रुपन्देहीमा ५ जनालाई ठक्कर दिएर फरार गाडीसहित चालक समातिए

मेचीकाली संवाददाता

१५ कार्तिक २०७९, मंगलवार
213 shares

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिका ४ पननीमा सोमबार बिहान स्थानिय ५ जनालाई ठक्कर दिएपछि फरार रहेको गाडीसहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीको रोहिणी गाउँपालिका ३ का अजयकुमार चौधरीले चलाएको बा ८ च ६५३२ नम्वरको गाडीले ठक्कर दिई दुर्घटना गराएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रहरीले उक्त गाडी सिद्धार्थनगर नगरपालिका ४ पिपरहियामा त्रिपालले ढाकेर राखिएको अवस्थामा फेला पारेको हो । चालक चौधरीलाई भने गल्लामण्डीस्थित बजारबाट नियन्त्रणमा लिइएको डीएसपी अर्यालले बताए ।

दुर्घटनामा गाडीको अगाडिको बम्परको भागको टुक्रा, वाइपरको भाँचिएको टुक्रा र लुकिङ ग्लासको टुक्रा लगायत स्थानीयको सहयोग र सुक्ष्म अनुसन्धानबाट घटनामा संलग्नलाई चाँडै नै पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ । उनीविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

भैरहवा–परासी हुलाकी सडक खण्डमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको गाडीले सोमबार बिहान छठ घाट जाँदै गरेका ५ जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा ३५ दिने शिशुसहित तीनजनाको मृत्यु भएको थियो । दुर्घटनामा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीया सीमा कुर्मी र ३५ दिने एक शिशुको मृत्यु भएको थियो । सोही दुर्घटनामा परी २४ वर्षीया बन्दना कुर्मी र २६ वर्षीया मञ्जु कुर्मी घाइते भएका छन् । उनिहरुको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।