तपाइँको एक मतले देशको भाग्य कोर्न सक्छ

मेचीकाली संवाददाता

१५ कार्तिक २०७९, मंगलवार
288 shares

केपी शर्मा ओली
आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका अवसरमा नेकपा (एमाले) यहाँहरूलाई हार्दिक अभिवादन गर्दछ  । राष्ट्रियताको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा समाजवादको लक्ष्य प्राप्तिका लागि गरिएका आन्दोलन र क्रान्तिमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने प्रातःस्मरणीय शहीदहरू प्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ  ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल, जननेता मदनभण्डारी तथा प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीलगायत अग्रजहरू प्रति उच्च आदर प्रकट गर्दछ । आन्दोलनमा घाइते तथा बेपत्ता पारिएका योद्धाहरू प्रति सम्मान व्यक्त गर्दछ, र समाज परिवर्तनको यस अभियानमा अनेकौँ दुःख, कष्ट र त्यागका साथ निर्णायक भूमिका खेल्नु हुने तपाईं आमजनसमुदायमा कृतज्ञता सहित अभिनन्दन गर्दै न्याय, समानता र समृद्धिको जनआकांक्षा पूरा गर्न अविचलित निष्ठाका साथ लागिरहने दृढ सङ्कल्प गर्दछ । सार्वभौम नेपाली जनताका प्रतिनिधिहरूद्वारा निर्माण गरिएको नेपालको संविधान अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो निर्वाचन हुँदैछ । गम्भीर र संवेदनशील राष्ट्रिय परिस्थितिका बिचमा हुनगइरहेको यस निर्वाचनको विशेष महत्वछ । हामीले खसाउने प्रत्येक मतले मुलुकको आगामी बाटो र भविष्यको फैसला गर्नेछ । आज राष्ट्रिय राजनीति दुई ध्रुवमा बाँडिएको छ । राष्ट्रले कुन ध्रुव रोज्ने यस निर्वाचनले स्पष्ट फैसला गर्नुपर्नेछ ।

–राष्ट्रिय हित, स्वाधीनता र स्वाभीमानको रक्षा कि बाह्य सम्बन्धमा गम्भीर विचलन र राष्ट्रिय हितमा आघात ?
–राजनीतिक स्थायित्व कि सत्ता बाँडफाँडका नाममा अन्त्यहीन अस्थिरता र किचलो ?
–मितव्ययी, पारदर्शी र जनउत्तरदायी शासन व्यवस्था कि सीमित व्यक्तिहरूको स्वार्थपूर्तिका लागि राज्यसंयन्त्रको दुरूपयोग ?
–राष्ट्रिय पुँजीनिर्माण, आत्मनिर्भरता र मुलुकको समृद्धि कि अर्थतन्त्रको दोहन, परनिर्भरता र बर्बादी ?
–समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको प्राप्ति कि सीमित नेताहरूको सत्ता स्वार्थको परिपूर्ति ?
–स्वार्थमा आधारित गठबन्धन कि नीतिगत नेतृत्वमा आधारित बलियो राष्ट्रिय शक्तिको निर्माण ?
सार्वभौम मतदाता ! यहाँको एक मतले देशको भाग्य कोर्ने भएकाले आफ्नो अमूल्य मत खसाल्नु अघि यी प्रश्नहरूमा गम्भीरतापूर्वक विचार गर्न हामी विनम्र आग्रह गर्दछौँ । यसनिर्वाचनमा ‘राष्ट्रिय हितको रक्षा र सम्वद्र्धन ः स्थायित्व, सुशासन र विकासको प्रवद्र्धन’ मुख्य संकल्प बोकेर नेकपा (एमाले) तपाईंहरू समक्ष प्रस्तुत भएको छ।

