ओम बानियाँ
मानसिक स्वास्थ्य समस्या आज विश्वव्यापी चुनौतीका रूपमा अगाडि आएको छ । विश्व स्वास्थ्य संगठनका पछिल्ला तथ्यांकअनुसार विश्वभर एक अर्बभन्दा बढी मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्यासँग जुध्दै बाँचिरहेका छन् तर तीमध्ये अधिकांशले आवश्यक र पर्याप्त सेवा तथा सहयोग प्राप्त गर्न सकेका छैनन् । मानसिक स्वास्थ्यसम्बन्धी आवश्यकता बढ्दै जाँदा सेवा, दक्षजनशक्ति, आर्थिक स्रोत र गुणस्तरीय उपचारबिचको दूरी अझै ठुलो छ ।
यसै सन्दर्भमा सन् २०२६ को विश्व स्वास्थ्य दिवसले अत्यन्त महत्वपूर्ण सन्देश दिएको छ, लिभ्ड एक्सपेरियन्सेस हर्ड रियल भोइसेस, रियल चेन्ज, अर्थात् जीवन्त अनुभव सुनौँ वास्तविक आवाज, वास्तविक परिवर्तन । यसको मूलभावना के हो भने मानसिक स्वास्थ्य समस्याबाट गुज्रिएका मानिसहरूको वास्तविक अनुभव, आवाज र ज्ञानलाई केवल सुन्ने मात्रहोइन, नीति निर्माण, सेवाविकास र उपचार प्रणालीको निर्माणमै समावेश गर्नुपर्छ ।
वास्तवमा मानसिक स्वास्थ्य समस्याबारे सबैभन्दा ठुलो समस्या यहीबाट सुरु हुन्छ । मेन्टल हेल्थ समस्यामा परेको व्यक्तिलाई हामी एउटा रोगीका रूपमा मात्र हेर्छौँ । उसको जीवनमा के भइरहेको छ, उसले के भोगिरहेको छ, उसको परिवार, सम्बन्ध, काम, आर्थिक अवस्था, सामाजिक वातावरण, आत्मसम्मान, डर, पीडा र भविष्यप्रतिको आशा कस्तो छ भन्ने प्रश्न ओझेलमा पर्न सक्छ तर मानसिक स्वास्थ्यलाई मानिसको वास्तविक जीवनबाट अलग गरेर बुझ्न सकिँदैन ।
मानसिक स्वास्थ्य समस्या केवल ब्रेनभित्र भएको कुनै एउटा केमिकल असन्तुलनको कथा मात्र होइन । मानसिक स्वास्थ्यमा जैविक, साइकोलोजिकल र सामाजिक पक्षहरू एकअर्कासँग जटिल रूपमा जोडिएका हुन्छन् । आनुवंशिकता, शारीरिक स्वास्थ्य, निद्रा, स्ट्रेस, जीवनका आघातपूर्ण अनुभव, पारिवारिक सम्बन्ध, सामाजिक वातावरण, आर्थिक दबाब, हिंसा, भेदभाव, एक्लोपन, कामको तनाव तथा जीवनमा आइपर्ने ठुला परिवर्तनहरूले व्यक्तिको मानसिक स्वास्थ्यमा प्रभाव पार्न सक्छन् । त्यसैले मानसिक स्वास्थ्यको समाधान पनि एउटै ढाँचाबाट खोजेर सम्भव हुँदैन ।
यही कारणले मानसिक स्वास्थ्य सेवामा व्यक्तिको आवाजलाई केन्द्रमा राख्नु आवश्यक छ । कुनै व्यक्तिले आफूलाई कस्तो अनुभव भइरहेको छ भनेर बताउँदा त्यसलाई केवल सिम्प्टमका रूपमा होइन, उसको जीवनको वास्तविक अनुभवका रूपमा सुन्नुपर्छ । मानिसको अनुभव उसको उपचार र पुनःस्थापनाको महत्वपूर्ण स्रोत बन्न सक्छ ।
मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी आवश्यक छ, तर पैसा खर्च गर्नु मात्र पर्याप्त हुँदैन । लगानी कहाँ, कसरी र कसका लागि भइरहेको छ भन्ने प्रश्न अझ महत्वपूर्ण हुन्छ । सरकार तथा स्वास्थ्य प्रणालीले मानसिक स्वास्थ्यका लागि पर्याप्त स्रोत छुट्याउनु पर्छ तर त्यससँगै त्यो स्रोत प्रभावकारी, पहुँचयोग्य, मानवअधिकारमैत्री र व्यक्ति केन्द्रित सेवामा प्रयोग हुनु आवश्यक छ ।
