लुम्बिनीमा राष्ट्रिय युवा जलवायु सम्मेलन सुरु

मेचीकाली संवाददाता

१ कार्तिक २०७९, मंगलवार
239 shares

बुटवल । लुम्बिनीमा आठौँ राष्ट्रिय यूवा जलवायु सम्मेलन सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलन मंगलबारबाट सुरु भएको हो । सम्मेलनमा देशभरबाट ११५ जना युवायुवती सहभागी भएको जलवायुका लागि नेपाली युवा सञ्जालका संयोजक उमेश बलाल मगरले जानकारी दिए ।

प्रत्येक दुई वर्षमा नेतृत्व परिवर्तन हुने यस सञ्जालमा २९ वर्षभन्दा कम उमेरका युवायुवती सहभागी भई पछिल्लो समय प्रमुख समस्याका रुपमा रहेको जलवायु परिवर्तन र यसले उत्पन्न गराएको समस्या समाधानमा काम गर्दै आएको संयोजक मगरले बताए । युवाहरुलाई जलवायु परिवर्तनको असरबारे जानकारी गराउँदै कसरी कम गर्न सकिन्छ, यसलाई न्यूनीकरण गर्नमा यूवाको भूमिका के हुन्छलगायतका विषयमा छलफल हुने उनले बताए ।

‘सम्मेलनमा सहभागी युवाहरुले यहाँ सिकेको कुराहरु आफ्नो स्कुल, कलेज आफू बसोबार गर्ने क्षेत्रमा जानकारी गराउनुहुन्छ, देशभरबाट युवाहरुको सहभागीता रहेकोले यो सम्मेलन प्रभावकारी हुने अपेक्षा गरेका छौँ ।’ उनले भने,‘जलवायु परिवर्तनले समाज, अर्थव्यवस्था र पारिस्थितिक प्रणालीलाई असर गर्न सक्छ । यसले जटिल तथा खतरनाक मौसमका घटनाहरू, जैविक विविधतामा ह्रास, स्वास्थ्य जोखिम बढाउने र मानिस विस्थापित हुनुपर्ने सम्मको स्थिती निम्त्याउन सक्दछ ।’

युवाहरुको सहभागीतामा नवीनतम ऊर्जाको विकास गर्ने, विद्युत् र सौर्य ऊर्जाको प्रयोगलाई बढाउन सकेमात्र पनि समस्या समाधानमा सहयोग पुग्नेमा सहभागीहरुले जोड दिएका छन् । हाम्रा गतिविधिले हरितगृह ग्याँस उत्सर्जन र जलवायु परिवर्तनमा योगदान प¥ुयाएको कारणले हाम्रो वातावरणले कष्ट भोग्नुपरेको र अहिलेको जसरी तापक्रम बढ्दै जाने हो भने केही वर्षभित्रै यसले गम्भिर संकट निम्त्याउने र मावनसँगै जीवजन्तुको लागि यो अत्यन्तै घातक हुनसक्ने बताइएको थियो । सन् २००८ मा स्थापना भएको सञ्जालले जलवायु परिवर्तनविरुद्धमा काम गर्दै आएको छ । हालसम्म सञ्जालमा ८ हजारभन्दा बढी युवायुवती आबद्ध भएका छन् ।

पछिल्लो मानवीय क्रियाकलापहरू जस्तै जीवाष्म इन्धनहरू (पेट्रोल, डिजल) को अत्याधिक प्रयोग, वन विनाश तथा अत्याधिक खपतले वातावरणमा अधिक मात्रामा हरितगृह ग्यास उत्सर्जित गर्दछ जसले प्राकृतिक चक्रलाई नै परिवर्तन गरी पृथ्वीलाई तातो बनाई राखेको सहभागीहरुले उल्लेख गरेका थिए । हामी आफैँले कार्बन उत्सर्जनलाई कम गरेर दिगो जीवन शैलीलाई अपनाई जलवायु परिवर्तनको सामना गर्न सकिनेमा युवा सहभागीहरुले जोड दिएका छन् ।