रमेश पराजुली
बुटवल, कार्तिक ९ । नेपाली क्रिकेटको महाउत्सव नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण सोमबारदेखि सुरू भएको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको प्रधानमन्त्री वालेन्द्र शाहले उद्घाटन गरे ।
विश्व क्रिकेटका चर्चित खेलाडीको जमघट, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक मान्यता र डिसिजन रिभ्यू सिस्टम (डिआरएस) को प्रयोग हुने भएपछि एनपिएलको तेस्रो सिजनको माहोल तातेको छ । नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा आफ्नो उपस्थिति बलियो बनाउने प्रयास गरिरहेका बेला एनपिएलको यो संस्करणले खेलको स्तर, व्यावसायिक सम्भावना र विश्व क्रिकेटसँगको सम्बन्धलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ । नेपाली क्रिकेटको बढ्दो लोकप्रियता, व्यावसायिक विस्तार र अन्तर्राष्ट्रिय पहिचानको नयाँ अध्याय पनि थपिँदै छ ।

देशभरका सात प्रदेशको प्रतिनिधित्व गर्दै सुरू भएको फ्रेन्चाइज प्रतियोगिता अबको एक महिना अर्थात् मंसिर ५ (२१ नोभेम्बर) सम्म चल्नेछ । कोशी प्रदेशको प्रतिनिधित्व गर्दै विराटनगर किंग्स, मधेशबाट जनकपुर बोल्ट्स, बागमतीबाट दुई टिम चितवन राइनोज र काठमाडौं गोर्खाज्, गण्डकीबाट पोखरा एभेन्जर्स, लुम्बिनीबाट लुम्बिनी लायन्स, कर्णालीबाट कर्णाली याक्स र सुदूरपश्चिमबाट सुदूरपश्चिम रोयल्सले खेल्दै छन् ।
लुम्बिनी लायन्सको शानदार सुरूआत
सोमबार नै भएको उद्घाटन खेलमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्दै शानदार सुरूआत गरेको छ ।
लुम्बिनीलाई जित दिलाउन ओपनर अस्ट्रेलियन ब्याटर डार्सी सर्टले १८ बलमा ४० रन बनाए । ४ चौका र ३ छक्का प्रहार गरेका उनलाई अनिल खरेलले वेष्ट इन्डिजका ब्याटर रुथफोर्डबाट क्याच गराएका थिए । जनकपुरबाट लुम्बिनी पुगेका आसिफ शेखले ३२ रनको योगदान दिए । डेब्यु खेलमा उनले २५ बल खेल्दा समान दुई चौका र छक्का हिर्काए । श्रीलंकन निरोशान डिकवेलाले ७ रनमात्रै बनाए। कप्तान रोहित ५ रनमा अविजित रहे ।
सुदूरपश्चिमको लागि अनिल खरेलले दुई तथा कप्तान दीपेन्द्रले एक विकेट लिए । पहिलो इनिङ्समा सुदूरपश्चिम रोयल्सको लागि कप्तान दीपेन्द्र सिंह ऐरीबाहेक कुनै पनि खेलाडीले ठूलो स्कोर बनाउन सकेनन्। दीपेन्द्रले २३ बलमा चार चौकासहित सर्वाधिक २७ रन बनाए । दीपेन्द्रलाई किशोर महतोले १२.३ ओभरमा बोल्ड गर्दा सुदूरपश्चिमले ८ विकेट गुमाउँदा मात्र ७० रन बनाएको थियो ।
