मुलुकको विकास र समृद्धिका लागि एमालेको नेतृत्वः पौडेल

मेचीकाली संवाददाता

२ कार्तिक २०७९, बुधबार
524 shares

बुटवल। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री विष्णु पौडेलले एमालेविना देशको विकास र समृद्धि सम्भव नभएको दाबी गरेका छन् । उनले विकास र समृद्धिका खाका बनाउने र त्यसलाई साकार पार्ने कार्यक्रम बनाउने दल नै एमालेको भएको दाबी गरे ।

पार्टीको जनवर्गाीय संगठन नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संठगन क्षेत्र २ रुपन्देही आयोजना गरेको भेला तथा निर्वाचन परिचालनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सडक, सिंचाइ, शिक्षा, स्वास्थ्य र पूर्वाधारदेखि रोजगारीलाई समेत ध्यानमा राखेर एमालेले गरेको काम जनताले बुझेकाले एमालेको जीतलाई कसैले रोक्न नसक्ने बताए ।

कार्यक्रममा सम्बोधन गर्दै नेता पौडेलले लुम्बिनीलाई केन्द्रमा राखेर समग्र रुपन्देही र आसपासका क्षेत्रलाई विकासको रोलमोडल बनाउने गरी ड्रीम प्रोजेक्ट अगाडि सारेको उल्लेख गरे । ती प्रोजेक्टहरु अहिले कार्यान्वयन हुने चरणमा पुगेको बताउँदै उनले नेकपा एमालेको नेतृत्वमा रहेका तीनै तहका सरकारले अघि सारेका योजनालाई सार्थक रुप दिन आगामी निर्वाचनमा एमालेका उम्मेदवारले जित्नुपर्ने बताए ।
उपाध्यक्ष पौडेलले एमालेलाई कतिपय पूर्वाग्रही विरोधीहरुले विकास विरोधी पार्टी भनेर कुप्रचार गरेको बताउँदै त्यस्ता भ्रमलाई चिर्न एमालेले गरेका कामहरुको प्रचारप्रसार आवश्यक रहेको बताए ।

कार्यक्रममा नेता पौडेलसंगै एमाले नेता तथा लुम्बिनी प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरी पनि सहभागी थिए । उनले विकास र समृद्धिका कार्यक्रमलाई साकार पार्ने अवसर एमालेलाई दिनुपर्नेमा जोड दिए । गिरी रुपन्देही क्षेत्र नं. २ (१) का प्रदेशसभाका उम्मेदवार हुन् । उनले समाज रुपान्तरण र अनुशासित एवम् सभ्य समाज निर्माणमा महत्वपूर्ण भूमिका रहने समुदाय भएकाले पार्टीले सोहीअनुरुप महत्व दिएको बताए ।