अमृता खत्री मृत्यु प्रकरणः प्रहरीको अनुसन्धानमा माइती पक्षको आशंका

मेचीकाली संवाददाता

५ बैशाख २०७९, सोमबार
706 shares

बुटवल । रूपन्देहीको तिलोत्तमाकी अमृता खत्री टण्डनको शंकास्पद मृत्यु भएको चार दिनपछि आइतबार पोष्टमार्टम भएको छ । जिल्ला प्रशासन कार्यालय, रूपन्देहीले निष्पक्ष घटनाको अनुसन्धान गरी छानबिन गर्ने प्रतिबद्धता जनाएपछि पीडित माइती पक्ष शवको पोष्टमार्टम गर्न सहमति जनाएका हुन् ।

पोष्टमार्टमको ‘फोरेन्सी ल्याब एक्पट’को रहोबरमा पीडित पक्षले चाहेको हस्पिटलमा गराउन प्रशासनले सहयोग गर्ने भएपछि पोष्टर्माटम गर्न सहमत भएको मृतकका दाजु पुष्पक खत्रीले बताए । मृतक २९ वर्षीया अमृताको पोष्टमार्टम भएपनि शव बुझेर दाहसंस्कार भने भएको छैन । तर, पीडित माइती पक्षले प्रहरीको अनुसन्धानमा आशंका गरेको छ । पुष्पक खत्रीले सिआईबीबाट अनुसन्धान गराउन माग गरे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, रूपन्देही प्रहरी प्रमुख रबिन्द्र रेग्मी, प्रवक्ता डीएसपी नवरत्न पौडेलको उपस्थितिमा छलफल भएको थियो । गएको बुधबार (चैत ३० गते) तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी २९ वर्षीया अमृताको रहस्यमय मृत्यु भएको थियो । सोही दिन साँझ झण्डै ८ः३० बजे माइतबाट सकुशल घर पुगेकी अनिताको १० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

अमृताले विष सेवन गरेर मृत्यु भएको परिवारले बताएको छ । तर, माइती पक्षले उनको योजनाबद्ध रुपमा हत्या गरिएको दावी गर्दै आएको छ ।
घटनाका सम्बन्धमा आइतबार माइती पक्षले आफ्नै घर पत्रकार सम्मेलन गरेर निष्पक्ष अनुसन्धानका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन् । अमृताका दाजु पुष्पकले मुद्दा दर्ता नैं नगरी २ दिनसम्म बुटवलका नायव प्रहरी उपरीक्षक ठगबहादुर केसीले मुद्दा दर्ता भइसकेको भनेर आफूहरुलाई गुमराहमा राखेको दावी गरे । घरपरिवारले योजना बनाएर हत्या गरेको अमृताका दाजु पुष्प खत्रीले आरोप लगाएका छन् । अमृता खत्रीको दाहसंस्कार कसले गर्ने भन्ने अन्यौल भएको छ ।

सोही आरोपमा अमृताका श्रीमान् र सासूससुरालाई प्रहरीले पक्राउ गरिसकेको छ । परिवारमा अन्य सदस्य छैनन् । दाहसंस्कार कसरी गर्ने भन्ने विषयमा आफूहरु सल्लाह गरिरहेको अमृताका दाजु पुष्पक खत्रीले बताए । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि माइती पक्ष पोष्टमार्टम गरेर अनुसन्धान अगाडि बढाउन सहमत भएका हुन् । पोष्टमार्टमपछि धेरै कुरा खुल्ने, भिसेरा परीक्षणका लागि काठमाडौं पठाउने र पीडित पक्षबाट पनि एक जना साथै जाने सहमती प्रशासनसँग भएको छ । त्यससँगै अनुसन्धान प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ । अमृताका ८ वर्षीय छोरा छन् ।

‘दाइ म मर्न चाहन्नँ, मलाई यहाँ (घर) बाट निकाल्नुस्,’ दाजु पुष्पक खत्रीलाई गएको बुधबार राति साढे ९ बजे फेसबुक म्यासेञ्जरमा अमृता खत्रीले म्यासेज गरेकी थिइन् । त्यसको आधा घण्टामा अमृताको मृत्यु भएको खबर माइतीलाई आयो । २०७८ सालको अन्तिम दिन अर्थात् चैत ३० गते अमृता राति साढे ८ बजेसम्म माइती घरमै थिइन् । तीन पटकसम्म श्रीमान् प्रेम टण्डनले फोन गरेको र घर नआए छोरालाई जे पनि हुन सक्ने धम्की दिएपछि हतारहतार घर पुगेकी थिइन् ।

माइतबाट घर गएको करिब ४० मिनेटपछि राति ९ः१४ मा अमृताले म्यासेजमा लेखेकी थिइन्, ‘माइतीले भन्छन् घर जा, घरकाले भन्छन् तेरो माइत जा, चेलीको जिन्दगी पनि कस्तो ? घरन घाटको अब त्यो चेली कहाँ जाने ?’ दाजु पुष्पकले उपलब्ध गराएको म्यासेजको स्क्रिन सटमा अमृताले लेखेकी छन्, ‘दाइ म मर्न चाहन्नँ, म यहाँ बस्न नि सक्दिनँ, दाइ हजुरको बोझ नि हुन चाहन्न, प्लिज दाइ मलाई यहाँबाट निकाल्न हेल्प गर्नु म निस्किन्छु ।’

दाइले प्रतिउत्तर दिए, ‘भोलि भाञ्जा लिएर आइज, कुरा गरौंला भनेका थिए ।’ दाजुबहिनी बीचको यो संवाद अन्तिम थियो । पुष्पकले बहिनीलाई तत्काल फोन गरे तर फोन स्वीच अफ थियो । उता अमृताले विष सेवन गरेको भन्दै श्रीमान् प्रेम टण्डनले लुम्बिनी प्रादेशिक अस्पताल पु¥याए ।
इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी ठगबहादुर केसीका अनुसार अमृतालाई राति ९ बजेर ४५ मिनेटमा अस्पताल पु¥याइएको थियो ।

अस्पतालले ९ः ५० मा अमृताको पहिल्यै मृत्यु भइसकेको जानकारी गराएको थियो । अमृताले केही महिनादेखि तिलोत्तमा नयाँ मिलस्थित फर्निचर उद्योगमा लेखापालको काम गर्दै आएकी थिइन् । माइती पक्षले अमृताले विष सेवन गर्ने कुनै आधार नभएको भन्दै योजनाबद्ध हत्या गर्न विष सेवन गराएको दावी गर्दै आएको छ ।

गएको भदौमा अमृताले घर–परिवारले सामान्य विषयमा पनि मानसिक र शारीरिक यातना दिने गरेको भन्दै तिलोत्तमा नगरपालिकाको वडा कार्यालयमा निवेदन दिएकी थिइन् । निवेदनपछि घरमै बस्ने वातावरण मिलाउने सहमति घरकै सदस्यहरुले गरेका थिए ।