तुलसीराम पौडेल —
सियारी,मंसिर १२
रुपन्देहीको सियारी गाउँपालिकाको आयोजनामा वडा नम्बर ४ छपियामा मंसिर ७ गतेदेखि सञ्चालित अध्यक्ष क्रिकेट कप प्रतियोगिता मंसिर १२ गते शनिबार फाइनल खेलसँगै सम्पन्न भएको छ।
शनिबार सम्पन्न फाइनल खेलमा सियारी वडा नम्बर ५ A र वडा नम्बर २ B बीच प्रतिस्पर्धा भएको थियो। फाइनल खेलमा वडा नम्बर ५ A ले वडा नम्बर २ B लाई १२७ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको छ।
अध्यक्ष क्रिकेट कप प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको शुभ अवसरमा गाउँपालिकाले एक कार्यक्रमका बीच विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरेको छ। प्रतियोगिताका विजेताले एक लाख एक हजार रुपैयाँ नगद, कप र मेडल प्राप्त गरेको छ भने उपविजेताले एकाउन्न हजार रुपैयाँ नगद सहित मेडल र कप प्राप्त गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेले भन्नुभयो, “खेलकुदले युवाहरूलाई अनुशासन, एकता र स्वस्थ जीवनशैलीतर्फ लैजान्छ। सियारी गाउँपालिकाले खेलकुदको विकासका लागि निरन्तर लगानी गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिनेछ। विजेता तथा उपविजेता टिमलाई हार्दिक बधाई दिँदै सम्पूर्ण खेलाडी, प्रशिक्षक र आयोजक समितिलाई धन्यवाद दिन चाहन्छु।”
कार्यक्रम खेलकुद विकास समितिका संयोजक गोपाल ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सियारी वडा नम्बर ४ का अध्यक्ष श्रीराम यादवले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन इन्द्र तिवारीले गर्नुभएको थियो।