आमनिर्वाचन २०७४ मा तपार्ईंहरूले नेकपा (एमाले) र यसको नेतृत्वको वाम–लोकतान्त्रिक तालमेललाई समर्थन गर्दै व्यक्त गर्नुभएको भरोसाको सुखद स्मरण गर्दछौँ । राजनीतिक स्थायित्व र समृद्धिको अपिललाई विश्वास गरेर शासन सञ्चालनको जनादेश दिनुभएकोमा तपाईंहरू प्रति आभारी छौँ । निर्वाचन पछि उक्त तालमेल पार्टी एकीकरणका तहमा विकसित भयो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरियो र राजनीतिक स्थिरताको आधार निर्माण भयो । तपाईंहरूको विश्वासलाई शिरमा राखेर हामीले साढे तीन वर्ष सरकार सञ्चालन ग¥यौं । इतिहासले विरासतमा छाडेका अनगिन्ती समस्याका चाङ र पछिल्लो समय थपिएको कोभिड महामारीको चुनौतीका बिच पनि त्यो सरकार इतिहासकै सर्वाधिक गतिशील, उपलब्धिपूर्ण र सफल रह्यो । छोटो अवधिमै हाम्रो नेतृत्वमा संविधानको सफल कार्यान्वयन गरियो । प्रदेश र स्थानीय सरकारहरू गतिशील बने । संविधान निर्माण भएको तीन वर्ष र निर्वाचनको पहिलो वर्ष भित्रै सङ्घीयताको सफल कार्यान्वयनको यो उदाहरण विश्व मै नौलो हो । यसै अवधिमा पृथकतावाद र हिंसाका चुनौती समाप्त पारिए । सिके राउत र नेकपा (विप्लव) समूहहरूलाई राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण प्रतिस्पर्धाको मूलधारमा आबद्ध गरियो । मुलुक हिंसात्मक द्वन्द्वबाट मुक्त भयो । संविधान प्रति असन्तुष्ट दलहरू समेत सरकारमा सहभागी हुनु, संविधानको कार्यान्वयनमा सहमत बन्नु र संविधानको सर्वस्वीकार्यता स्थापित हुनु यसअवधिका उल्लेख्य उपलब्धि हुन् ।

हामीले सार्वभौम समानता, पारस्परिक लाभ एवं सम्मान र अहस्तक्षेपका मान्यता माथि आधारित भएर विदेश सम्बन्ध सुदृढ गरÞ्यौँ । कतिपय नसुल्झेका समस्या सुल्झायौँ र थुप्रै नयाँ कामहरू अघि बढाई सम्बन्धलाई नयाँ उचाइमा पुरÞ्यायौँ । लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका नेपालका भूभाग समेटेर नयाँ नक्सा प्रकाशन गरÞ्यौँ । अभूतपूर्व राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गरÞ्यौँ । यी भूभाग नेपाललाई फिर्ता गर्न कूटनीतिक संवाद सुरु गरÞ्यौँ । ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने मान्यताबाट निर्देशित हुँदै नेपालले यसअवधिमा बाह्य सम्बन्ध विस्तार र सुदृढीकरणमा गुणात्मक विकास ग¥यो । अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि विकासोन्मुख, लोकतान्त्रिक र प्रगतिशील राष्ट्रका रूपमा स्थापित हुँदैगयो ।
‘समृद्ध नेपाल ः सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने उद्देश्य प्राप्त गर्न नीति र संरचनागत कामको थालनी गरियो । दीर्घकालीन र रणनीतिक महत्वका पूर्वाधार निर्माण थालनी गरिए । भूकम्प पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय जगतले समेत प्रशंसा गरेको उदाहरणीय सफलता हासिल भयो । क्षतिग्रस्त लाखौँ निजी आवास, हजारौँ सांस्कृतिक सम्पदा, विद्यालय भवन र सरकारी कार्यालयहरूको पुनर्निर्माण गरियो । सरकार निर्माण पछि लगातार सात (७) प्रतिशत भन्दा माथिको आर्थिक वृद्धि हासिल गर्दै नेपालले विश्वको ध्यानआकर्षण गर्न सफल भयो । बाह्य लगानीमा ठुलो परिमाणमा वृद्धि भयो । निरपेक्ष र बहुआयामिक गरिबी दुवै उल्लेख्य रूपमा घटे । संयुक्त राष्ट्र संघबाट हाम्रो देशलाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस भयो ।

