बेरोजगार युवालाई रोजगारीमा जोड्छुः पाण्डे

मेचीकाली संवाददाता

१५ कार्तिक २०७९, मंगलवार
407 shares

गणेश पन्थ
गुल्मी । गुल्मी क्षेत्र नम्बर १ (ख) मा नेकपा एमालेका उम्मेदवार फर्सुराम पाण्डेले गुल्मीका बेरोजगार युवालाई रोजगारीमा जोड्ने बताएका छन् ।
मंसिर ४ गते हुने निर्वाचनमा गुल्मी १ (ख) बाट उम्मेदवार बनेका पाण्डेले निर्वाचन क्षेत्रमा घरदैलो गर्दै गर्दा गुल्मीका युवाको मूलभूत समस्या बेरोजगारी रहेकोले अब आफूले युवालाई रोजगारीमा जोड्ने गरी स्वावलम्बनका कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।

उनले घरदैलोका क्रममा युवाहरुलाई रोजगारी नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै अब युवाहरुले दिनभर क्यारेमबोर्ड खेलेर दिन बिताउनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिबद्धता जनाए ।
उम्मेदवार पाण्डेले भने,‘गुल्मीमा युवाहरुमा बेरोजगारी ठूलो समस्या छ तसर्थ अब युवालाई उत्पादनसंग जोडने गरी काम गर्नुपर्छ । उनीहरुलाई आयआर्जनका विभिन्न माध्यममा संलग्न गराउनुपर्दछ । त्यसमा अब सबैले मिलेर काम गर्नुपर्छ ।’

पाण्डेले नेकपा एमालेले युवा बेरोजगारी समस्या समाधानका लागि ‘ग्रामीण विकासको आधार ः उत्पादन र बजार’ भन्ने नारा तय गरेको बताउँदै युवालाई उत्पादनसंग जोड्ने र युवाले उत्पादन गरेको बस्तुको बजार सुनिश्चित गरिदिने गरी काम गर्ने बताए ।
गुल्मी जिल्लामा घरेलु तथा साना उद्योग स्थापना गरेर युवालाई रोजगारीमा जोड्ने गरी काम गर्न सकिने बताउँदै उम्मेदवार पाण्डेले त्यसका अतिरिक्त अरु सम्भावनाका विषय पनि खोजी गरेर गुल्मीबाट बेरोजगारी समस्या समाधानमा सिंगो नेकपा एमालेको ध्यान केन्द्रित भएको उल्लेख गरे ।

आफू पनि उद्यमशीलतासँग जोडिएको हुँदा युवालाई रोजगारीमा लगाउने कुरामा आफ्नो पहिलो ध्यान जाने बताउँदै पाण्डेले अव युवालाई कुनै न कुनै उद्यमसँग जोड्ने र बेरोजगारी समस्या समाधान गर्ने कुरामा आफू प्रतिबद्ध रहेको बताए ।
उनले एमालेले राष्ट्रिय उत्पादनलाई प्राथमिकता दिने र विदेशी सामान र बस्तुको आयातमा रोक लगाएर नेपालकै उत्पादन र बजारलाई प्राथमिकता दिने नीति बनाएकोले यो नीति लागू गर्न एमालेका उम्मेदवारहरु बिजयी हुनुपर्ने बताए ।

उनले नेकपा एमालेको ९ महिने सरकारको पालामा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले एक सयबाट सुरु गरेको वृद्धभत्ता अहिले चार हजार पुगेको बताउँदै एमालेको लोकप्रिय नीति पास गराउन एमालेमा भोट दिनुपर्ने बताए । अझैपनि थुप्रै राम्रा योजना र विकास निर्माणका काम गर्न सकिने बताउँदै उम्मेदवार पाण्डेले विगतमा आफ्नो गाउँ आफैँ बनाऔँ जस्ता लोकप्रिय अभियानलाई अघि बढाउन नेकपा एमाले सरकारमा जानैपर्ने भएकोले गुल्मीका जनताले नेकपा एमालेका उम्मेदवारलाई बिजयी बनाउनुपर्ने बताए ।