सिटिजन लाइफ इन्सुरेन्सद्वारा आश्रमलाई सहयोग

मेचीकाली संवाददाता

४ कार्तिक २०७९, शुक्रबार
305 shares

बुटवल । सिटिजन लाइफ इन्सुरेन्स देवदह शाखाले मानव सेवा आश्रममा भोजन तथा आर्थिक सहयोग गरेको छ । कम्पनीले स्थापनाको ५ औं वर्ष पूरा गरेको अवसरमा शुक्रबार बुटवलस्थित मानव सेवा आश्रमका आश्रितलाई रहेका सहयोगापेक्षीलाई भोजन गराउनुका साथै आश्रमलाई आर्थिक सहयोग गरेको हो । कार्यक्रम सिटिजन लाइफ इन्सुरेन्स देवदहकी प्रमुख विनिता श्रीसको अध्यक्षता, क्षेत्रीय प्रमुख दुर्गाराज ढकालको प्रमुख आतिथ्यतामा भएको हो ।

सो अवसरमा देवदहकी शाखा प्रमुख श्रीसले कम्पनीको वार्षिकोत्सवको अवसरमा सामाजिक दायित्व अन्तर्गत आश्रममा रहेका आश्रितलाई भोजन र आश्रमलाई आर्थिक सहयोग गरेको बताइन् । साथै उनले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने जनाइन् । त्यस्तै कम्पनीका क्षेत्रीय प्रमुख ढकालले स्थापना दिवसको अवसरमा कम्पनीले देशैभर विभिन्न कार्यक्रम गरिरहेको जनाए ।

आश्रममा भोजन र सहयोगसँगै रुपन्देही लगात देशभर सहयोग,रक्तदान लगाएतका कार्यक्रम आयोजना गरिएको उनले जनाए । सहयोग रकम ग्रहण गर्दै आश्रमकी प्रतिनिधि सरु अधिकारीले विभिन्न दाताहरुको सहयोगबाट नै आश्रम र आश्रममा आश्रितहरुलाई राहत पुगेको बताइन् । उनले सिटिजन लाइफ इन्सुरेन्सले गरेको सहयोगको सराहना गर्दै धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको जनाइन् ।