मानवविकास, शान्ति, खुसी, बहुआयामिक गरिबी, व्यवसायिक सहजता, लैङ्गिक समानता, दिगो विकासमा लक्ष्यलगायत विश्वव्यापी सूचकहरूमा नेपालले उल्लेख्य सुधार गरÞ्यो । हामीले यसअवधिमा सामाजिक न्याय र सुरक्षाको दायरालाई गुणात्मक विस्तार गर्दै जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ युगको अनूभूति दिलाउन सफल भयौँ । राष्ट्रको गौरवपूर्ण इतिहासको स्वत्व जगाउँदै स्वाभिमान र आत्मविश्वासको जग बलियो बनाएर राष्ट्रियता, लोकतन्त्र, स्वच्छता, सुशासन र विकासको सम्बन्धमा नयाँदृष्टि कोण (भिजन) दिँदै अनेकौं युगान्तकारी नीति र कार्यहरूमार्फत् देशमा नयाँ भविष्य सहितको विकासको नयाँ युगको प्रारम्भ गरÞ्यौं ।
‘समृद्ध नेपाल ः सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा हासिल गर्ने दिशामा प्राप्त यी उपलब्धिले नेपाली जनतामा सुखद भविष्य प्रति विश्वास बलियो र मनोबल उच्च बन्दै गयो । नेपालको अग्रगतिका लागि अस्थिरता, अव्यवस्था र शक्तिकेन्द्रहरूको चलखेल सधैँभरि मुख्य बाधकका रूपमा रहँदै आएका छन् र त्यसअवधिमा यी बाधाहरू निकै हदसम्म नियन्त्रण भएका थिए । राजनीतिक स्थायित्व हासिल भएको थियो, प्रणालीगत स्थिरता कायम भएको थियो र राष्ट्रले आफ्नो सार्वभौम अधिकार प्रयोगको क्षमतालाई बलियो बनाउँदै लगेको थियो । राजनीतिक र आर्थिक बाह्य चलखेल धेरैमात्रामा नियन्त्रित हुँदै गएका थिए । तर सधैँभरि अस्थिरता, अस्तव्यस्तता र अनिश्चयता भित्रै आफ्ना स्वार्थपूर्ति गर्न बानी परेकाहरूका लागि यस्तो स्थायित्व स्वीकार्य थिएन । त्यसैले सुरुमा सरकार बन्नै नदिने र सरकार गठन भएलगत्तै यसलाई असफल बनाउने प्रयास सुरु गरिए । तत्कालीन नेकपा भित्रका अवसरवादी, अराजकर अपवित्र पात्रहरू यसका लागि प्रयोग भए । उनीहरूका लागि आन्दोलन र देशको भविष्य भन्दा आफ्नो अहङ्कार, कुण्ठा तथा आफ्नो परिवार र गुटको हित ठूलो भयो । राष्ट्रको स्वाभिमान र गरिमा भन्दा व्यक्तिगत स्वार्थ सर्वोपरि बन्यो । र, आन्दोलनका सहयात्री भन्दा दक्षिणपन्थी शक्ति बढी प्रिय बन्न पुगे । कोभिड महामारीबाट नागरिकको जीवन र जीविका रक्षाका लागि सरकारले कठोर प्रयत्न गरिरहेको बेला यिनै पात्रहरूको योजनामा सरकार ढाल्ने प्रपञ्च गरियो । जनादेश विपरीत प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिने र महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्षलाई सडकबाटै कारबाही गर्ने अराजक र अलोकतान्त्रिक कार्य गरिए । पुरानो जनादेशको बनावट भत्काइएको यसै पृष्ठभूमिमा, प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको घोषणा गर्नुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भयो ।

