टोपलाल अर्याल
गुल्मी । १५ वर्ष मलेसियामा काम गरेर घर फर्किएका मालिका गाउँपालिका–८ मरभुङ्गका इन्द्रदेव पौडेल अहिले आफ्नै गाउँमा कुखुरापालनमा व्यस्त छन् । लामो समय परदेशमा प्राविधिक क्षेत्रमा काम गरेपनि गाउँमा लगानी र बजार नहुँदा सीपअनुसारको काम गरेनन् । पौडेलले स्थानीय जातका कुखुरापालनलाई व्यवसायका रुपमा अघि बढाए । कोभिड–१९ को लहर सकिएपछि २०७७ सालबाट सुरु गरेको कुखुरापालन व्यवसाय २०० कुखुराबाट तीन हजारमा पुगेको छ । पौडेलले हरेक महिना सात÷आठ सय कुखुरा राख्ने भएकाले बाह्रैमास बेच्न सकिने बताए ।
उनका सिमलटारी बजारमा होटल र कुखुरा व्यवसाय थिए । तर, स्थानीय जातका कुखुराको बजार राम्रो भएपछि होटल छोडे । सुरुवातमा कुखुरापालन व्यवसाय सहज भने थिएन । कुखुरा उत्पादन भए पनि बजारको समस्या थियो । उत्पादनअनुसार मूल्य नपाउँदा व्यवसायलाई निरन्तरता दिन कठिन भयो । तर उनले त्यसैलाई व्यवसाय छाड्ने कारण बनाएनन् । पौडेलले भने,‘सुरुमा बजार पाइएन मूल्य पनि राम्रो थिएन । स्थानीयले डुब्यो भनेर जिस्क्याउनसमेत थाले तर विस्तारै बजार खोज्दै गएपनि राम्रो भयो ।’
दैनिक कम्तीमा ३०० अण्डा उत्पादन हुन्छन् । स्थानीय बजारमा बिक्री हुने कुखुरा तथा अण्डाको माग अहिले वुटवल, पाल्पा, स्याङ्जा र तनहुँसम्म पुग्ने गरेको छ । एकैपटक १५ वटाभन्दा बढी कुखुराको माग भए ग्राहकले भनेकै ठाउँमा पु¥याउने व्यवस्था पनि पौडेलले मिलाएका छन् । अहिले भाले ७५० र पोथी ७०० रुपियाँ प्रतिकिलोमा बिक्री भइरहेको छ ।
कुखुरापालनमा अहिलेसम्म करिब ५० लाख रुपियाँ लगानी भइसकेको उनी बताउँछन् । सबै खर्च कटाएर मासिक न्यूनतम ६० हजार रुपियाँ आम्दानी हुने गरेको छ । व्यवसायले १५ वर्ष परदेश बसेर फर्किएपछि फेरि विदेश जाने परिस्थिति नबनेको पौडेल बताए । गाउँमै परिवारसँग बसेर परदेशमा हुने आम्दानीको हाराहारीमा कमाइ गर्न सक्नु आफ्नो लागि सन्तुष्टिको विषय भएको उनको भनाइ छ । पौडेल परिवार आफँैले कुखुरापालनको व्यवस्थापन गरेको छ ।
कुखुरापालन जोखिमरहित भने छैन । रोगको जोखिमसँगै दानापानी, सरसफाइ र तापक्रम व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ । उनले भने,‘हरेक क्षेत्रमा जोखिमनै छ कुखुरामा पनि रोग लाग्यो भने ठुलो क्षति हुन्छ । त्यसैले दानापानीदेखि तापक्रमसम्म निरन्तर निगरानी गर्नुपर्छ ।’ पौडेलले सरकारको तर्फबाट आफूले कुनै सहयोग नपाएको गुनासो गरे । उनले धेरैपटक प्रविधिका लागि आवेदन दिएपनि स्थानीय सरकार र प्रदेशका निकायबाट सहयोग प्राप्त नभएको बताए ।

