रमेश पराजुली
बुटवल । अधिवेशनको मिति नजिकिएसँगै बुटवल उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि व्यवसायीबिच चुनावी सरगर्मी बढेको छ । संघको नयाँ नेतृत्वका लागि व्यवसायी नरिश्वर शर्मा पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गरेको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलन आयोजना गरी पौडेल नेतृत्वको प्यानलले उम्मेदवारी घोषणा गर्दै ‘सुरक्षित उद्योग र व्यापार, समृद्ध बुटवलको आधार’ भन्ने नारासहित २० बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गरेको छ । यो प्यानलले आफूलाई समावेशी साझा प्यानल भएको दावी गरेको छ । यहि असोज २३ गतेदेखि सुरु हुने संघको ७३ औँ वार्षिक साधारणसभा तथा २६ औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ ।

संघको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका पौडेल संघका पूर्ववाणिज्य उपाध्यक्ष तथा बुटवल–४ का वडाध्यक्षसमेत हुन् । उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै उद्योग उपाध्यक्षमा निर्मित कसजु, वाणिज्य उपाध्यक्षमा बाबुराम विश्वकर्मा, महासचिवमा बसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा प्रतिक पोखरेल, सचिवमा दिपकप्रसाद चापागाईं र सहकोषाध्यक्षमा कमला पोखरेल पराजुली (मञ्जु)ले उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तैगरी, एशोसियट सदस्यमा भानुभक्त खत्री (भानु), उद्योग सदस्यमा सुनिता बञ्जाडे, कृष्णप्रसाद पाण्डे, ज्ञानबहादुर पुन र लेखनाथ भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै वाणिज्य सदस्यमा गणेशप्रसाद भट्टराई, उमेश अमात्य, जगन्ननाथ न्यौपाने र रामबहादुर भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् । भने महिला सदस्यमा रेनु श्रेष्ठ र मञ्जु पुरी गिरी तथा खुला सदस्यमा विष्णु घिमिरे पन्त (कमला), दीपक घिमिरे, प्रदिप शाक्य, अलिम दिन, कृष्ण श्रेष्ठ, शिवदेव अर्याल र विष्णु उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन् ।
व्यवसायी पौडेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै व्यवसायीका समस्या समाधान, रोजगारी सिर्जना, संघको संस्थागत सुदृढीकरण, औद्योगिक क्षेत्रको व्यवस्थापन तथा निजी क्षेत्रको हितलाई प्राथमिकतामा राखेर आफू चुनावी मैदानमा उत्रिएको बताए । उनले पछिल्लो समय सुस्ताउँदै गएको बुटवलको बजारलाई पुनः चलायमान बनाउँदै बुटवललाई आर्थिक शहरका रूपमा विकास गर्ने आफ्नो योजना रहेको बताए ।
पौडेलले आफू यसअघि पनि संघका विभिन्न पदमा रहेर काम गरेको उल्लेख गर्दै त्यस क्रममा प्राप्त अनुभवलाई अध्यक्षका रूपमा व्यवसायीको हितमा उपयोग गर्न चाहेको बताए । उद्योगी–व्यवसायीको समस्या नजिकबाट बुझेका कारण तिनको समाधानका लागि प्रभावकारी रूपमा काम गर्ने उनले प्रतिबद्धता जनाए । यसपटक उद्योगी–व्यवसायीले आफूलाई नेतृत्वको जिम्मेवारी दिने विश्वास व्यक्त गर्दै पौडेलले सबै क्षेत्रका व्यवसायीको साथ र सहयोग प्राप्त हुने दाबी गरे । उद्योगी व्यवसायीहरूसँग सहज रूपमा घुलमिल हुने र सबैसँग समन्वय गरेर अघि बढ्न सक्ने क्षमता भएका पौडेल उद्योगी–व्यवसायीहरु माझ लोकप्रिय मानिन्छन् ।
वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार भट्टराईले निर्वाचित भएपछि व्यवसायीको समस्या समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय र नीतिगत पैरवी गर्ने बताए ।

के–के छन् २० बुँदे प्रतिबद्धता पत्रमा ?
