रुपन्देही २ का गठबन्धन उम्मेदवार राजु गुरुङको उम्मेदवारी सर्वोच्चद्वारा खारेज

मेचीकाली संवाददाता

४ कार्तिक २०७९, शुक्रबार
227 shares

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै सर्वोच्च अदालतले यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता दिन अस्वीकार गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यसअघिको अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने आदेश गरेको हो ।

आयोगले बैंकिङ कसूरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो । त्यसविरुद्ध गुरुङले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले सो निर्णय कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

अदालतले कानूनद्धारा तोकिएको कालोसूचीमा नाम समावेश रहेको सम्बन्धी अयोग्यता राजु गुरुङमा कायम रहेको देखिएकाले उम्मेदवार हुन नपाउने ठहर गरेको छ ।