पाल्पामा डुबेर दुई बालबालिकाको मृत्यु, एउटा बेवारिसे शव फेला

मेचीकाली संवाददाता

३० आश्विन २०७९, आईतवार
380 shares
सांकेतीक तस्वीर

बुटवल । पाल्पामा पानीमा डुबेर आइतबार दुई बालबालिकाकोे मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका ७ रक्सा बस्ने थमन रानाको १५ महिनाकी छोरी प्रिज्मा राना र तानसेन ६ टुँडिखेलनजिकै बस्ने शेषकान्त पराजुलीका १२ वर्षीय छोरा सुजल पराजुली रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ९डीएसपी० वीरेन्द्र थापाले जानकारी दिए ।

आइतबार साँझ ५ बजे आफ्नै घरमा खेल्ने क्रममा बाल्टिनमा रहेको पानीमा टाउको डुबिरहेको अवस्थामा प्रिज्माको आमाले दखेपछि उपचारका लागी लुम्बिनी मेडिकल कलेज प्रभास ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको डीएसपी थापाले बताए ।

त्यस्तै, आइतबार दिउँसो तानसेन २ नारायणस्थानमा रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका सुजलाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यसैबीच, पाल्पाकै रम्भा गाउँपालिका १ असेर्दीस्थित कालीगण्डकी नदी किनारमा बेवारिसे शव फेला परेको छ । आइतबार बिहान साढे १० बजे अन्दाजी १५ वर्षको लिंग पहिचान नभएको सडेगलेको अवस्थामा शव फेला परेको डीएसपी थापाले बताए । उक्त शव पोष्टमार्टमको लागि रामपुर अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।