाताबरणका यी पक्षहरु हाम्रा लागि कति महत्वहरू छन् त ?

स्वच्छ हावा
श्वास प्रश्वासका लागि आवश्यक छ केहि मिनेटको अभावमा हाम्रो जीवन नै समाप्त हुन्छ । यसको नमिठो अनुभव हामीले कोभिडका बेला गरेका थियौँ । आसीयू र भेन्टिलेटरले यसको महत्व सम्झाइ रहन्छ ।

स्वच्छ पानी
पानी हाम्रो जीवनको अर्को अति आवश्यक तत्व हो । यसलाई पिउन, कृषि उत्पादन, उद्योग संचालन र सम्पूर्ण जीवका लागि आवश्यक हुन्छ। स्वच्छ पानीको अभावमा यस जगतमा जीवनको कल्पना गर्न सकिदैन ।

माटो
माटो पनि मानव जीवनको महत्वको बस्तु हो । जहा हामी बस्छौ, खाद्यान्न उत्पादन गर्छौ जगतलाई जीवन दिन्छौ ।

वन तथा वनस्पति
अक्सिजनको श्रोत, खाद्य बस्तु प्राप्ति, औषधिको आधार र जैविक विविधताको आधार हो । पर्याबरण सन्तुलनको आधार हो जसमा आएका असन्तुलन गर्दा आज विश्वमा महा विपत्तिहरु आईरहेका छन् ।

हिउ,नदी, ताल र समुद्रः पानीको मुल श्रोत हुन । यी प्रकृतिमा जलचक्र तथा जलवायु सन्तुलनका ज्यादै महत्वपूर्ण विषय हो यसको असन्तुलनका कारण भरखरै नेपालले एउटा ठुलो आपत आई लागेको छ भने अहिलेका वर्षहरुका विश्व बढदो तापक्रमको वृद्धिले विपतहरु हाम्रा संघारमा उभिएकाछन् ।

जैविक विविधता
विश्वमा पर्याबरण सन्तुलनको आधार हो । यसले पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्छ र हाल यसको असन्तुलनले पर्याबरण सन्तुलनका समस्याहरु देखिएका छन् ।

जलवायु परिवर्तन
यो कुनै स्थानको लामो मौसमी अवस्था हो । अहिले विश्वमा भएको प्रदुषणयुक्त क्रियाकलापले जलवायुमा गम्भीर असर परेको छ । मानव जातिका क्रियाकलापका कारण विश्वका विभिन्न स्थानमा प्राकृतिक प्रकोपहरु देखिदै आएका छन् । त्यसैले वातावरणको संरक्षण गर्दै जलवायुको संरक्षण वास्तवमा मानव जीवनको पहिलो र प्रमुख दायित्व हुनुपर्नेमा उल्टो मानव जातीबाट व्यक्तिगत वा सिमित स्वार्थ समूहको हितका लागि गरिएको कृयाकलापबाट विश्वको वातावरण दिनप्रति दिन बिकराल बन्दै प्राकृतिक प्रकोप बढिरहेका छन् ।

२. अहिले विश्वको वातावरण किन भयावह हुँदैछ ?
आज विश्वले मुख्यतः तीनवटा आपसमा जोडिएका वातावरणीय संकट सामना गरिरहेको छ । जलवायु परिवर्तन, प्रकृति तथा जैविक विविधताको ह्रास र प्रदूषण तथा फोहोर । UNEP को पछिल्लो Global Environment Outlook–७ ले यही अवस्थालाई विश्वव्यापी वातावरणीय संकटका रूपमा प्रस्तुत गरेको छ।

(क) विश्वव्यापी तापक्रम वृद्धि
कोइला, पेट्रोलियम र ग्यास जस्ता जीवाश्म इन्धनको अत्यधिक प्रयोगबाट CO₂ लगायत हरितगृह ग्यास बढेका छन् । WMO का अनुसार २०१५–२०२५ लगातार ११ वटा सबैभन्दा ताता वर्ष भएका छन् । २०२५ करिब १.४३ डिग्री सेल्सिएस पूर्वऔद्योगिक औसतभन्दा माथि थियो । World Meteorological Organization

(ख) हिमनदी पग्लनु र समुद्री सतह बढ्नु
तापक्रम बढ्दा हिमनदी र ध्रुवीय बरफ पग्लिरहेका छन् तथा समुद्र तातिरहेको छ । यसले हिमाली क्षेत्र, तटीय क्षेत्र र साना टापु राष्ट्रहरूलाई विशेष जोखिममा पार्छ । W.M.O

