बुटवल। मनसुन बाहिरिरहँदा मुलुकका विभिन्न भूभागमा पानी परिरहेको छ । केही ठाउँमा छोटो समयमै भारी वर्षा भएको छ । गएको चौबीस घन्टामा पूर्वदेखि सुदूरपश्चिमसम्मै पानी परेको छ । कोशी र लुम्बिनी प्रदेशका केही भूभागमा त भारी वर्षा नै भएको छ ।
बाँकेको ढकेरी जलमापन केन्द्रमा सोमबार बिहान एक घन्टाको अवधिमा ६१ मिलिमिटर वर्षा मापन भएको थियो । ती क्षेत्रहरूमा आइतबारदेखि पानी पर्न थालेको हो । मनसुन शनिबार नै सूदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी प्रदेशका केही भूभाग र गण्डकीका केही भूभागबाट बाहिरएको थियो ।
मौसमविद् डेबिट ढकालका अनुसार मनसुन उत्तराद्र्धमा पुगेपछि पनि वायुमण्डलमा पर्याप्त आद्रता भएमा छिटपुट स्थानमा अपेक्षाभन्दा बढी वर्षा हुन सक्छ । पछिल्लो समय पश्चिमी वायुको प्रभाव बढेकाले ती ठाउँमा पानी पर्ने क्रम र मात्रा बढेको उनले बताए । ‘मनसुनपछिको समयमा अलिकति बढी आद्रता आयो भने वर्षाको मात्रा बढ्न सक्छ । हामीले मध्यमसम्म वर्षा हुने पूर्वानुमान गरेका थियौँ तर त्यहाँ बादल विकास भएर वर्षा हुँदा भारी वर्षा भएको देखिन्छ,’ ढकालले भने ।
उनका अनुसार लुम्बिनी प्रदेशमा पश्चिमी वायुको प्रभाव बढी देखिएको छ । त्यसैले त्यहाँका केही स्थानमा भारी वर्षा भए पनि अन्य प्रदेशमा भने मध्यमसम्मको वर्षा हुने सम्भावना छ । काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको उनले बताए । अहिले भइरहेको वर्षा कुनै नयाँ ठुलो मौसमी प्रणाली भित्रिएका कारण भने नभएको ढकालले स्पष्ट पारे । पश्चिमी वायु केही सक्रिय हुनुका साथै स्थानीय वायुको प्रभावले पनि वर्षा गराएको उनको भनाइ छ । यसले आगामी तीन दिनसम्मै वर्षा हुने उनले बताए तर वर्षा गराउने कारण पश्चिमी वायु र स्थानीय वायुको प्रभावमा मात्रै सीमित छैन ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा.विनोद पोखरेलका अनुसार अहिले पश्चिमी वायुले टाढाटाढाबाट जलवाष्प बोकेर ल्याइरहेको छ । पूर्वी नेपालमा मनसुन अझै सक्रिय रहेकाले बंगालको खाडी र अरेबियन सागरबाट आउने जलवाष्पयुक्त हावाले पनि वर्षाका लागि अनुकूल अवस्था बनाएको हो ।
पश्चिमी वायुले भूमध्यसागरीय क्षेत्रबाट जलवाष्प ल्याइरहेको र पूर्वमा बाँकी रहेको मनसुनले पनि वायुमण्डलमा आद्रता थपिरहेको पोखरेलले बताए । विभिन्न दिशाबाट आएको जलवाष्प र वायुमण्डलको अवस्थाले गर्दा मनसुन कमजोर हुँदै गएको समयमा पनि पानी परिरहेको उनको भनाइ छ ।
कहिलेसम्म पर्छ पानी ?
डा.पोखरेलका अनुसार असोज २० गते पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । मंगलबार मुख्यतः चुरे क्षेत्रका धेरै ठाउँमा वर्षा हुने र त्यसपछि वर्षा हुने क्षेत्र पूर्वबाट पश्चिमतर्फ विस्तार हुने देखिएको उनले बताए । उनका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम हुँदै लुम्बिनीसम्मका भूभागमा वर्षाको सम्भावना छ । सुदूरपश्चिमका केही स्थानमा छोटो समय भारी वर्षा हुन सक्ने उनको अनुमान छ । काठमाडौं उपत्यकामा पनि आगामी तीन दिनसम्म राम्रै पानी पर्ने सम्भावना रहेको उनले बताए ।
‘पानी पर्ने क्रम अपराह्नदेखि सुरु भएर साँझसम्म रोकिन सक्छ तर केही ठाउँमा सोेमबारदेखि बुधबारसम्म लगातार पानी पर्न पनि सक्छ,’ पोखरेलले भने । उनका अनुसार त्यसपछि वर्षाको मात्रा केही घट्ने भए पनि पानी पर्ने क्रम पूर्ण रूपमा रोकिने छैन ।
कमजोर पश्चिमी वायुको प्रभाव र माथिल्लो वायुमण्डलमा हुने वायुको बहावका कारण नेपाल आसपास न्यूनचापीय रेखा बन्न सक्ने र त्यसले वर्षालाई निरन्तरता दिन सक्ने उनले बताए । यस्तो अवस्थाले एक हप्ता वा त्योभन्दा केही बढी समयसम्म पनि छिटपुट वर्षा गराउन सक्ने उनको भनाइ छ । मौसमविद् ढकाल पनि आगामी तीन दिनसम्म छिटपुट वर्षाको सम्भावना रहेको बताउँछन् । उनका अनुसार लुम्बिनीबाट पूर्वतर्फ र गण्डकीबाट पूर्वतर्फका भूभागमा मनसुन अझै बाँकी छ । ती भूभागबाट मनसुन बाहिरिन भने केही दिन लाग्नेछ ।
घटस्थापनापछि मौसम खुल्ने अनुमान
पोखरेलका अनुसार घटस्थापनासम्म पानी पर्ने सम्भावना धेरै छ । त्यसपछि भने मौसम खुल्दै जाने र घाम लाग्ने अवस्था देखिएको छ । यद्यपि त्यसपछि पनि वर्षा पूर्ण रूपमा बन्द हुने निश्चित नभएको उनले बताए ।
नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ अर्थात् असोज १६ हो । यसपालि मनसुन औसत मितिभन्दा एक दिनपछि शनिबारदेखि पश्चिमी भूभागबाट बाहिरिन थालेको थियो । त्यसदिन सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागका धेरै स्थान तथा गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट मनसुन बाहिरिएको थियो ।
मनसुन बाहिरिन थालेपछि देशभर एकैपटक मौसम खुल्छ भन्ने नहुने पोखरेल बताउँछन् । ‘पूर्वी भूभागमा मनसुनको प्रभाव बाँकी रहनु, पश्चिमी वायु सक्रिय हुनु र स्थानीय वायुमण्डलीय अवस्थाले पनि वर्षालाई निरन्तरता दिन सक्छन् । त्यसैले अबका केही दिन वर्षा हुने क्षेत्र र यसको मात्रा ठाउँअनुसार फरक पर्नेछ,’ उनले भने । कतै हल्का र छिटपुट वर्षा हुनेछ भने कतै छोटो समय भारी वर्षा पनि हुन सक्छ । घटस्थापनापछि मौसममा सुधार आउने अपेक्षा गरिए पनि त्यसअघि नै देशभर पानी पर्ने क्रम पूर्ण रूपमा रोकिने सम्भावना भने कम रहेको उनले बताए ।
