बुटवल । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रुपन्देही व्यापार संघले ३ लाख २१ हजार १२१ रुपैयाँ आर्थिक सहयोग गरेको छ । विपदमा परेका नागरिकको राहत तथा उद्धारमा संघको तर्फबाट थोरै भए पनि योगदान पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संघका अध्यक्ष प्रकाश ढकालले जानकारी दिए । उनका अनुसार संघले शुक्रबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएकाले प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकार, सम्बन्धित निकाय, संघसंस्था तथा आम नागरिकबीच सहकार्य र एकता आवश्यक रहेको अध्यक्ष ढकालले बताए । संघले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै, बाढीपछि अझै सम्पर्कविहीन तथा बेपत्ता रहेका व्यक्तिहरूको शीघ्र खोजी गरी सकुशल उद्धार गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
बाढीका कारण विभिन्न स्वास्थ्य संस्थामा उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै संघले प्रभावित नागरिकको दुःखमा आफूहरू साथमा रहेको जनाएको छ । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय तथा रचनात्मक गतिविधिलाई निरन्तरता दिने संघका महासचिव प्रकाशराज पौडेलले बताए ।
यो पनि पढ्नुहोस्
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न रुपन्देही व्यापार संघको अपिल
