स्थानीयका माग र आवश्यकतालाई सम्बोधन गर्ने प्रतिवद्धता

मेचीकाली संवाददाता

२ कार्तिक २०७९, बुधबार
176 shares

बसन्ती आचार्य
कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. १ ले नयाँ भिजनका साथ मतदाता भेटघाटलाई तिब्रता दिंदै स्थानीयका माग र आवश्यकतालाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ । निर्वाचनका बेला मात्र नभई सदैव जनताको साथमा रहने बताउदै एमाले कपिलवस्तु क्षेत्र नं.१ निर्वाचन परिचालन कमिटीले मतदाता भेटघाट गरिरहेको छ ।

प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारीले अन्य पार्टीको सरकारले २० बर्ष गर्न नसकेका अनेकौ काम एमाले नेतृत्वको सरकारले ३ बर्षमा सम्पन्न गरेको दावि गर्नुभयो । बाणगंगा नगरपालिका वडा नंं. २ को गोबड्डिहवा, पिपरा, दक्षिण पिपरा, वैजलपुर, नन्दनगर लगायत विभिन्न स्थानमा मतदाता भेटघाटको क्रममा अधिकारीले एमालेको पालामा भएका विकासका कामको प्रचार प्रसारमा कमी भएकाले जनतामाझ पु¥याउनुपर्नेमा जोड दिए ।

सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्नका लागि बाँकी रहेका विकासका काम पुरा गर्न एमालेको जित अपरिहार्य रहेको बताए । साथै वडा नं.२ मा चुनावी सम्पर्क कार्यालयको समेत उद्घाटन गरिएको छ ।

क्षेत्र नं.१ (क) प्रदेश सभा सदस्यका उम्मेद्वार विष्णु पन्थीले जनता नमुना माविमा आफ्नो पहलमा नेपालमै पहिलो पटक ६ वटा प्राविधिक बिषयमा पढाई हुने र देशका अन्य प्रदेशका विद्यार्थीहरुले अध्ययन गर्न पाएको बताए । पन्थीले पिपरा अस्पतालको स्तरोन्नति गरि ट्रमा सेन्टर बनाउन आफु लागि पर्ने बताए । वडा नं. २ को कलौनीमा रहेको अधुरो सामुदायिक भवनलाई पुर्णता दिने बताउँदै उनले अव्यवस्थित वस्ती, सुकुम्वासीहरुको समस्या सधैका लागि समाधान गर्नका लागि जोड दिने बताए ।

यता क्षेत्र नंं. १ (ख) प्रदेश सभा सदस्यका उम्मेद्वार मधुसुदन शरण चौधरीले मतदाता भेटघाटलाई तिब्रता दिएका छन् । एमालेको नेतृत्वको सरकार बने पछि स्थानीयका गुनासा, आवश्यकताको सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्दै टोलटोलमा गई स्थानीयसंग भेटघाट गरेका छन् ।