कांग्रेसले बढायो केन्द्रीय समितिको आकार

–४ उपसभापति, ३ महामन्त्री, १४ सहमहामन्त्री

मेचीकाली संवाददाता

१९ आश्विन २०८३, सोमबार

बुटवल । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकार बढाएको छ । २०७८ सालमा भएको १४ औं महाधिवेशनमा १६८ सदस्यीय केन्द्रीय समिति रहेकोमा गत पुसमा भएको विशेष महाधिवेशनबाट २३१ सदस्यीय बनाइएको थियो तर अहिले १५ औं महाधिवेशनको बन्द सत्र सुरू गर्नुअघि केन्द्रीय समिति २८१ सदस्यीय बनाउने समझदारी नेताहरूबिच भएको छ ।

अब कांग्रेसमा एक सभापति, १ वरिष्ठ उपसभापति, एक महिलासहित ३ उपसभापति, ३ महामन्त्री, १४ सहमहामन्त्री रहने महामन्त्री प्रदीप पौडेलले बताए । उनकाअनुसार एक महिलासहित ३ महामन्त्री रहनेछन् । सहमहामन्त्री भने ११ जना निर्वाचनबाट र ३ जना मनोनित रहनेछन् । ३ मनोनीतमध्ये एक जना महिला अनिवार्य गरिएको छ । ‘पदाधिकारी र केन्द्रीय समितिको आकार वृद्धि गर्ने प्रस्ताव गरिएको छ, अब केन्द्रीय समिति २८१ सदस्यीय हुने देखिन्छ,’ उनले भने । खुलातर्फ केन्द्रीय सदस्य ४५ जना रहनेछन् भने खुला महिलातर्फ १७ जना रहनेछन् । ‘हरेक कलस्टरमा पहिलेभन्दा संख्या बढाइएको छ,’ उनले भने। कांग्रेसमा आकांक्षी धेरै हुँदा नेताहरू व्यवस्थापनका लागि केन्द्रीय समिति संख्या वृद्धि गर्न लागिएको हो ।

ज्येष्ठ सदस्य सल्लाहकार परिषद् बनाउने
कांग्रेसको इतिहासमा पार्टीका लागि योगदान गरेका प्रौढ व्यक्तिहरुलाई छुट्टै पार्टी संरचना समेट्ने व्यवस्था गरिएको छ । कांग्रेसको संशोधित विधानमा ज्येष्ठ व्यक्तिहरुलाई पार्टीमा भूमिका दिने गरी ‘ज्येष्ठ सदस्य सल्लाहकार परिषद’ बनाउने व्यवस्था गरिएको छ । उक्त पार्टी संरचनामा रहेका व्यक्ति कुनै जिम्मेवारीमा भने नभएको हुनुपर्नेछ ।
‘नेपाली कांग्रेसमा लामो समयदेखि निरन्तर योगदान पु¥याउँदै आएका तथा राष्ट्रिय जीवनका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका तर हाल कुनै पदीय जिम्मेवारीमा नरहेका ज्येष्ठ सदस्यहरुको योगदानलाई सम्मान गर्न निजहरुको अनुभव र ज्ञान दक्षतालाई पार्टीमा सदुपयोग गर्न सल्लाह सुझाव लिनका लागि ज्येष्ठ सदस्य सल्लाहकार परिषद् गठन गर्ने ।’ संशोधित विधानमा भनिएको छ ।

यस्तैगरी, सोमबार सुरू भएको बन्दसत्रमा चार प्रतिवेदन पेस भएका छन् । सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रतिवेदन पेस गरेका हुन् । सभापति थापाले राजनीतिक प्रतिवेदन, उपसभापति शर्माले समसामयिक प्रतिवेदन, महामन्त्री गुरुराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
यी प्रतिवेदनमाथि बन्दसत्रमा छलफल भइरहेको छ । कांग्रेसले बन्दसत्र तीनवटा हल बनाएर सञ्चालन गरिरहेको छ । तराई, पहाड र हिमाल गरी ३ हलमा बन्दसत्रमा यी प्रतिवेदनमाथि छलफल भइरहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।