हेल्थ फर्स्ट

रमेश केही महिनादेखि निकै चुपचाप एक्लै बस्न थालेको थियो । उसलाई रातभर निद्रा लाग्दैनथ्यो, मन डराइरहन्थ्यो र सानो कुराले पनि आत्तिन्थ्यो । परिवारका सदस्यहरुले उसलाई तिमीलाई केही भएको छैन, धेरै नसोच भन्थे । धेरै नै पीडा भएपछि अस्पता लगयो । चिकित्सकले केही प्रश्न गरे र औषधी लेखिदिए तर रमेशको मनमा एउटा कुरा थियो, उसको समस्या वास्तवमा के हो भनेर कसैले मेरो कुरा सुनेन । एक दिन साथीको सल्लाहमा ऊ मेमोरी क्लिनिकमा गयो र उसले साइकोथेरापिष्ट डा. मेमोरीलाई भेट्यो । डा. मेमोरीले औषधीको कुरा गर्नुभन्दा पहिले सोधिन्,‘रमेश जी, तपाईंलाई सबैभन्दा धेरै पीडा दिने कुरा के हो ?’ रमेश केही बेर चुप लाग्यो । त्यसपछि उसका आँखा रसाए । मेरो व्यवसाय डुब्यो, ऋण बढ्यो, परिवारसँग सम्बन्ध बिग्रियो । म आफूलाई असफल ठान्न थालेँ तर आजसम्म मैले यी कुरा कसैलाई भन्न पाएको थिइनँ । डा. मेमोरीले शान्त भएर भनिन्,‘आजतपाईंले आफ्नो कुरा भन्नुभयो ।’ यही नै परिवर्तनको पहिलो कदम हो । रमेश पहिलोपटक मुस्कुरायो । उसले बुझ्यो, कहिलेकाहीँ मानिसलाई औषधीभन्दा पहिले आफ्नो कुरा सुनिदिने एउटा कान चाहिन्छ ।
त्यसैले मानसिक स्वास्थ्यलाई अस्पताल र औषधीसम्म सीमित गर्नेभन्दा कम्युनिटीमा आधारित, पहुँचयोग्य, किफायती र व्यक्ति–केन्द्रित सेवाविस्तार गर्नु आवश्यक छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई परिवार, समाज र कम्युनिटीबाट अलगपार्ने होइन, सकेसम्म सम्मान, स्वतन्त्रता र सामाजिक सम्बन्धकायम राख्दै सहयोग गर्ने प्रणाली आवश्यक हुन्छ ।
यसको अर्थ औषधीको भूमिका छैन भन्ने होइन । गम्भीर मानसिक अवस्थाहरू, जस्तै केही प्रकारका साइकोसिस, बाइपोलर डिसअर्डर वा मध्यमदेखि गम्भीर डिप्रेसनमा आवश्यकताअनुसार औषधी महत्वपूर्ण उपचार बन्न सक्छ तर औषधी नै मानसिक स्वास्थ्यको सम्पूर्ण समाधान हो भन्ने सोच पनि उचित हुँदैन । धेरै मानसिक स्वास्थ्य अवस्थाहरूमा साइकोथेरापी, सामाजिक सहयोग, जीवनशैलीमा सुधार र आवश्यकताअनुसार औषधीलाई समग्र उपचारको रूपमा प्रयोग गर्न सकिन्छ ।
यसबाट एउटा महत्वपूर्ण कुरा बुझ्न सकिन्छ, मानसिक स्वास्थ्यको उपचारमा व्यक्तिलाई सुन्नु, बुझ्नु र उसको जीवनको सन्दर्भलाई पहिचान गर्नु उपचारको महत्वपूर्ण भाग हो । मानिसको दुःख केवल औषधीको नामले समाप्त हुँदैन । पारिवारिक मनमुटाव, सम्बन्धमा आएको संकट, आत्मसम्मानमा लागेको चोट, सामाजिक एक्लोपन, आर्थिक दबाब, कामको तनाव, जीवनमा भोगेको आघात वा भविष्यप्रतिको निराशा जस्ता विषयमा व्यक्तिसँग संवाद र साइकोलोजिकल सहयोग आवश्यक पर्न सक्छ ।