(ग) चरम मौसम बढ्नु
यति बेला अत्यधिक गर्मी, अनियमित वर्षा, बाढी, सुख्खा, डढेलो र शक्तिशाली आँधी आदिले मानव जीवन र अर्थतन्त्रमा ठूलो क्षति पु¥याइरहेका छन् । W.M.O

(घ) वन विनाश र जैविक विविधताको ह्रास
वन काट्नु, बासस्थान नष्ट गर्नु, अत्यधिक दोहन र प्रदूषणका कारण धेरै जीव–वनस्पतिहरुको अस्तित्व संकटमा परेकोछ ।

(ङ) वायु, पानी र माटो प्रदूषण
धुवाँ, प्लास्टिक, रासायनिक पदार्थ, औद्योगिक फोहोर र अव्यवस्थित सहरीकरणले वातावरणको गुणस्तर घटाइरहेका छन् । UNEP ले जलवायु, प्रकृति र प्रदूषणलाई परस्पर सम्बन्धित संकटका रूपमा हेर्छ । UNEP–UN Environment Programme

३. अब के गर्नुपर्छ ?
यसको समाधानका लागि सवै एक जुट भएर लाग्नु पर्ने हुन्छ । त्यसको लागि व्यक्ति, समुदाय, सरकार र विश्व समुदाय सबैले मिलेर सहकार्यमा कार्य गर्यौ भने मात्र यसको समाधान छिटो निकाल्न सकिन्छ । तहगत रुपमा हामीले यसको समाधानका लागि निम्न कार्यहरु गर्न आवश्यक देखिन्छ ।

क) व्यक्तिगत तहमा
–अनावश्यक पेट्रोलियम इन्धनको प्रयोग घटाउने ।
–सम्भव भएसम्म पैदल, साइकल र सार्वजनिक यातायात प्रयोग गर्ने ।
–बिजुली र पानीको दुरुपयोग नगर्ने ।
–प्लास्टिकको प्रयोग घटाउने ।
–फोहोर छुट्याएर पुनःप्रयोग र पुनर्चक्रण गर्ने ।
–वृक्षरोपण गर्ने र रोपेको रूख संरक्षण गर्ने ।
–स्थानीय तथा मौसमी खाद्य पदार्थको प्रयोग बढाउने ।

ख) सरकारको तहमा
–वन संरक्षण र पुनःस्थापनामा कडा नियम बनाई कायान्वयन गर्ने ।
–स्वच्छ तथा नवीकरणीय ऊर्जामा लगानी गर्ने ।
–सार्वजनिक यातायातको विस्तारका कार्यक्रमा ल्याउने ।
–उद्योग र सवारी साधनको प्रदूषण नियन्त्रणको कडा मापदण्ड बनाउने ।
–नदी, ताल, हिमाल र जैविक विविधताको संरक्षणका कार्ययोजना बनाउने र विभिन्न तहलाइ विभिन्न तहको संरक्षण नीति बनाउने ।
–जलवायु परिवर्तनसँग अनुकूलन हुने योजनालार्य प्रोत्साहन गर्दै यसलाई असर पर्ने खालका योजना नियन्त्रण गर्ने ।
–वातावरणीय कानुनको कडाइका साथ कार्यान्वयन गर्ने र दण्ड र पुरस्कार नीति लिने ।

विश्व समुदायको तहमा
विश्व समुदायको तहमा देशहरूले हरितगृह ग्यास उत्सर्जन तीव्र रूपमा घटाउने, स्वच्छ ऊर्जामा जान र जलवायु परिवर्तनबाट प्रभावित गरीब तथा विकासशील देशलाई आर्थिक तथा प्राविधिक सहयोग गर्ने ।
WMO/UNEP का पछिल्ला प्रतिवेदनहरूले अहिले नै तीव्र कदम चाल्नुपर्ने देखाएका छन र यसलाई कुनै पनि अर्थमा बेवास्ता गर्नु नहुने ।
WMO यो संयुक्त राष्ट्रसंघ अन्तर्गतको विशेषीकृत संस्था हो, जसले मौसम, जलवायु, जलस्रोत तथा वातावरणसम्बन्धी विश्वव्यापी वैज्ञानिक सहकार्य र सूचना आदान–प्रदानमा काम गर्छ। भने इल्भ्ए ले ग्ल पय बाताबरण सम्वन्धि कार्य गर्ने अंग हो ।

