नागरिकतासम्बन्धी पारित विधेयक देशको हित विपरीतः ज्ञवाली

मेचीकाली संवाददाता

८ श्रावण २०७९, आईतवार
199 shares

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी पारित विधेयक देशको हित विपरीत रहेको बताएका छन् । नेपाली नागरिकसरह विहे गरेर आउने विदेशीलाई कुनै ‘सटेन’ अवधि नराखी तत्काल नागरिकता दिने गरी शुक्रबार संसद्बाट रहस्यपूर्ण ढंगले पारित विधेयकले देशलाई ठूलो अफ्ट्यारो पार्ने बताए ।

प्रेस चौतारी नेपाल, रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले भने, ‘रहस्यपूर्ण ढंगले विधेयक पारित गरिएको छ । विदेशी नागरिकलाई विहे गरेर आउनेबित्तिकै सिउँदोमा सिन्दुर र हातमा नागरिकता दिने गरी पारित विधेयक हाम्रो जस्तो देशका लागि घातक छ ।’ एमालेले विगतदेखि नै विदेशी नागरिक त्यागेर नेपाली नागरिक बन्न चाहनेको लागि कुनै निश्चित समय राख्नुपर्छ भनेर विगतमा पनि भन्दै आएको हो ।

अहिले पनि त्यही अडानमा छ । भारत, चीनलगायत सबै देशले ‘सटेन’ समय राखेका छन् । हामीले विहे गरेर आउनेबित्तिकै नागरिकता दिने भयौं । नागरिकता जस्तो संवेदनशील विषयमा पनि विगतका सहमतिलाई लत्ताएर जुन रातारात विधयेक पारित गरियो त्यसले देशलाई अफ्ट्यारो पार्ने निश्चित छ ।’
पूर्वमन्त्रीसमेत रहेका नेता ज्ञवालीले आउँदो निर्वाचनमा आफूहरूको उद्देश्य र विचारसँग नजिक हुने राजनीतिक दलसँग तालमेल गरेर जान एमाले तयार रहेको बताए । ‘हामी स्थानीय तह निर्वाचनमा चौतर्फी घेराबन्दी हुँदा पनि सबैभन्दा धेरै ३४ प्रतिशत मतका साथ पहिलो भएका थियौं,’ ज्ञवालीले भने, ‘त्यही जगमा टेकेर निर्वाचनमा जाँदैछौं । एमाले एक्लै चुनाव लड्न तयार छ । तर, हामीसँग विचार मिल्नेहरुसँग तालमेल गरेर जान ढोका बन्द गरेका पनि छैनौं ।’

तत्कालीन नेकपा नेताहरु भेला भएर वाम गठबन्धनको कुरा गर्नु कांग्रेससँग आउँदो निर्वाचनमा सिट बाँडफाँडको बार्गेनिङका लागि मात्र भएको दावी गरे । ‘गठबन्धनभित्र अर्को गठबन्धन गर्ने जुन कसरत भइरहेको देखिन्छ । त्यो अरु केही होइन । कांग्रेसँग बार्गेनिङ मात्र हो ।’ ज्ञवालीले भने ।

परमादेशबाट बनेको वर्तमान सरकारले एक वर्षमा देशलाई ठूलो संकटतर्फ धकेलेको उनको भनाइ छ । संसद्को अधिकारलाई चरम दुरुपयोग गर्दै संविधानको मूल मर्ममाथि सरकारले निरन्तर प्रहार गरिरहेको नेता ज्ञवालीले बताए । ‘अर्थतन्त्रका हरेक आयाम संकटमा छन् । व्यापार घाटा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । मुलुकको सञ्चित कोष घटदो छ । पूँजीगत खर्च जम्मा ५७ प्रतिशत भएको छ । यस्ता विभिन्न घटनाक्रमले सरकारबाट देशको चिरहरण गरेको दखिएको ज्ञवालीले आरोप लगाए ।