पौडेल नेतृत्वको प्यानलले २० बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै बुटवलका उद्योगी–व्यवसायीको सम्मान, व्यापारको सुरक्षा र बुटवलको आर्थिक समृद्धिलाई प्राथमिकतामा राख्दै संघलाई व्यवसायीको भरोसायोग्य संस्था र समस्या समाधानको साझा मञ्चका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ ।
जसमा बदलिँदो आर्थिक परिवेश, बढ्दो व्यावसायिक लागत, बजारको सुस्तता, पूर्वाधारको अव्यवस्था, नीतिगत जटिलता र अस्वस्थ प्रतिस्पर्धाका कारण व्यवसायीले भोगिरहेका समस्यालाई सम्बोधन गर्ने जनाइएको छ । नेतृत्व परिवर्तनसँगै संघको सोच, कार्यशैली र परिणाममा समेत परिवर्तन ल्याउने दाबी गरीएको छ ।
पौडेल नेतृत्वको प्यानलले सार्वजनिक गरेको प्रतिबद्धतामा स्थानीय कर, व्यवसाय नवीकरण तथा प्रशासनिक प्रक्रियालाई सरल र व्यवसायमैत्री बनाउनेदेखि मुख्य बजारको पार्किङ तथा ट्राफिक व्यवस्थापन सुधारसम्मका विषय समेटिएका छन् । उद्योग संरक्षण, अधुरा पूर्वाधार आयोजना सम्पन्न गर्न पहल, व्यवसायीको सुरक्षा तथा बुटवललाई प्रमुख व्यापारिक र आर्थिक केन्द्रका रूपमा विकास गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ ।
त्यस्तै पर्यटन र व्यापारबिच आर्थिक सम्बन्ध विस्तार, डिजिटल व्यवसाय तथा आधुनिक बजारको विकास, बैंक तथा वित्तीय संस्थासँग प्रभावकारी संवाद र भन्सार तथा आयात–निर्यात प्रक्रियामा सहजीकरण गर्ने प्रतिबद्धता प्यानलले जनाएको छ । स्थानीय उत्पादन तथा स्वदेशी उद्योगको बजार विस्तार, युवा तथा नयाँ उद्यमीलाई प्रोत्साहन, व्यवसायीका लागि एकद्वार सहायता प्रणालीको पहल र व्यवसायी तथा स्थानीय समुदायबिच सहकार्यलाई पनि प्रतिबद्धतामा समेटिएको छ ।
प्यानलले व्यवसायीका समस्या, सुझाव र मागलाई तथ्य तथा अध्ययनका आधारमा स्थानीय, प्रदेश र संघीय सरकारसमक्ष प्रस्तुत गर्दै प्रभावकारी नीतिगत पैरवी गर्ने जनाएको छ । साना तथा मझौला व्यवसायको संरक्षण र प्रवद्र्धन, महिला उद्यमशीलता तथा समावेशी नेतृत्वलाई समेत प्राथमिकता दिने प्रतिबद्धता सार्वजनिक गरिएको छ ।
संघको पारदर्शिता, जवाफदेहिता र संस्थागत सुधारका साथै व्यापार मेला, औद्योगिक प्रदर्शनी, लगानी सम्मेलन तथा बजार प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने योजना पनि प्यानलले अघि सारेको छ । संघको नेतृत्वलाई व्यक्ति वा समूहकेन्द्रित नभई सामूहिक जिम्मेवारी र संस्थागत निर्णयमा आधारित बनाउने प्रतिबद्धता पनि गरिएको छ ।
प्यानलले आफ्ना प्रतिबद्धता कार्यान्वयनका लागि संवाद तथा सहकार्य, प्राथमिकताका आधारमा कार्यान्वयन, पारदर्शिता र जवाफदेहिता, सहभागितामूलक नेतृत्व तथा कार्यप्रगतिको नियमित समीक्षालाई आधार बनाउने जनाएको छ । पौडेल नेतृत्वको प्यानलले आफ्ना २० बुँदा चुनावी आश्वासन मात्र नभई बुटवलका व्यवसायीका समस्या, आर्थिक सम्भावना र संघको संस्थागत सुधारसँग जोडिएको साझा एजेन्डा भएको जनाएको छ ।
‘नयाँ सोच, नयाँ विचार, समावेशी साझा नेतृत्व’ को अवधारणासहित अघि बढेको प्यानलले आफ्नो अभियान कुनै व्यक्ति वा समूहको विरोधमा नभई व्यवसायीको साझा हित र बुटवलको आर्थिक विकासमा केन्द्रित रहेको जनाएको छ ।
वि.सं.२०१० फागुन १० गते पदमचन्द्र श्रेष्ठको अध्यक्षतामा गठन भएको बुटवल व्यापार संघ हालको बुटवल उद्योग वाणिज्य संघ हो । यस क्षेत्रकै पुरानो तथा धेरै उद्योगी व्यवसायी आबद्ध रहेको बुटवल उद्योग वाणिज्य संघमा झन्डै २ हजार २०० व्यवसायी सदस्य छन् । काठमाडौँबाहिर यस संस्थाको नेतृत्वमा बस्नेहरूको सार्वजनिक अहोदा पनि ठुलो हुन्छ ।
संघमा हालसम्म पदमचन्द्र श्रेष्ठ, रुद्रविलास तुलाचन, किशोरीलाल कसौधन, युक्तप्रसाद प्रधान, द्रोणराज जोशी, सूर्यप्रसाद प्रधान, महेशकुमार राजभण्डारी, हीराकुमार श्रेष्ठ, जीवनप्रसाद ओझा, ज्ञानेन्द्र कसजू, अर्जुनमान सैँजू, कुशप्रसाद मल्ली, निर्मल लाकौल, नवराज श्रेष्ठ, शंकर श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ, महेशमान सिंह, खेम हमाल, उज्ज्वलप्रसाद कसजू र हरिप्रसाद अर्यालले नेतृत्व गरिसकेका छन् ।
