शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

मेचीकाली संवाददाता

३० आश्विन २०७९, आईतवार
367 shares

काठमाडौँ, असोज ३० । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ । उनको ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको उहाँको उपचारमा संलग्न डा.सुरज बज्राचार्यले जानकारी दिनुभयो ।

पिसाब संक्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उहाँ पछिल्लो समय डेङ्गुबाट समेत संक्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत हुनुहुन्थ्यो । अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।

को हुन् सत्यमोहन जोशी
पिता शंकरराज जोशी र माता राजकुमारीका सुपुत्रका रूपमा विसं १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनुभएको हो । जोशीले विसं. २०१३ मा लोकसंस्कृति ग्रन्थमा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।
दोस्रो पटक नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थमा विसं २०१७ मा र ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि विसं २०२८ मा मदन पुरस्कार प्राप्त गर्नुभएका जोशी विसं २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक हुनुभएको थियो ।

जोशीले विसं २०१६ मा पाँचौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मको मुद्राको विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशित गर्नुभएको थियो । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदरस्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्वविद्यालयले विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । तीन पटकसम्म ‘मदन पुरस्कार’ जित्न सफल जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित छन् ।

शताब्दी पुरुष जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलद्वारा लिखित ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा छ । यस कृतिमा उहाँको जीवनी, भाषा, साहित्य, लोकसंस्कृति अन्वेषणलगायतका विषय समेटिएका छन् ।

उहाँका संस्कृतिसम्बन्धी १० पुस्तक प्रकाशित छन् । उहाँले दुई काव्य, पाँच कथा सङ्ग्रह, १० नाटक र केही नेवारी भाषाका कृति लेख्नुभएको छ । समालोचकले उहाँले ५० पुस्तक प्रकाशित भएको जनाएका छन् । तीमध्ये उहाँका २० पुस्तकलाई महत्वपूर्ण पुस्तक मानिएको छ ।
जोशीको एक सय वर्षको जन्मोत्सवमा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले वाङ्मय शताब्दी पुरुष जोशीको तस्बीर अङ्कित चाँदीको सिक्का निस्काशन गरेको थियो । रु दुई हजार पाँच सयका २५ हजार थान, रु एक हजारका २५ हजार थान र रु एक सयका १० हजार थान सिक्कामा एकातिर जोशीको तस्बीर छ भने अर्कोतिर सगरमाथाको तस्बीर रहेको छ ।

काठमाडौँ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्राप्त गर्नुभएका वरिष्ठ साहित्यकार जोशीलाई विसं २०६९ मा ‘पद्मश्री साधना सम्मान पुरस्कार’ प्रदान गरिएको थियो । नेवारी परिवारमा जन्मिएका जोशीले १० वर्षसम्म नेपाली बोल्न जान्नुभएको थिएन ।