यसअघि ओपनर साइफ जैवले १३ रन बनाए । उनले १४ बलमा २ रन हिर्काएका थिए । ओपनर विनोद भण्डारी ९, आसिफ शेख डक आउट, ब्रान्डन म्याकमुलेन २, इशान पाण्डे ७ तथा दर्शकले रुचाएका वेष्ट इन्डिजका ब्याटर शेरफन रुथरफोर्ड पनि मात्र १ रन बनाएर आउट भएक थिए । स्कट कुगेलेइन पनि डक आउट हुँदा सुदूरपश्चिमले ९.५ ओभरमा ७ विकेट गुमाउँदा ५७ रन बनायो । १०औं ओभरमा स्पिनर शेर मल्लले दुई विकेट लिएपछि लुम्बिनी खेलमा हाबी भएको थियो । किशोरले पनि १३ ओभरमा लगातार दुई विकेट लिएपछि सुदूरपश्चिम सानो स्कोरमै खुम्चिन बाध्य भयो । हेमन्त धामी पनि डक आउट भए ।
लुम्बिनीको लागि किशोर महतोले सर्वाधिक ४ विकेट लिएका थिए । उनले मात्र २८ रन खर्चिए । यसबाहेक शेर मल्लले चार ओभरमा ४ विकेट दिएर ३ विकेट हात पारे । साड्ली भान, रोहितकुमार पौडेल र तिलक भण्डारीले समान एकएक विकेट लिएका थिए ।
नेपालमा पहिलोपटक प्रयोगमा आएको डिसिजन रिभ्यू सिस्टम (डिआरएस) को प्रयोग लुम्बिनीले गरेको छ । दोस्रो ओभरको अन्तिम बलमा लुम्बिनीका शेर मल्लले एलबीडब्लु अपिल गरेका थिए । तर, अम्पायरले आउट नदिएपछि लुम्बिनीका कप्तान रोहित पौडेलले डीआरएस लिएका थिए । जसमा उनी सफल हुन सकेनन् ।
कम स्कोर बनाउने खराब इतिहासबाट भने सुदूर बच्यो । यसअघि जनकपुरले एनपिएलको इतिहासमा सबैभन्दा कम स्कोर बनाएको थियो । पहिलो संस्करणमा जनकपुर सुदूरपश्चिमविरुद्ध मात्र ५१ रन बनाएर अल आउट भएको थियो । यस्तै, दोस्रोमा पोखराले चितवनविरुद्ध ७४ रन मात्रै बनाएको थियो ।
मंगलबार एनपिएलका दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो साढे १२ बजेबाट विराटनगर किंग्स र चितवन राइनोजबिच हुनेछ । दोस्रो खेल साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।
विजेताले १ करोड ५० लाख पाउने
एनपिएलको यो सिजनमा क्यानले डेढ अर्बबराबरको कारोबार हुने बताउँदै पुरस्कार राशिसमेत बढाएको छ । दोस्रो संस्करणमा विजेता क्लबलाई एक करोड १० लाख पुरस्कार दिएकामा क्यानले यो सिजनको बिजेतालाई एक करोड ५० लाख दिने घोषणा गरेको छ । यो पुरस्कार नेपाली खेलकुदमा दिने सबैभन्दा ठुलो राशिको हो । त्यस्तै, उपविजेताले ८० लाख, तेस्रो हुनेले ४० लाख र चौथो स्थान हासिल गर्नेले ३० लाख पाउनेछन् । अघिल्लो संस्करणमा दोस्रो हुनेले ५१ लाख, तेस्रोले २५ लाख र चौथोले १५ लाख पाएका थिए । त्यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीले कार पाउनेछन् ।
एनपिएल सिजन ३ को सबैभन्दा ठुलो आकर्षण अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा आफ्नो छाप छाडेका खेलाडीको सहभागिता हो । आइपिएलमा खेलेका र विश्वका विभिन्न टी–२० लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी नेपाली मैदानमा उत्रँदैछन् । पाकिस्तान टी–२० टिमका कप्तान साहिबजादा फर्हान, दक्षिण अफ्रिकाबाट खेलिरहेका डेबिड मिलर, वेस्ट इन्डिजका चर्चित आन्द्रे रसेल, न्युजिल्यान्डका जिमी निसमलगायत खेलाडीले त्रिवि मैदानमा आफ्नो क्षमता प्रस्तुत गर्नेछन् ।
