अब्बल बनेको सामूहिक विकास सहकारी

मेचीकाली संवाददाता

२४ आश्विन २०८३, शनिबार
13 shares

बुटवल। आपसी एकता, पारदर्शिता र इमानदारितालाई आत्मसात् गर्दै अघि बढे सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३, शंकरनगरस्थित सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था । पछिल्लो समय सहकारी संस्थाप्रति सर्वसाधारणको विश्वास कमजोर बन्दै गएको अवस्थामा सामूहिक विकास सहकारीले भने आफ्नो वित्तीय अवस्था सुदृढ बनाउँदै सदस्यको भरोसा कायम राख्दै आफूलाई देशकै अब्बल सहकारीको रूपमा दर्ज गरेको छ । संस्थाको निरन्तर प्रगति, राम्रो मुनाफा र सामूहिक प्रयासले सहकारी क्षेत्रको उदाहरणीय संस्थाका रूपमा स्थापित गर्ने आधार तयार गर्न सफल भएको छ ।

वि.सं. २०५० मा २६ जना मिलेर २ हजार ६ सय रुपैयाँ शेयर पुँजी संकलन गरी स्थापना भएको सामूहिक विकास सहकारी अहिले लुम्बिनी प्रदेशकै ठुला सहकारीमध्ये एक बनेको छ । मासिक २ सय रुपैयाँ बचत संकलनबाट सुरु भएको संस्थाले तीन दशकभन्दा लामो यात्रामा उल्लेखनीय सफलता हासिल गरेको छ ।

सुरुवातमा सीमित सदस्य र न्यून पुँजीबाट अघि बढेको सहकारीमा अहिले १२ हजारभन्दा बढी शेयर सदस्य आबद्ध छन् । संस्थाको वासलात ३ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । शेयर पुँजी र वित्तीय कारोबारका हिसाबले प्रदेशकै अग्रणी सहकारीका रूपमा अघि बढेको संस्थाले तिलोत्तमाको शंकरनगरस्थित आफ्नै सुविधासम्पन्न भवनबाट सदस्यलाई सेवा प्रदान गर्दै आएको छ भने संस्थाले भलवारी, फर्साटिकर, बुटवलमा सेवाकेन्द्र विस्तार गरेको छ । सहकारीले हरेक वर्ष आफ्नो कारोबार र नाफा बढाउँदै लगेको छ ।

आर्थिक सुशासन, विधि र प्रविधिलाई आत्मसात् गर्दै पारदर्शी ढङ्गले संस्था सञ्चालन गरेकै कारण यो सफलता हासिल गर्न सम्भव भएको सहकारीका अध्यक्ष पार्थमणि आचार्यले बताए । रूपन्देही जिल्लाभरि कार्यक्षेत्र रहेको सहकारीले अधिकांश ऋण व्यवसाय र उद्योग क्षेत्रमा लगानी गरेको उनको दावि छ । अध्यक्ष आचार्यका अनुसार संस्थाले गत आर्थिक वर्षमा २ अर्ब ६६ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४३ करोड ३७ लाख रुपैयाँ ऋण लगानी गरेको थियो । सोही अवधिमा संस्थाले ७ करोड ५८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । संस्थाको प्रगतिमा सदस्यको विश्वास, सञ्चालकको जिम्मेवारीबोध, कर्मचारीको मेहनत र सहकारीका स्थापित विधि तथा प्रक्रियाको महत्त्वपूर्ण योगदान रहेको अध्यक्ष आचार्य बताउँछन् । सहकारीको शेयर पुँजी ३१ करोड २ लाख ८७ हजार ८ सय रुपैयाँ तथा जगेडा कोषमा २९ करोड २३ लाख रहेको छ ।

संस्थाले बचत र ऋणमा प्रतिस्पर्धी ब्याजदर कायम गर्दै आएको छ । यद्यपि, पछिल्लो समय वित्तीय बजारमा देखिएको सुस्तताका कारण कर्जा प्रवाहमा कमी आउँदा संस्थामा तरलता केही बढेको संस्थाका प्रमुख कार्यकारी अधिकृत देवराज ज्ञवालीले बताए । उनका अनुसार पछिल्लो समय कर्जा लगानीले गति लिन थालेकाले तरलताको अवस्था क्रमशः सहज हुँदै जाने अपेक्षा गरिएको छ । वित्तीय बजारको अवस्थालाई ध्यानमा राख्दै संस्थाले बचत तथा कर्जाको व्यवस्थापन गर्दै आएको उनले बताए ।

सहकारीले गत आर्थिक वर्षको नाफाबाट शेयर सदस्यलाई शेयर रकमका आधारमा ७.७५ प्रतिशत लाभांश वितरण गर्न सफल भएको संस्थाका वरिष्ठ व्यवस्थापक इश्वरी मरासिनीले जानकारी दिए । यसका साथै सदस्यले संस्थासँग गरेको कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट थप लाभांशसमेत वितरण गरिएको उनले बताए । कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता गर्ने अभ्यासमा पनि संस्थाले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । संस्थाले २०६५ सालदेखि नै सदस्यले गरेको कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट रकम वितरण गर्दै आएको उनले बताए । जसले संस्थाको कारोबारमा सदस्यको सहभागितालाई प्रोत्साहन गर्नुका साथै सहकारीबाट प्राप्त लाभ सदस्यसम्म पु¥याउन सहयोग गरेको छ । यस्तै संस्थाले उत्कृष्ट सहकारीको रुपमा बिभिन्न सम्मानसमेत प्राप्त गरीसकेको छ । भने संस्थामा २३ जना कर्मचारी कार्यरत छन् ।

सहकारीको ३२ औं वार्षिक साधारणसभा आज
सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाको ३२ औँ वार्षिक साधारणसभा आज (आइतबार) सम्पन्न हुँदैछ । संस्थाले यसअघि असोज १८ गते भलवारी र फर्साटिकरमा एकाइगत साधारणसभा सम्पन्न गरेको थियो । त्यसैगरी, असोज २४ गते सदस्यबाट गुनासो तथा सुझाव संकलन गरिएको थियो । एकाइगत साधारणसभाबाट प्राप्त सुझाव तथा गुनासो समेट्दै आइतबार निर्णय प्रमाणीकरणसहित मूल समारोह आयोजना गरिएको संस्थाका अध्यक्ष आचार्यले जानकारी दिए ।

साधारणसभामा अध्यक्ष पार्थमणि आचार्यले अध्यक्षको प्रतिवेदन, सचिव रेनुका खरेलले सचिवको प्रतिवेदन, कोषाध्यक्ष विष्णुहरि पन्थीले आर्थिक प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समितिका संयोजक रघुनाथ ढकालले समितिको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । साधारणसभामा प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी स्वीकृत गर्ने कार्यसूची रहेको संस्थाले जनाएको छ ।

नियमनकारी निकायको निर्देशनअनुसार साधारणसभालाई सदस्यहरूको बैठकका रूपमा महत्व दिँदै बाहिरबाट प्रमुख अतिथि आमन्त्रण गर्ने परम्परा नराखिएको संस्थाले जनाएको छ । यसपटक ज्येष्ठ तथा अग्रज सदस्यलाई उच्च स्थानमा राखेर कार्यक्रम सञ्चालन गरिने अध्यक्ष पार्थमणि आचार्यले बताए । ‘सदस्यहरूको साधारणसभामा सदस्यहरूलाई नै महत्व दिनुपर्ने हो । त्यसैले हामीले सदस्यलाई प्राथमिकतामा राखेर कार्यक्रम सम्पन्न गर्ने तयारी गरेका छौँ ।’ अध्यक्ष आचार्यले भने ।