४. बौद्ध दृष्टिकोणबाट हेर्दा
आज भन्दा २६०० बर्ष पहिला बुद्धले वाताबरण संरक्षणका लागि दिएका बचनहरु अहिले पनि सान्दर्भीक र अनिवार्य भएका छन् । बुद्धका अनुसार यस संसारका हरेक बस्तु एक अर्का प्रति निर्भर भएर मात्र बाँचेका हुन्छन् । त्यसैले प्रकृतिबाट मानिस अलग छैन; मानिस पनि प्रकृतिको अन्तर सम्बन्धित अंग हो । यहि विचार बौद्ध दर्शनको एउटा प्रमुख सिद्धान्त प्रतित्यसमुत्पादले भनेको छ । तसर्थ यदि मानवले प्रकृतिलाई बचाउन सकेन भने प्रकृतिले पनि मानव जातीलाई बचाउन सक्दैन। त्यसैले मानव र प्रकृति एउटा सिक्काका दुई पाटा हुन भन्ने विषयलाई हामीले विर्सन्छौ र प्रकृतिको दोहनमा लाग्छाँै भने त्यतिबेला प्रकृतिले मानवताहीन किसिमवाट मानव जाति र मानव सभ्यताको विनास गर्छ भन्ने उदाहरण नेपालले यहि भदौ १० मा अनुभुति गर्याै । यद्धपि यसको मुल कारण नेपाल होइन यसको कारक त विश्व समुदाय र विशेष गरी औद्योगिक राष्ट्रहरु हुन् । यसमा अब विश्व समुदायले अझ पनि आँखा चिम्लेर बस्ने समय छैन । समय मै प्रकृतिको भाषा बुझौ र सोही अनुसार हाम्रा कृयाकलापहरु बदलौँ।

बौद्ध दर्शनमा प्रतित्यसमुत्पाद, अहिंसा, करुणा, अपरिग्रह, सन्तोष र मध्यम मार्ग वातावरण संरक्षणका ज्यादै महत्वपूर्ण सिद्धान्त र नैतिक आधारहरु हुन । विशेष गरी जबसम्म मानव जाती तृष्णा र असीमित उपभोग घटाएर आवश्यकतामा आधारित, सन्तुलित र जिम्मेवार जीवनशैली अपनाउदै वातावरण संरक्षणसँग प्रत्यक्ष संलग्न हुदैन तवसम्म यस पर्यावरणको संरक्षण सम्भव छैन । त्यसैले आधुनिक पर्यावरणीय संकटको समाधानमा बौद्ध मध्यम मार्ग, प्रतित्युसमुत्पादको सिद्धान्त र बौद्ध अर्थनीति दृष्टिकोणहरु निकै उपयोगी बन्न सक्छ । अहिलेको यो विश्व वातावरण संकट तथा यसको तिव्र समाधानका सन्दर्भमा बौद्ध विचारहरुको अध्ययन गर्ने र जनचेतना बृद्धि गर्नु बौद्ध विश्वविधालय तथा बौद्ध विद्धानहरुको प्रमुख दायित्व हुन गएको छ ।

निष्कर्षमाः वातावरण बचाउनु भनेको पृथ्वी मात्र बचाउनु होइन, मानव सभ्यता, स्वास्थ्य, अर्थतन्त्र, जीवजन्तु र भावी पुस्ताको जीवन बचाउनु पनि हो । अहिलेको अवस्था अत्यन्त गम्भीर छ, तर अझै ढिलो भएको छैन । UNEP/GEO (Global Environmental Outlook) ले पनि सही नीति र सामूहिक रूपान्तरणबाट भविष्यको बाटो परिवर्तन गर्न सकिने देखाएको छ । तर सूचना एवं चेतावनीलाई पनि वेवास्ता गर्ने हो भने विश्व वाताबरण निकट भविश्यमा भयावह हुने र मानव सभ्यता नै समाप्तिको डिलमा उभिएको छ तसर्थ अब हामी वाताबरण संरक्षणमा लामबद्ध हुने कि विनास तर्फ लामबद्ध हुने व्यक्ति स्वयम, राज्य र विश्व समुदायले सोच्ने र कर्ममा उत्रने बेला आएको छ ।