अर्घाखाँचीमा भीरबाट धकेलेर भाईको हत्या गरेको आरोपमा एक वृद्ध पक्राउ

मेचीकाली संवाददाता

३ कार्तिक २०७९, बिहीबार
210 shares

बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भीरबाट धकेलेर भाईको हत्या गरेको आरोपमा एक वृद्धलाई प्रहरीले पक्राउ गरेका छ ।

भूमिकास्थान नगरपालिका–१ साम्नेगाँउका ७० वर्षीय वीरबहादुर गमाललाई भीरबाट धकेलेर हत्या गरेको आरोपमा सोही ठाउँका सहोदर दाई ७४ वर्षीय हिमबहादुर गमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

गमाल दाजुभाई बुधबार दिउँसो भूमिकास्थान नगरपालिका–४ धारापानीस्थित शाइन रेसुङ्गा बैंकमा वृद्धभत्ता बुझ्न गएका थिए । बैंकबाट भत्ता बुझेर घर फर्कने क्रममा दाजुभाईबीच लेनदेको बिषयमा सामान्य विवाद भई धकेला धकेल हुँदा वीरबहादुर भिरबाट खसेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । भिरबाट लडेको अवस्थामा उनलाई बुधबार साँझ ८ बजे स्थानीयवासीले मृत फेला परेका थिए ।

हिमबहादुरलाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।