एनपिएलको तेस्रो संस्करणको महत्वपूर्ण उपलब्धि आइसिसीबाट प्राप्त आधिकारिक मान्यता हो । आइसिसी स्वीकृतिपछि यस संस्करणका खेलको प्रदर्शन खेलाडीको आधिकारिक टी–२० करियर तथ्यांकमा गणना हुनेछ । अघिल्ला दुई संस्करणमा बनाएका रन र लिएका विकेट आधिकारिक टी–२० करियर तथ्यांकमा समावेश भएका थिएनन् । यसपटक भने प्रतियोगितामा खेलाडीले बनाएका रन, लिएका विकेट र खेलेका खेलले आधिकारिक तथ्यांकमा स्थान पाउनेछन् ।
आइसिसीको मान्यताले विदेशी खेलाडीको अनुबन्धमा पनि थप सहजता ल्याएको छ । यसअघि टेस्ट खेल्ने राष्ट्रका खेलाडी अनुबन्ध गर्ने विषयमा रहेको सीमितता हटेपछि फ्रेन्चाइज टोलीले अन्तर्राष्ट्रिय खेलाडी भित्र्याउन थप लचकता पाएका छन् ।
प्रत्येक फ्रेन्चाइजले आफ्नो टोलीमा ६ देखि ८ जनासम्म विदेशी खेलाडी राख्न सक्नेछन् तर प्लेइङ–११ मा बढीमा चार विदेशी खेलाडी मात्रै समावेश गर्न पाइनेछ । साथै, एसोसिएट सदस्य राष्ट्रका कम्तीमा एक खेलाडीलाई प्लेइङ–११ मा समावेश गर्नुपर्ने व्यवस्था छ । विदेशी खेलाडीले सम्बन्धित क्रिकेट बोर्डबाट अनापत्ति प्रमाणपत्र (एनओसी) लिनुपर्नेछ । आइसिसीको स्वीकृति नपाएको प्रतियोगितामा पछिल्लो छ महिनाभित्र खेलेका खेलाडीलाई समेत नियमअनुसार खेल्न अयोग्य ठहर गर्न सकिने व्यवस्था छ । आइसिसीको मान्यताले एनपिएलमा खेल्ने नेपाली क्रिकेटरको प्रदर्शनलाई अन्तर्राष्ट्रिय क्रिकेटको आधिकारिक तथ्यांकमा स्थापित गर्ने अवसर दिएको छ । यसले भविष्यमा विदेशी फ्रेन्चाइजको ध्यान नेपाली खेलाडीमा आकर्षित गर्नसमेत सहयोग पु¥याउन सक्छ ।
यसपटक एनपिएलमा पहिलोपटक डिआरएस प्रयोग गरिएको छ । अघिल्ला संस्करणमा थर्ड अम्पायरको व्यवस्था भए पनि खेलाडीले मैदानका अम्पायरको निर्णयलाई प्रविधिको सहायताले चुनौती दिन पाउने पूर्ण प्रणाली उपलब्ध थिएन । डिआरएसमा एलबी डब्लूको निर्णय पुनरावलोकन गर्न थ्रिडी बल ट्रयाकिङ प्रविधि प्रयोग गरीएको छ । ब्याटमा बल लागेको वा नलागेको जाँच्न आर्टिफिसियल इन्टेलिजेन्समा आधारित एज डिटेक्सन तथा ध्वनि विश्लेषण प्रविधि पनि प्रयोग गरिएको छ ।
रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल, उचाइका आधारमा वाइडको निर्णय तथा छक्काको दूरी र उचाइ मापन गर्न पनि प्रविधिको प्रयोग गरीएको छ । प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा असफल रिभ्यु लिन पाउने व्यवस्था छ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार डिआरएस लागू गर्दा करिब डेढदेखि दुई करोड रुपैयाँ खर्च बढेको छ ।
आठ टोलीले लिग चरणमा प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्नेछन् । सुदूरपश्चिम रोयल्स अघिल्ला दुई संस्करणमा उपविजेता बनेको थियो भने जनकपुर बोल्ट्स पहिलो संस्करणको च्याम्पियन हो । दोस्रो संस्करणमा लुम्बिनी लायन्सले उपाधि जितेको थियो ।