साइकोथेरापीको महत्व यही देखिन्छ । विभिन्न मनोवैज्ञानिक उपचार पद्धतिले व्यक्तिको सोच, भावना, व्यवहार र समस्यालाई हेर्ने दृष्टिकोणमा काम गर्छन् । कग्निटिभ बिहाभियरल थेरापी जस्ता प्रमाणमा आधारित पद्धतिले नकारात्मक तथा अनुपयोगी सोच पहिचान गर्न, भावनात्मक प्रतिक्रिया व्यवस्थापन गर्न र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्न सक्छन् ।
तर मानसिक स्वास्थ्यलाई केवल मनको समस्या भनेर शरीरबाट अलग गर्नु पनि सही हुँदैन । मन, मस्तिष्क र शरीरबिच निरन्तर अन्तरसम्बन्ध हुन्छ । लामो समयसम्म रहने स्ट्रेसले निद्रा, पाचन, हृदय तथा अन्य शारीरिक प्रक्रियामा प्रभाव पार्न सक्छ । त्यसैले मानसिक स्वास्थ्यको समग्र दृष्टिकोणमा पर्याप्त निद्रा, नियमित शारीरिक गतिविधि, स्वस्थ खानपान, सामाजिक सम्बन्ध, विश्राम, स्ट्रेस व्यवस्थापन र आवश्यक पर्दा चिकित्सकीय सेवालाई पनि स्थान दिनुपर्छ ।
मानसिक स्वास्थ्यको इतिहासमा निदान र उपचार प्रणालीमाथि प्रश्न उठाउने महत्वपूर्ण घटनाहरू पनि भएका छन् । सन् १९७३ मा मनोवैज्ञानिक डेभिड रोजेनहानले साइन्स जर्नलमा प्रकाशित गरेको अन बिइङ सेन इन इन्सेन प्लेसेस अध्ययनले मानसिक अस्पतालमा मानसिक रोगको निदान कसरी गरिन्छ भन्ने विषयमा गम्भीर बहस जन्माएको थियो । त्यस अध्ययनका निष्कर्ष र त्यसको पछिल्लो आलोचनाबारे आज पनि बहस जारी छ । त्यसैले मानसिक स्वास्थ्यमा निदानलाई यान्त्रिक प्रक्रिया मात्र नबनाई व्यक्तिको विस्तृत जीवन–परिस्थिति, व्यवहार, इतिहास र अनुभवलाई ध्यान दिनु आवश्यक हुन्छ ।
आजको मानसिक स्वास्थ्य प्रणालीले एउटा अर्को महत्वपूर्ण प्रश्नको सामना गरिरहेको छ, के हामी मानसिक स्वास्थ्य समस्या भएका मानिसहरूका बारेमा उनीहरू बिना निर्णय गरिरहेका छौँ ? यदि कुनै व्यक्तिले वर्षौँसम्म मानसिक स्वास्थ्य समस्या भोगेको छ भने उसको अनुभव पनि एउटा ज्ञान हो । उसले सेवा प्रणालीमा के राम्रो पाएन, कहाँ अपमानित भयो, कुन उपचारले सहयोग ग¥यो, कुन कुराले समस्या बढायो, परिवारले कस्तो साथ दियो वा दिएन र पुनःस्थापनामा कुन कुराले महत्वपूर्ण भूमिका खेल्यो भन्ने कुरा किताबमा मात्र भेटिँदैन । त्यो अनुभव स्वयं उस व्यक्तिसँग हुन्छ ।
त्यसैले २०२६ को विश्व मानसिक स्वास्थ्य दिवसको सन्देश केवल एउटा नारामा सीमित हुनु हुँदैन । लिभ्ड एक्सपेरियन्सेस हर्डः रियल भोइसेस, रियल चेन्जले मानसिक स्वास्थ्य क्षेत्रमा नयाँ प्रश्न खडा गर्छ, हामी मानिसहरूको कुरा वास्तवमै सुनिरहेका छौँ कि केवल उनीहरूको बारेमा कुरा गरिरहेका छौँ ? हामी उनीहरूका लागि सेवा बनाइरहेका छौँ कि उनीहरूसँग मिलेर सेवा बनाइरहेका छौँ ?
