राजनीतिक दलका प्रतिनिधी र उम्मेदवारहरुका लागि आचारसंहिता गोष्ठि

मेचीकाली संवाददाता

२ कार्तिक २०७९, बुधबार
187 shares

पार्वती आचार्य
कपिलवस्तु । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि कपिलबस्तुका राजनीतिक दलले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । मधेश मानव अधिकार गृह माहुरी होम कपिलबस्तुले सदरमुकाम तौलिहवामा आयोजना गरेको राजनैतिक दलका प्रतिनिधि र उम्मेद्वारलाई निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण गोष्ठीमा राजनीतिक दलका प्रतिनिधिले आचारसंहिता पालना गर्ने ७ बुँदे प्रतिबद्धता जनाएका हुन् ।

कपिलबस्तु जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृत भीमार्जुन ज्ञवालीले निर्वाचनलाई निष्पक्ष बनाउन सबै पक्षबाट आचारसंहिताको पालनामा सहयोगको अपेक्षा गरिएको बताए । निर्वाचनलाई व्यवस्थित बनाउन सबै पक्षको सहयोग आवश्यक हुने उनको भनाइ छ । अनुगमन अधिकृत ज्ञवालीले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि अनुगमन समिती प्रतिबद्ध रहेको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले निर्वाचनलाई भयरहित बनाउन सुरक्षा योजना बनाइएको बताउँदै सुरक्षाको अवस्थालाई मजबुद बनाइने बताए । निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचनपछिको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन कार्ययोजना बनाइएको पौडेलले बताए ।

जिल्ला निर्वाचन अधिकारी राजीव पन्थीले निर्वाचनको तयारीका लागि कार्यालयले आवश्यक काम दु्रतरुपले गरिरहेको जनाए । जनशक्ति आँकलन तथा परिचालन गर्ने, कर्मचारीको विवरण सङ्कलन गर्ने काम भइरहेको भन्दै उनले निर्वाचन सामाग्रीको व्यवस्थापनको काम सञ्चालन गरिएको बताए ।

आचारसंहिता पालना अनुगमनका लागि जिल्लास्तरमा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिको सदस्यमा प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृत, प्रहरी उपरीक्षक छन् भने सदस्य सचिवमा निर्वाचन अधिकारी रहने व्यवस्था छ ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य उम्मेद्वार धर्मबहादुर लाल श्रीवास्तव, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा समानुपातिक उम्मेद्वार जीतबहादुर चौधरी, नेपाली कांग्रेसका प्रतिनिधी रामआषिश पाण्डेय, नेकपा एसको केन्द्रिय सदस्य मीना परियार, जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, लोसपा कार्यवहाक अध्यक्ष ओमकार शुक्ला, राप्रपाका केन्द्रिय सदस्य बिजयलक्ष्मी सिंह, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्य, जनमत पार्टीका वृजेन्द्र कुमार चौधरी, बहुजन शक्ति पार्टीका केन्द्रिय सदस्य इन्द्र प्रसाद हरिजनले निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा सम्पन्न गर्न आचारसंहिता पालनाका गर्ने प्रतिबद्धा जनाएका छन् ।

मधेश मानव अधिकार गृह माहुरी होमका अध्यक्ष प्रेमचन्द्र जयसवालको अध्यक्षतामा बिभिन्न राजनैतिक दलका प्रतिनिधीहरु गैसस महासंघ कपिलबस्तुका अध्यक्ष प्रविण कुमार श्रीवास्तव, पत्रकार महासंघ कपिलबस्तुका अध्यक्ष किरणमान बज्राचार्य , इन्सेक , नियोक , संचारिका समूह , मानव अधिकारकर्मी , माहुरी होममा बरिष्ठ उपाध्यक्ष राम दयाल ठाकुर लगायतको उपस्थिती रहेको थियो ।

बिजय बिकास श्रोत केन्द्रका आदर्श सिग्देलले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए । सो कार्यक्रममा माहुरी होमका महासचिव संगिता चौरासियाको स्वागत तथा माहुरी होमका सल्लाहकार दिनेशचन्द्र त्रिपाठीको संचालनमा सम्पन्न भएको थियो ।