प्राप्त जनादेश खण्डित भइसके पछि पुनःसार्वभौम जनताको बीचमा जानु र ताजा जनादेशका आधारमा समस्याको समाधान खोज्नु स्वाभाविक एवं लोकतान्त्रिक विधि थियो । तर त्यसो हुन दिइएन । अदालतको चरम दुरूपयोग र संविधानको अपव्याख्या गरियो, सरकार बनाउने जनताको सार्वभौम अधिकार कुण्ठित भयो, शक्ति पृथक्कीकरणको सिद्धान्त कुल्चिइयो र कानुन र सरकार निर्माण एवं परिवर्तन गर्ने संसदको अधिकारलाई कुल्चिदै अदालतका परमादेशबाट प्रधानमन्त्री नियुक्त हुने अलोकतान्त्रिक एवं स्वेच्छाचारी नजिर स्थापित गरियो । जनादेश विस्थापित हुने र परमादेशबाट शासन चलाउने घातक अभ्यास सुरुभयो  । लोकतान्त्रिक प्रणालीको मर्मका रूपमा रहेको दलीय पद्धतिमाथि प्रहार गर्दै सांसदहरू माथि सम्बन्धित दलको ह्विप समेत नलाग्ने निर्दलीय अभ्यास सुरु गरियो । ताजा जनादेशका लागि जनताका बिचमा जाने विषयलाई ‘प्रतिगमन’ र असंवैधानिक एवं असंसदीय तरिकाबाट परमादेशमार्फत सरकार बनाउनुलाई ‘अग्रगमन’ को जनविरोधी भाष्य निर्माण गर्ने कुप्रयास गरियो । गठबन्धनका नाममा राजनीतिलाई असाध्यै विकृत, नीति विहीन र सत्तास्वार्थको बन्दी बनाइयो ।

गठबन्धन सरकारको १६ महिनाले अकाट्य ढङ्गबाट पुष्टि गरेका छन्–जनादेशबाट गठन भएको सरकारलाई परमादेशबाट विस्थापन गर्नुको उद्देश्य सरकार परिवर्तन मात्रै थिएन । यो त स्वार्थपरक देशी–विदेशी शक्तिका इसारामा नेपाली राजनीतिको अग्रगामी धारनै उल्टो दिशामा फर्काउनु थियो अर्थात् स्पष्टतः प्रतिगमन थियो । सबल बन्दै गएको राष्ट्रिय हित र स्वाभिमानमाथि आँच पु¥याउँदै बाह्य चलखेलका लागि ढोका खोल्न, राजनीतिक स्थायित्वलाई समाप्त पार्दै मुलुकलाई अनन्त अस्थिरतातिर धकेल्न र सेटिङका माध्यमबाट सिङ्गो राज्यसंयन्त्रलाई सीमित नेताहरूको स्वार्थपूर्तिको माध्यम बनाउन यी सबै प्रपञ्च रचिएको थियो ।

त्यस घटनाका नकारात्मक असरबाट आज मुलुक आक्रान्त छ । हरेक दृष्टिले मुलुक सङ्कटका सँघारमा छ । लोकतन्त्रको धज्जी उडाइएको छ र अग्रगतिको यात्रालाई उल्ट्याउने काम गरिएको छ । विकास र समृद्धिको यात्रा अवरुद्ध गरी देशलाई ओरालोतिर धकेलिएको छ । यस गतिहीनता, अवरोध र उल्टो यात्रालाई रोकी देशलाई शान्ति, स्थिरता, स्थायित्व, भ्रष्टाचार नियन्त्रण र सुशासन तथा विकासको बाटोमा अग्रसर गराउनुछ । राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अभिवृद्धि गर्नुछ  । यसर्थ, आगामी निर्वाचन यस संकटको चक्रब्यूहबाट मुलुकलाई मुक्त गर्ने निर्णायक अवसर हो । षडयन्त्रपूर्ण ढङ्गले विस्थापित गरिएको जनादेशलाई पुनस्थार्पित गर्ने मूल्यवान मौका हो । आफ्नो देशका समस्या देशभित्रैबाट समाधान गर्न हामी सक्षम छौँ भनी संसारलाई देखाउने अनुकूल समय हो । यस मौकालाई सदुपयोग गर्न हामी सार्वभौम नेपाली जनता समक्ष हार्दिक अनुरोध गर्दछौँ । (अध्यक्ष ओलीले चुनाबी घोषणापत्रमार्फत जारी गरेको अपिलको सम्पादित अंश ।)