मानसिक स्वास्थ्यको क्षेत्रमा वास्तविक परिवर्तन ल्याउने हो भने उपचारको केन्द्रमा रोगको नाम भन्दा पहिले मानिसलाई राख्नुपर्छ । डिप्रेसन, एन्जाइटी, बाइपोलर डिसअर्डर वा अन्य मानसिक स्वास्थ्य अवस्थाको निदान महत्वपूर्ण हुन सक्छ तर त्यो निदान व्यक्तिको सम्पूर्ण पहिचान होइन । डिप्रेसनको बिरामी भन्नुभन्दा पहिले ऊ एउटा मानिस हो, उसको परिवार छ, सम्बन्ध छन्, सपना छन्, संघर्ष छन्, क्षमता छन् र आफ्नै जीवनको एउटा कथा छ ।
मानसिक स्वास्थ्य सेवा पनि यही मानवीय दृष्टिकोणबाट अघि बढ्नुपर्छ । व्यक्तिको आवाज सुन्ने, परिवारलाई सहभागी गराउने, कम्युनिटीमा आधारित सेवा विस्तार गर्ने, साइकोथेरापीलाई सहज पहुँचमा ल्याउने, आवश्यकपर्दा सुरक्षित र प्रमाणमा आधारित औषधीउपचार उपलब्ध गराउने तथा स्वास्थ्यका सामाजिक निर्धारकहरूलाई सम्बोधन गर्ने दिशामा मानसिक स्वास्थ्य प्रणाली अघि बढ्नुपर्छ ।
अन्तःमानसिक स्वास्थ्य केवल साइकोलोजिस्ट, साइकियाट्रिस्ट वा स्वास्थ्यकर्मीको मात्र विषय होइन । यो परिवारको विषयहो, विद्यालयको विषयहो, कार्यस्थलको विषय हो, कम्युनिटीको विषय हो र सम्पूर्ण समाजको विषय हो । मानसिक स्वास्थ्य समस्या भएका मानिसलाई कमजोर वा समाजबाट अलग राख्नुपर्ने व्यक्तिका रूपमा हेर्ने होइन,उनीहरूको आवाज सुन्नुपर्ने, अधिकार सम्मान गर्नुपर्ने र पुनःस्थापनाको यात्रामा साथ दिनुपर्ने मानिसका रूपमा हेर्नुपर्छ ।
विश्व मेन्टल हेल्थ दिवस २०२६ ले हामीलाई यही कुरा सम्झाएको छ, वास्तविक परिवर्तन मानिसहरूको वास्तविक अनुभव सुनेपछि मात्र सुरु हुन्छ । मानसिक स्वास्थ्यका नीति बनाउँदा उनीहरूको आवाज सुनौँ, सेवा बनाउँदा उनीहरूलाई सहभागी गराऔँ, उपचार गर्दा उनीहरूको प्राथमिकता र अनुभवलाई सम्मान गरौँ र मानसिक स्वास्थ्य समस्यालाई कलङ्क होइन, बुझाइ र सहयोगको विषय बनाऔँ किनभने मानसिक स्वास्थ्यको क्षेत्रमा परिवर्तन केवल नयाँ अस्पताल, नयाँ औषधी वा नयाँ नीति थपेर मात्र आउँदैन । परिवर्तन तब आउँछ, जब मानसिक पीडामा रहेको मानिसले पहिलोपटक यस्तो महसुस गर्छ, मेरो कुरा कसैले साँच्चिकै सुनिरहेको छ, मलाई बुझ्ने प्रयास गरिरहेको छ र मेरो जीवनबारे निर्णय गर्दा मेरो आवाजपनि महत्वपूर्ण छ । यही हो २०२६ को सन्देशको वास्तविक अर्थ, जीवन्त अनुभव सुनौँ, वास्तविक आवाजलाई स्थान दिऔँ र वास्तविक परिवर्तन गरौँ । मानसिक स्वास्थ्य दिवस २०२६ को शुभकामना ।
