महिलाहरुलाई प्रमुख कार्यकारी तहमा पु¥याउने दायित्व सबैको : खनाल

मेचीकाली संवाददाता

२४ फाल्गुन २०७८, मंगलवार
524 shares

बुटवल । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले राजनीतिमा महिलालाई प्रमुख कार्यकारी तहमा पुराउने दायित्व घर परिवार र समाजको भएको बताएका छन् ।

उनले अहिले पनि प्रमुख कार्यकारी पोष्टमा दावी गर्न नसक्नुमा समाज दोषी रहेको बताएका छन् । वुमन केयर नेपाल रुपन्देहीको आयोजनामा ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा बुटवलमा मंगलबार भएको कार्यक्रममा बोल्दै खनालले महिलाहरु अझै पनि प्रधान मन्त्री सांसद जस्ता पदमा दावी गर्न नसक्नु महिलाको दोष नभएर समाज दोषी रहेको बताएका हुन् ।

उनले महिलालाई अहिले पनि दलहरुको मुख्य जिम्मेवारी दिनुभन्दा समानुपातिक कोटामा राख्ने, उपप्रमुख र उपाध्यक्षमा थन्काउने काम हुनुमा महिलाहरु अझै सशत्त नभएको बताउँदै त्यो सशत्त बनाउने दायित्व घर परिवार र समाजको पनि भएको बताए ।


वुमन केयर नेपालकी अध्यक्ष रीता क्षेत्रीको अध्यक्षता भएको कार्यक्रममा नेपाल महिला संघ रूपन्देहीकी पूर्व सभापति गंगा शाहीले समान ज्यालाको नारा भए पनि महिलाको समान ज्याला पाउन नसकेको बताइन् । उनले महिलालाई समान ज्याला प्रदान गर्नको लागि स्थानीय तहले ध्यान दिनु पर्ने बताइन् । कार्यक्रमा महिला नेत्री रीतासेन ओली, पुरन रजाली, सविता भण्डारी, चिन्ता भण्डारीलगायत बोलेका थिए ।